बारबर्दियाको २ नम्बर वडा पालिकाकै पहिलो बाल विवाहमुक्त घोषणा
चुरेकुञ्ज, २३ मंसिर, बर्दिया । बारबर्दिया नगरपालिकाको वडा नम्बर २ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले एक कार्यक्रमकाबिच वडा नम्बर २ लाई बारबर्दिया नगर पालिकाको पहिलो बाल विवाह मुक्त वडाको रुपमा घोषणा गर्नु भएको हो ।
नेपालमा सन् २०३० सम्ममा नेपाललाई बाल विवाह मुक्त बनाउने राष्ट्रिय रणनीति अनुसार बारबर्दिया नगरपालिकालाई वि.स.२०८३ सम्ममा बाल विवाह मुक्त पालिका बनाउने कार्ययोजना अन्तरगत पहिलो चरणमा वडा नम्बर २ लाई बाल विवाह मुक्त घोषणा गरिएको छ । यसैगरी यस बर्षमा ४ वटा वडालाई बाल विवाहमुक्त घोषणा गर्ने योजनाका साथ तयारी भईरहेको छ । बारबर्दियाको वडा नम्बर २ लाई घोषणा गरिएको छ । अब वडा नम्बर ७, ५ र ६ क्रमशः बाल विवाह मुक्त वडा यसैबर्ष घोषणा गर्ने कार्यक्रम रहेको बताईएको छ ।
बारबर्दिया नगरपालिकाले बाल विवाह मुक्त अभियान संचालन निर्देशिका २०७८ अनुसार वडामा १५ प्रतिशत भन्दाकम बाल विवाह भए घोषणा गर्न सकिने थ्रेसहोल्ड र वडा स्तरमा बिभिन्न किसिमका बाल विवाह रोकथामका क्रियाकलाप तथा सुचकहरु पुरागरी कार्यान्वयन गरेको वडालाई बाल विवाह मुक्त घोषणा गर्न सक्ने ब्यबस्था रहेको छ । सोही सुचक तथा क्रियाकलापहरु पुरा गरेकोले वडा नम्बर २ लाई बाल विवाह मुक्त घोषणा गरिएको छ । साथै अबका दिनहरुमा यसलाई घटाउदै बाल विवाह दर शून्य प्रतिशतमा झार्ने प्रतिबद्धता गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले प्रदेश सरकार पनि समुदायमा सामाजिक समस्याको रुपमा रहेको बाल विवाहलाई अन्त्य गर्नका लागि हातेमालो गर्न तयार रहेको बताउनु भएको छ । सरकार, राजनीतिक दल, संघसंस्था तथा समुदायमा रहेको सम्पुर्ण संयन्त्रहरु एकजुट भएर बाल विवाहको बिरुद्धमा उभिए पक्कै पनि बाल विवाहलाई अन्त्य गर्न सकिने बताउनु भयो । कार्यक्रममा बाल विवाह न्युनिकरण अभियानमा सहयोग पुर्याउने ब्यक्ति तथा निकायलाई सम्मान गरिएको छ ।
बारबर्दिया नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष रामफेरन थारुको साभाध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न समुह संजालबाट सचेतनामुलक साँस्कृतिक झाँकी, कलाकारहरुको कला प्रस्तुती, बाल विवाह न्युनिकरण अभियानको समर्थनमा ब्यानरहरु राखिएको थियो । साथै सहयोगी संस्था भेरी वातावरणीय विशिष्टता समुह (बि ग्रुप), राधा कृष्णथारु जनसेवा केन्द्रको समन्वयमा समुदाय स्तरमा बिभिन्न किसिमका सचेतनाकुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
Facebook Comments