• ७ फागुन २०८१, बुधवार
  • १७ °C काठमाडौं
नयाँ मुलुकतिर भौंतारिंदाका क्षण

शिव कुमार श्रेष्ठ, १ पुष, बर्दिया । हामीहरु मध्ये कतिलाई लाग्न सक्दछ नयाँ मुलुक शब्द सुन्दा अर्कै देश वा नयाँ देश हो कि भन्ने तर त्यस्तो होइन, हाम्रो नेपालको ऐतिहासिक सामाजिक सांस्कृतिक परिवेशलाई विश्लेषण गर्दा नेपालको एक क्षेत्र वा केहि भू–भाग छ जसलाई नयाँ मुलुक भन्ने गरिन्थ्यो र अहिले पनि आम चलन चल्ती वा बोलीमा वा व्यवहारमा लागू भएको नदेखिएता पनि कताकता ऐतिहासिक परिपे्रक्षमा केहि उदाहरण दिनु पर्दा नयाँ मुलुक भन्ने गरिन्छ । र सो नयाँ मुलुकको क्षेत्र हो हालको बाँके, वर्दिया, कैलाली र कंचनपुर जिल्लाले ओगेटेको भू–भाग ।

भारतमा इष्ट इन्डिया कम्पनी व्यापार गर्ने सिलसिलामा प्रवेश गरे पश्चात व्यापारबाट शासन सत्ता चलाउने गतिमा दौडेर भारत बर्षमा रहेका कैयौं  करिब छ सय स–साना राजा रजौटा र देशहरुलाई एक क्षेत्रमा पारेर राज गर्ने र कहिल्यै सुर्य नडुब्ने साम्राज्य फैलाउन सफल भयो । भने नेपालमा पनि स–साना राज्य बाइसे चौबिसे राज्यमा विभाजित क्षेत्रलाइ एक सुत्रमा बाध्ने महान अभियान पृथ्वी नारायण शाहले थाले । उनको जीवनकालमा जति एकिकृत गर्न सके गरे । बाँकी रहेका भू–भाग उनको मरणोंप्रान्त बहादुर शाहले पुरा गरे । अर्थात नेपाल एकीकरण गर्ने सर्वोच्च शिखरमा बहादुर शाहले पुरयाए । पूर्वमा टिष्टा र पश्चिम किल्ला कांगडा सम्म नेपाललाई विशालतम स्थितिमा पुरयाएका थिए । 

यो तत्कालिन स्थिति देखेर कहिलै घाम नडुब्ने साम्राज्य लाई एउटा सानो फिष्टे नेपालवाट विशाल नेपाल साम्राज्य स्थापना भएको परिप्रेक्ष्यमा रिसले जल्ने वा डाह हुने परिस्थिति मा पुरयाउनु  स्वाभाविक हो । तसर्थ तत्कालिन इष्ट इन्डिया कम्पनी वा अंग्रेज साम्राज्यले अनेक किसिमका जालझेल गर्ने, नेपाललाई कमजोर पार्न धावा बोल्ने काम गर्न थाल्यो । यो क्रम बढ्दै गएपछि सन् १८१४/१५ मा नेपाल ब्रिटिश साम्राज्यविच युद्ध नै चल्यो । युद्धमा  कतिपय क्षेत्रमा नेपालले अंग्रेज साम्राज्य लाई धुलो नचटाएको पनि होइन ।  तर अनेक किसिमका जालझेल, फुटाउ र राजगर को नीतिले लैस अंग्रेज साम्राज्यवादको षड्यन्त्र पूर्ण विधि व्यवहारले नेपाल दरवार र दरवारिया हरुमा फुट गराई अनेक किसिमका विष फैलाई नेपाललाई हार स्वीकार्न वाध्य पारियो । 

सोहि वाध्यता वश सुगौलीको सन्धि थोपरियो र तत्कालिन विशाल नेपाललाई  खुम्चाउने काम गरियो । सो खुम्चाई पश्चात वा सुगौली सन्धिको मारले नेपाललाई मेची देखि महाकाली र हालको कतिपय तराई क्षेत्र विहिन तुल्याई दियो । अर्थात् नेपाल खुम्चिएर बस्न बाध्य भयो । त्यही सेरोफेरोमा नेपालमा एकतन्त्री शासन प्रणाली अर्थात राणा शासन चल्यो र शाह राजाहरु खोपीका देवता वा कठपुतली भएर बस्न बाध्य भए । अंग्रेज साम्राज्यको इशारामा राणा शासन मजबुत बन्दै गयो । तर अर्को  तिर भारत वर्षको विभिन्न राज्यहरुमा अंग्रेज शासनबाट अलग्गिन विभिन्न किसिमका विद्रोहहरु भए । यस्तै विद्रोह मध्य बंगाली र मुस्लिम सैनिक विद्रोह पनि भयो । ति विद्रोहहरु मध्ये लखनउको विद्रोह अत्यन्तै दर्दनाक स्थिति मा पुगेको थियो र अंग्रेज शासन लाई ठुलै धक्का लागेको थियो । 

