बाल विवाहमुक्त वडा घोषणा गर्ने बारबर्दिया नगरपालिकाको निर्णय
मुरली गोडिया, १२ मंसिर, बर्दिया । बारबर्दिया नगरपालिका बाल विवाहमुक्त वडा घोषणाको चरणमा रहेकोले चाँडै घोषणा गरिने निर्णय गरेको छ । नगरस्तरीय बाल अधिकार समितिको बैठकबाट कार्यदल गठन घोषणा गरिने वडामा अनुगमनगर्दै कार्य पालिकामा बुझाउने निर्णय गरिएको छ ।
बारबर्दिया नगरपालिकाको वडा नम्बर २, ५, ६ र ७ लाई बाल विवाह मुक्त घोषणाका लागि प्रक्रिया अघि बढाउने निर्णय भएको बाल अधिकार समितिका सदस्य तथा महिला बाल बालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख उषा पुनले जानकारी गराउनु भयो । बारबर्दिया नगरपालिकाकी सामाजिक विकास समिति संयोजक श्यामकुमारी चौधरीको संयोजकत्वमा शिक्षा शाखा, स्वास्थ्य शाखा, प्रहरी, बाल अधिकार सम्बन्धी काम गर्ने संस्था, बाल क्लकका प्रतिनिधि र महिला बालबालिका शाखा प्रमुख सदस्य सचिव रहने गरी ७ सदस्यीय बाल विवाह मुक्त वडाका लागि पालिका स्तरीय अनुगमन तथा मुल्याँकन समिति गठन गरीएको छ ।
अनुगमन गर्दा वडाको प्रत्येक टोल नछुट्ने गरी जोखिम युक्त टोलमा अनुगमन गर्ने वडाबाट प्राप्त सुचना र प्रहरीबाट प्राप्त गर्ने सुचना अधिकारिक रुपमा सम्बन्धीत निकायबाट प्रदानको लागि अनुरोध गर्ने निर्णय गरेको छ । बाल बालिका सम्बन्धी काम गर्ने संस्था भेरी वातावरणीय विशिष्टता समुह (बि ग्रुप), राधाकृष्ण थारु जनसेवा केन्द्र लगायतका संस्थाहरुले सहयोग तथा सहकार्य गर्ने भएका छन् । बाल अधिकार समितिका संयोजक तथा बारबर्दिया नगरपालिकाकी नगरउपप्रमुख रत्नकुमारी पाण्डेको अध्यक्षतामा बसेको बैठकमा नगरप्रमुख छबिलाल थारु, प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्य, शिक्षा, स्वास्थ्य शाखा प्रमुख, संघसंस्थाका प्रतिनिधिहरुको सहभागी थिए ।
Facebook Comments