आत्मालोचना सहित घरदैलो अभियानमा माओवादी
विष्णु अधिकारी, बर्दिया । इतिहास बोकेको दलहरु प्रति नागरिकको विश्वास गुम्दै गएपछि राजनैतिक दलहरुले आफुहरु सुध्रिन जरुरी रहेकाले जनताका घरदैलोमा नै अभियानहरु सुरु गरेका छन् । यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले घर घरमा माओवादी, जनजनमा माओवादी भन्ने नारालाई आत्मसाथगर्दै ३ महिने विशेष रुपान्तरण अभियान सुरु गरेको छ ।
मधुवन नगरपालिका वडा नम्बर ४ ढोढरी बर्दियामा आयोजित पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा संविधान सभा उपाध्यक्ष पुर्ण कुमारी सुवेदीले माओवादीलाई जनताले विश्वास गरी ठुलो पार्टी बनाएको तर नेताहरुले जनताको भावना बुझ्न नसक्दा आज ३३ सिटमा खुम्चिन पुगेको बताउनु भएको छ । माओवादी सरकारमा रही बहुमत भएको अवस्थामा जनताका यथोचित आवश्यकताहरु पुरा नगरी नेताहरु शहर केन्द्रित सुविधा भोगी भएका कारण जनताहरु टाढिएको उहाँको भनाई छ । पार्टीले गाउँमा नै बसेर संगठन बनाएका कार्यकर्ता तथा नेताको योगदानलाई विर्सेर नजिकका आफन्त तथा परिवारबादमा फसेका कारण पनि आजको अवस्था व्यहोर्नु परेकोले अब कार्यकर्ताको भावना बुझेर मात्र अगाडी बढ्ने उहाँले प्रतिवद्धता गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी माओवादीसँग जनता टाढिएकै कारण जनतासँग माओवादी विशेष रुपान्तरण अभियान चलाउनु परेको नेता सुवेदीले प्रष्ट्याउनु भयो । जनता भनेको राजनीतिक दलको न्यायधिश भएकाले जनताका सुखदुख र आवश्यकताका विषयमा गम्भिर भएर आगामी कार्यदिशा तय गर्ने कुरामा जोड दिदै अभियान अन्तर्गत जनताको सल्लाह सुझाव लिन जनजनमा पुग्न ३ महिने विशेष अभियान सुरु गरेको उहाँको भनाई छ ।
आगामी दिनहरुमा पार्टीलाई जनजनको मनमा बस्ने बनाउने अभियानलाई निरन्तरता दिने उहाँले दोहोर्याउनु भयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी बर्दियाका सदस्य बाबुराम परियार सहित ४ जनाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । कार्यक्रममा माओवादी केन्द्रका नेता सुरेश पन्त, कृष्ण के.सी., लक्ष्मी प्रसाद शर्मा र हरिहर चौधरीले पार्टीलाई मजबुद गराउनका लागि आफुहरु जनताको भावना विपरित काम नगर्ने प्रतिवद्धता गर्नु भयो । कार्यक्रम नगर समिति मधुवनको आयोजनामा भएको हो ।
Facebook Comments