अलबिदा ऐतिहासिक ब्यक्तीत्व खेमराज भट्ट मायालु
राजेन्द्र प्रसाद धिताल (बर्दिया) । श्रद्धेय खेमराज भट्ट मायालु अब हामीबीच रहनु भएन । लामो समय अर्वुध रोगसँग संघर्षरत उहाँ अन्ततः भौतिक रुपमा यो धर्तीबाट सदाको लागि बिदा हुनुभयो । सर्वप्रथम म दिवङ्गत मायालुको आत्माको चिरशान्तिको कामना गर्छु र शोकाकुल परिवार जनमा हार्दिक समवेदना प्रकट गर्दछु ।
मैले खेमराज भट्टको बारेमा बाल्यकालदेखि नै सुनेको थिए । मेरो बाल्यकाल बर्दियाको गोलामा बित्यो । त्यतिबेला हाम्रो प्रमुख बजार राजापुर थियो । विशेष गरी २०४२/०४३ सालतिर हुनुपर्छ, गाउँमा उहाँको बारेमा अनेक रोचक कुराहरु सुनिन्थे । राजापुर बजार जादा बाटामा दौलतपुर गाउँ पथ्र्यो । जहाँ उहाँको घर थियो । त्यो घरमा सधै तालाबन्दी हुन्थ्यो । मान्छेहरु घरलाई सरकारले लाह छाप लगाएको भन्थे । खेमराज भट्ट राजदरबारमा बम हान्ने व्यक्ति हो भन्थे । वास्तविकता थाहा थिएन । २०४६ सालमा उच्च शिक्षाको लागि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज गइयो ।
म क्याम्पसमा अध्ययनका साथै लोकतान्त्रिक आन्दोलनमा पनि सहभागी हुन थालेको थिए । त्यति बेलामात्र मलाई २०४२ सालको राजनैतिक घटना, नेपाली काङ्ग्रेसको सत्याग्रह र जनवादी मोर्चाले गरेको बमबारीको बारेमा जानकारी भयो । मैले आफ्नो गाउँको नेता मायालुको बारेमा थाहा पाए । अध्ययनलाई अगाडि बढाउदै जाने क्रममा मलाई कानुनमा रुचि बढ्न थाल्यो । मलाई कानुनको विद्यार्थी हुँदा रामराजा प्रसाद सिंह र खेमराज भट्टको बारेमा रोचक जानकारी प्राप्त भयो । अन्तर्राष्ट्रिय कानुनको सुपुर्दगी सम्बन्धि विषयमा नेपाल भारत बीचको सुपुर्दगी सन्धिको सन्दर्भमा उहाँहरुको नाम आउछ । नेपाली शासकहरुले अपराधी करार गरेको व्यक्तिलाई भारतले राजनैतिक बन्दीको रूपमा सपुर्दगी नगरेको, संरक्षकत्व दिएको विषय नेपाली कानुनको इतिहासमा पहिलो घटना मानिन्छ ।
त्यसैगरी कानुनको सिद्धान्त पढ्दा पनि उहाँहरुको विषयमा चर्चा हुन्छ । कानुनको सिद्धान्त अनुसार कानुन पश्चातदर्शी हुदैन भनिन्छ । अर्थात पछि कानुन बनाएर अघि गरेको कामलाई अपराध करार गर्न सकिदैन । तर तत्कालीन सत्ताले उहाँहरुको हकमा पश्चात्दर्शी कानुन बनाएर उहाँहरुमाथि ध्वङ्शात्मक अपराध नियन्त्रण ऐन अन्तगत मुद्दा चलायो । अदालतले मृत्युदण्ड र आजीवन कारावासको सजाय दिदैं सर्वस्व हरण ग¥यो । जुन सर्वथा कानुनको सिद्धान्तको विरुद्ध थियो । यसरी कानुनका पाठ्यपुस्तकहरुमा स्मरणीय व्यक्तित्वका रूपमा खेमराज भट्टसग म परिचित भए । उहाँसग मेरो प्रत्यक्ष भेट २०५५ तिरमात्र भयो ।
जनवादी मोर्चा छोडेर उहाँ नेपाली काङ्ग्रेसमा प्रवेश गर्नु भयो । बर्दियालाई उहाँले आफ्नो राजनैतिक कर्मथलोका रूपमा रोज्नु भयो । उहाँ काङ्ग्रेसमा प्रवेश गरिसकेपछिको पहिलो र ठूलो राजनैतिक आमसभा बर्दियाको शान्तिबजारमा भएको थियो । संयोगले त्यो कार्यक्रमको उद्घोषणको जिम्मेवारी मैले पाएको थिए । त्यसपछि उहाँसग निकटता बढ्दै गयो र उहाँलाई केही हदसम्म चिन्ने मौका मिल्यो । २०५६ सालको आमनिर्वाचनमा उहाँ बर्दिया क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको सदस्य हुनुभयो, सामान्य प्रशासन मन्त्री हुनुभयो । सत्तामा रहदा उहाँसग भेट भएन ।
उहाँको कार्यव्यस्तताले त्यो अवसर जुरेन । धेरैपछि उहाँसग भेट भयो । २०६२/०६३ को जन आन्दोलनको समय थियो । चैत महिनातिर हुनुपर्छ । राजापुरमा सात राजनैतिक दलको कार्यक्रम थियो । म बर्दिया समाचार साप्ताहिक पत्रिकाको सम्पादकका रूपमा सदरमुकाम गुलरियामा कार्यरत थिए र राजापुर जाँदै थिए । बर्दियाका एक जना युवा काङ्ग्रेस कार्यकर्ता युवराज अधिकारीका साथमा उहाँ पनि सो कार्यक्रममा सहभागी हुन राजापुर जादै हुनुहुन्थ्यो । कर्णाली नदी तर्न कोठिया घाटमा स्टिमरका लागि लामो प्रतीक्षा गर्नु पर्यो । त्यो फुर्सदको बेला उहाँसग धेरै अन्तरङ्ग कुरा भयो ।
मैले उहाँले नेपाली क्रान्तिमा गरेको योगदानको चर्चा गरे । सत्तामा गएर किन यो क्षेत्रका जनताको अपेक्षा पूरा गर्नु भएन ? कि जन समक्ष गरेका बाचा बिर्सनुभयो ? भनेर प्रश्न गरे । उहाँसग कुनै उत्तर थिएन । उहाँले मसग उल्टै गुनासो गर्नुभयो । मलाई भन्नुभएको थियो । राजेन्द्र भाइ तिमीजस्तो मान्छे नजिक आएनौ, नजिक भएकाहरुले मलाई डुबाए । उहाँ त्यतिबेला उदास र निराश हुनुहुन्थ्यो । एउटा निष्कपट क्रान्तिकारीको चित्त दुखाएकोमा मैले ग्लानी महसुस गरे । म अहिले पनि सम्झिरहेको छु । मायालु दाइ तपाईंको आत्माले शान्ति पाओस् ।
(धिताल नेपाल पत्रकार महासंघ बर्दियाको निवर्तमान अध्यक्ष हुनुहुन्छ ।)
Facebook Comments