राजापुरबाट एसईईमा १९ दशमलव १६ प्रतिशत विद्यार्थी उत्तिर्ण
केशव कोईराला, १६ असार, गुलरिया (बर्दिया) । यस बर्षको एसईई परिक्षामा राजापुर नगरपालिका १९ दशमलव १६ प्रतिषत बिद्यार्थी पास भएका छन् । ९ वटा सामुदायीक र ५ सँस्थागत बिद्यालयबाट सहभागी ७ सय ४१ जना छात्र, छात्राहरु मात्र मध्ये १ सय ४२ जना मात्रै उत्तीर्ण भएका छन् ।
नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय गोडियानामा १ सय २ बिद्यार्थी एसइइमा सहभागी भएकोमा ५ जना उत्तीर्ण भएका छन् भने ९७ जना नन् ग्रेडिङमा परेका छन् । नेरामाबि गोडियानामा सवै भन्दा कम ४ दशमलव ९० प्रतिषत बिद्यार्थी उत्तीर्ण भएका हुन् । सँस्थागत बिद्यालय तर्फ लाइट एकेडमी बिद्यालयले १५ बिद्यार्थी सहभागी गराएकोमा सत प्रतिषत उत्तिर्ण गराई औषत ३ दशमलव २० जीपिए ल्याएर अग्रस्थान कायम गरेको छ । शिक्षा शाखा राजापुरका प्रमुख दल वहादुर चौधरीले बिद्यालय प्रसाशनको कमजोरीका कारण यस्तो नतीजा आएको बताउनुभयो । यसै बिच बर्दियामा सात ओटा विद्यालयको एसइइ नतिजा शुन्य आएको छ ।
सात ओटा विद्यालयबाट सबै विद्यार्थी अनुत्तीर्ण भएका छन् । एक जना पनि विद्यार्थी उत्तीर्ण नहुने विद्यालयहरू बाँसगढी नगरपालिकाको जनता मावि बेलवा, लक्ष्मी मावि चेपाङ, जनता मावि लठुवा, पृथ्वी मावि लखना गरी चार ओटा विद्यालयहरु छन् । त्यसैगरी बढैयाताल गाउँपालिकाको जगदम्बिका मावि शान्तिपुर, बारबर्दिया नगरपालिकाको अमर शहीद दशरथ चन्द मावि खैरेनी, गेरुवा गाउँपालिकाको नेपाल राष्ट्रिय गणेश मावि मनाउका विद्यार्थीले उत्तीर्ण गर्न सकेनन् । बर्दिया जिल्लामा छ हजार पाँच सय ९५ विद्यार्थी एसइइ परीक्षामा सहभागी भएकोमा एक हजार पाँच सय २५ जना मात्र उत्तीर्ण भएका छन् । जुन कुल सहभागी विद्यार्थी संख्याको २३ दशमलव १२ प्रतिशत हो ।
पालिकागत नतिजा हेर्ने हो भने बर्दिया जिल्लाका आठ ओटा पालिका मध्ये ठाकुरबाबा नगरपालिका सबै भन्दा धेरै विद्यार्थी उतिर्ण गर्ने नगरपालिका भएको छ । यस नगरपालिकाले परीक्षामा सहभागी भएका विद्यार्थी मध्ये ४० दशमलव ८७ प्रतिशत उतिर्ण भएका छन् । सवै भन्दा कम गेरुवा गाउँपालिका ९ दशमलव ६३ प्रतिशत विद्यार्थी उतिर्ण भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाले जनाएको छ । असफल विद्यार्थीको संख्या धेरै देखिएपछि चौतर्फी आलोचना भएको छ । यसअघि एसईईमा सहभागी ‘फेल’ हुनु नपर्ने मान्यता बिकास गरिएको थियो । जसले गर्दा छात्रछात्रामा उत्तीर्ण हुनकालागि मिहेनत गर्ने बानी हटिसकेको अभिभावकले गुनासो गरे । अहिले आएर ठूलो संख्यामा छात्रछात्रा अनुत्तीर्ण भएको खबरपछि अभिभावक झस्किएका छन् । यसरी ठूलो संख्यामा विद्यार्थी असफल हुनुमा विद्यालय व्यवस्थापक, शिक्षक र सरकारी निकायको कमजोरी अभिभावकहरुले औल्याएका छन्
Facebook Comments