• २७ मंसिर २०८१, बिहिवार
  • ४ °C काठमाडौं
लैंगिक हिंसा पीडित महिलालाई आश्रयको लागि बाँसगढीमा 'सेफ हाउस' माग

विन्दु चौधरी, १२ मंसिर, बाँसगढी (बर्दिया) । लैंगिक हिंसा पीडित महिलाहरुलाई सुरक्षित आश्रय प्रदान गर्न बाँसगढीमा ‘सेफ हाउस’ स्थापना गर्नुपर्ने माग अभियानकर्मीले गरेका छन् । राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आयोजित लैंगिक हिंसा सिफारिस संयन्त्र सम्बन्धी अभिमुखीकरण तथा छलफल कार्यक्रममा सहभागीहरुले यस्तो माग गरेका हुन् । 

बाँसगढीमा भएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका महिला अधिकारकर्मी, समुदायका प्रतिनिधि र जनप्रतिनिधिहरूले पीडितलाई तत्काल राहत र सुरक्षा प्रदान गर्न सेफ हाउसको व्यवस्था अपरिहार्य भएको बताए । उनीहरूले सेफ हाउसको स्थापना मात्र नभई प्रभावकारी सञ्चालनका लागि आवश्यक स्रोतसाधन तथा जनशक्ति व्यवस्थापनको पनि माग गरेका छन् । छलफलका क्रममा सहभागीहरू महिला संजालका अध्यक्ष शिवकुमारी सापकोटा, जुना खड्का, उतिमा विक लगायतले लैंगिक हिंसा न्यूनीकरणका लागि स्थानीय तहले सक्रिय भूमिका खेल्नुपर्ने र पीडितका गुनासा सुनुवाइ तथा न्याय सुनिश्चित गर्न सशक्त संयन्त्र तयार गर्नुपर्ने धारणा राखेका थिए । 

अभियानलाई प्रभावकारी बनाउन सामुदायिक सचेतना कार्यक्रम, न्यायिक परामर्श सेवा र पुर्नस्थापना प्रक्रियामा सुधार आवश्यक रहेकोमा जोड दिएका छन् । कार्यक्रममा श्रमिक महिला समुह, कृषक महिला समुह, राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दिया र एक्सन एड नेपालले संयुक्त रुपमा ऐक्यबद्धता जनाउदै ३३ औँ अन्तराष्ट्रिय लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान पारेर अनौपचारिक क्षेत्रका महिला श्रमिकहरुको अधिकार र सम्मानपुर्ण, हिंसामुक्त बातावरणको कार्यान्वयनको लागि बाँसगढी नगर उपप्रमुख इन्द्रिरा चौधरीलाई अपिल पत्र पेश गरेका छन् । 

बाँसगढी नगर उपप्रमुख इन्द्रिरा चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बाँसगढी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख यशोदा थापा, इलाका प्रहरी कार्यालय बाँसगढीका महिला तथा बालबालिका शाखाका प्रमुख तथा प्रहरी हवल्दार सुमित्रा खाती, राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाका कार्यक्रम संयोजक जीतराम चौधरीले लैंगिक हिंसाका घटनाको न्यूनीकरणका उपाय, कानुनी व्यवस्था, सिफारिस दर्ता, जनचेतना, तथा सहयोगी संरचनाहरू लगायतका बारेमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा नगर उपप्रमुख चौधरीले बाँसगढी नगरपालिकामा महिला, बालबालिका तथा जोखिममा रहेका व्यक्तिहरूका लागि सुरक्षित आश्रयको आवश्यकता रहेको बताउनुभयो । उहाँले नगरपालिकाबाट सामाजिक न्याय प्रवद्र्धन र जोखिमबाट बचाउन सेफ हाउस स्थापनाको लागि आवश्यक पहल गरिरहेको बताउनुभयो । कार्यक्रमको समापनमा सहभागीताबाट उठेका सुझाव र सिफारिसलाई कार्यान्वयन गर्न स्थानीय सरकारलाई ध्यानाकर्षण गराउने प्रतिवद्धता व्यक्त गरिएको छ । संस्थाको स्थानिय अधिकार कार्यक्रम सहअधिकृत सिता चौधरीले संचालन गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments