कार्यक्रमको दिगोपना तथा रणनितिक योजना विषयमा छलफल
मुरली गोडिया, १२ असोज, बर्दिया । द्वन्द्वपीडित तथा हिंसा पीडित महिलाहरुलाई सामाजिक तथा सांस्कृतिक रुपमा स्थापित गर्न विभिन्न रणनैतिक योजना अनुसार कार्य गरिने भएको छ । द्वन्द्वपीडित तथा हिंसा पीडित महिलाहरुको सामाजिक, सांस्कृतिक र मनोसामाजिक सशक्तिकरणमा जोड दिई उनीहरुको नेतृत्व विकासका लागि योगदान पु¥याउने उद्धेश्यले संचालित लैंगिक न्याय प्रति जवाफदेहिता परियोजनाले विभिन्न ४ रणनैतिक योजना अनुसार कार्य गर्न लागेको छ ।
नागरिक आवाज काठमाण्डौ र थारु महिला उत्थान केन्द्र बर्दियाको संयूक्त साझेदारीमा संचालित यस परियोजनाले विशेष गरि द्वन्द्वपीडित तथा हिंसा पीडित महिलाहरुलाई शान्तिको महसुस गराउने कार्ययोजना अनुसार कार्य गर्न लागेको हो । बर्दियाको ठाकुरबाबा नगरपालिका ठाकुरद्धारामा आयोजना गरिएको २ दिने कार्यक्रमको दिगोपना तथा रणनैतिक योजना छलफल कार्यक्रममा जिल्लाका ५ पालिकामा कार्यरत महिला शान्ति पहल कर्ताहरुको उपस्थितीमा द्वन्द्वपीडित श्रीमान वेपत्ता पारिएका महिलाहरु, हिंसा तथा मानसिक टर्चरमा परेको महिलाहरु र ५ पालिकाकै विभिन्न वडाका वडाध्यक्ष, स्वास्थ्य शाखा प्रमुखहरु लगायत सरोकार वाला निकायको उपस्थितीमा योजनाको दिगोपनाका लागी बृहत छलफल गरिएको कार्यक्रम व्यवसथापक तेजमणि पन्थले जानकारी गराउनु भयो ।
रणैतिक योजना अन्तर्गत समुह गठन तथा सेवा विस्तार, शान्ति घर बगैंचा निर्माण, मनोविमर्श सेवा विस्तार, आयआर्जन शिप विस्तार गरि लक्षित परिवार लभान्वित हुने थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मासिंह थारुले बताउनुभयो । परियोजना मार्फत शान्ति केन्द्र स्थापना तथा ब्यवस्थापन, शान्ति केन्द्रमा शान्ति पहलकर्ता र शान्ति सदस्यहरुले नियमित रुपमा मनोविमर्श सेवा लिईरहेको, सेवा प्रदान गर्नका लागि मनोसामाजिक परामर्श कक्ष छुट्टै रहेको उहाँले जानकारी गराउनु भएको छ । सन २०२० देखी परियोजना सुरु भएसंगै द्वन्द्वपीडित तथा हिंसा पीडित महिलाहरुको न्याय र शन्तिको लागी कार्य गर्दै आइरहेको छ ।
बर्दिया जिल्लामा थु्प्रै यस्ता घरपरिवार रहेको हुँदा लक्षित संख्यामा बृद्धि गर्नुपर्ने गेरुवा गाँउपालिका वडा नम्बर ३ का अध्यक्ष निर्मल चौधरीले सुझाव दिनु भयो । द्वन्द्वपीडित तथा हिंसा पीडित महिलाहरुको आयआर्जन र उनिहरुको मनको शान्तिको लागी संस्थाले कार्यक्रमहरु थप्नु पर्ने भन्दै गाँउपालिका सहकार्यका लागी तयार रहेको गेरुवा गाँउपालिका अध्यक्ष जमानसिंह केसीले सुझाउनु भयो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती बर्दियाका प्रमुख सुर्य बहादुर विष्टले नेपाली समाजमा थुपै्र समास्याहरु रहेको बताउनु भयो । द्धन्द्ध पिडित परिवारका लागी स्थानिय सरकार लगायत थुप्रै संघसंस्थाहरुले कार्य गरेको भएपनि उपलब्धि कमै हासिल भएको उहाँको भनाई छ ।
संघसंस्थाहरुले कार्यक्रम संचालनमा इमान्दारिता प्रस्तुत गर्नुपर्ने बताउँदै राज्य तहबाट गर्नुपर्ने कार्य विभिन्न संस्थाले गरेकोमा धन्यवाद दिंदै वहाँले पिडित परिवारका सदस्यले नजिकको पालिका, वडा कार्यलयमा पुगी सुचना लिई कार्यक्रमहरुको लाभ लिन समेत उहाँले आग्रह गर्नु भयो । नागरिक आवाज काठमाण्डौले विगत ५ वर्ष देखि बर्दियामा थारु महिला उत्थान केन्द्र संग साझेदारी गर्दै कार्य गरि रहेको छ । कार्यक्रममा नागरिक अवाज संस्थाले गर्ने क्रियाकलाप बारे संस्थाका कार्यक्रम संयोजक हरि बहादुर धामीले प्रष्ट पार्नु भएको थियो ।
परियोजनाले शान्ति केन्द्र स्थापना तथा ब्यवस्थापन, महिला शान्ति सहजकर्ता परिचालन, समुह गठन तथा परीचालन, मनोसामाजिक परामर्श सेवा संचालन, जिल्ला तथा प्रदेश स्तरिय शान्ति संवाद, पालिका स्तरीय शान्ति संवाद, शान्ति घरवगैचा सहयोग, स्वास्थ्य उपचार सहयोग, शिप मुलक तालीम लगायतका क्रियाकलाप गर्दै आएको थारु महिला उत्थान केन्द्रले जनाएको छ । बर्दिया जिल्लामा कार्यक्रम सन्चालन भएका सबै पालिकाहरुले योजना बनाइ कार्यक्रम अघि बढाएका छन ।
Facebook Comments