बाल विवाह न्युनिकरण गर्न सरोकारवालालाई अभिमूखीकरण
चुरेकुञ्ज, १० असोज, बर्दिया । बारबर्दिया नगरपालिकामा बाल विवाह न्युनिकरण गर्न सरोकारवालाहरुलाई कानुनी तथा लैङ्गिक रुपान्तरणको बिषयमा अभिमूखीकरण गरिएको छ । बारबर्दिया नगरपालिकालाई २०८३ भित्रमा बाल विवाह मुक्त पालिका घोषणा गर्ने उदेश्यलाई सहयोग पुर्याउनका लागि सरोकारवालाहरुलाई अभिमूखीकरण गरिएको हो ।
बारबर्दिया नगरपालिका भित्र रहेका हानिकारक अभ्यासलाई पहिचान गरी हालको अवस्था र न्युनिकरणका लागि सरोकारवाला निकायहरुको भूमिकाको बिषयमा छलफल गरीएको छ । बारबर्दियामा लैङ्गिक बिभेद र महिला हिंसा अझै पनि कायमै रहेको छ । यस मध्यमा कुनै बढ्ने क्रममा रहेको छ भने कुनै यथावत र कुनै घट्ने क्रम रहेको छ भन्ने कुरा छलफलबाट आएको छ । यसको न्युनिकरणका लागि बिभिन्न किसिमका कार्यक्रम तथा अभियान संचालन गर्नु पर्ने सहभागीहरुको भनाई छ ।
छलफलमा लैङ्गिक बिभेद र महिला हिंसाको अवस्था, यसको रोकथामको उपाय, घटनाको दर नघट्नुका कारण वा यस्ता घटना बढिरहनुको कारणहरुलाई उठाइएको छ । छोराछोरीको शिक्षामा पहँुच पुर्याउने काममा रुपान्तरण भईरहेको, यौन हिंसा बढिरहेको, सामाजिक संजाल तथा आमसंचार दुरुपयोग भएर बिभिन्न किसिमका घटनाहरु घटीरहेकोले यसको न्युनिकरणका लागि नीतिगत ब्यबस्था गरी कार्यान्वयन चरणमा लैजानु पर्ने, विद्यालय, समुदाय, नागरिक समाज, जन प्रतिनिधिहरुलाई लैगिक बिभेद तथा महिला हिंसाको बिषयमा अभिमूखिकरण, सचेतनामुलक कार्यक्रमहरु गर्नु पर्ने बिषयमा छलफल गरीएको छ ।
बारबर्दिया नगरपालिकाको समन्वयमा प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बि गु्रप) को साझेदारीमा संचालित बाल विवाह न्युनिकरण परियोजना अन्तरगत अभिमूखीकरण गरिएको हो । अभिमूखिकरण कार्यक्रमको सहजीकरण सामाजिक अभियन्ता प्रकाश उपाध्यायले गर्नु भएको छ । दुई दिनसम्म संचालन भएको कार्यक्रममा नगरप्रमुख उपप्रमुख, वडा अध्यक्षहरु, सामाजिक विकास समितिका संयोजक, शाखाका प्रतिनिधि, कर्मचारी, नागरिक समाज लगाएतको सहभागिता रहेको थियो ।
Facebook Comments