सो विद्रोह दबाउनका लागि अंग्रेज शासनले तत्कालिन नेपाल सरकार वा राणा सरकार संग गुहार माग्यो । सोहि अवसरमा श्री ३ महाराज जंग बहादुर राणा स्वंय नेपाली सेना (गोर्खाली सेना) को नेतृत्वगर्दै सो विद्रोह दबाउन पुगे । विद्रोह दवाउने कामलाई लखनौ लुटको संज्ञा पनि दिईन्छ । जंग बहादुर राणाको गोर्खाली सेनाले सो क्षेत्रको विद्रोह लाई मेटिमामेट पारेर दबायो अर्थात् अत्यन्तै क्रुर र दानवीय तवरले दबाएको चर्चा पनि भएको हो । लखनउ लुटको क्रममा गोर्खाली सेनाको क्रुरतम व्यवहारले चरमचुली नाघेको र गोर्खाली सेना भन्ने बित्तिकै मानिसहरु थरथर काप्ने गरेको चर्चा समेत सो बेलामा चलेको थियो । सो विद्रोहलाई सखाप पारेर दबाएपछी अंग्रेज शासक हर्षित भएर नेपाल लाई उपहार दिन लालायित भयो ।  
सोहि उपहार स्वरूप यो नयाँ मुलुक अर्थात बाँके, बर्दिया, कैलाली र कंचनपुर अर्थात् महाकाली नदि पुर्व र राप्ती नदि पश्चिमको तराईको भू–भाग पुनः नेपाललाई फिर्ता दिने निधो गरयो ।

यसरी सोक्षेत्र नेपाललाई पुनः प्राप्त भएपछी सो भू–भाग लाई नयाँ मुलुकको संज्ञाले पुकार्न थालिएको हो । नेपाललाई पुनः प्राप्त भएको नयाँ मुलुक क्षेत्रलाई वैधानिकता र कानुनी मान्यताका लागि पश्चिम तराई फिर्ता गर्ने सम्बन्धमा नेपाल र कम्पनी सरकार माझ नोवेम्बर १,१८६० मा भएको सन्धि लाई प्रमुख आधार मान्नु पर्दछ । यो सन्धिको प्रारम्भमा  लेखिएको यो वाक्यांशलाई  यसरि उद्दृत गर्न सकिन्छ । “सन् १८५७ मा भारतीय मुलुक बंगाली सेनाद्वारा  भएको विद्रोह र त्यस पछीको दंगा फसाद तथा हिंसात्मक स्थिति हरुमा नेपालका श्री ५ महाराज धिराजबाट सुगौलीको सन्धिद्वारा स्थापित शान्ति तथा मैत्री सम्बन्धलाई इमान्दारी पुर्वक कायम राखी बक्सेको मात्र होइन कि सिमान्त जिल्लाहरुमा ब्रिटिश कानुन स्थापना गर्न लखनउ माथि पुनः ब्रिटिश नियन्त्रण कायम राख्न तथा विद्रोहीहरूलाई पूर्ण रुपमा पराजित गर्न समेत मौसूफवाट कम्पनी सरकारलाई महत्वपूर्ण सहयोग प्रदान गरिबक्सियो । 

यी विभिन्न सैनिक अभियानहरुको सफल समाप्तिपछि नेपालले ब्रिटिश सरकारलाई पुर्याएको महत्वपूर्ण सेवा तथा सहयोग प्रति सम्मान जनाउने अभिप्रायले ब्रिटिश भायसराय तथा गभर्नर जनरलले महाकालीदेखि गोरखपुर सम्मको १८१५ अघि नेपालको अधिनमा रही सोहि वर्षमा भएको सुगौली सन्धिले ब्रिटिश शासनमा गाभेको तराईको सबै भू–भाग नेपाललाई फिर्ता बुझाई दिने अभिप्राय अभिव्यक्त गर्नु भएको थियो । नेपाललाई फिर्ता गरिने उक्त भू–भाग छुट्याउने काम नेपाल सरकारद्वारा खटिएको आयुक्तहरुको रोहवरमा सोहि प्रयोजनका लागि ब्रिटिश सरकारद्वारा नियुक्त अधिकारीहरुद्वारा भईनै सकेको छ । दुई मुलुकबीचको भावी सिमा छुट्याउनुका लागि ठाउँ ठाउँमा शिलास्तम्भहरु गाड्ने काम पनि गरिसकिएको छ । 

उक्त भू–भाग नेपाललाई औपचारिक रुपमा सुम्पने काम पनि भैसकेको छ । यो भू–भाग माथिको नेपालकै स्थायी नियन्त्रणलाई खंदिलो आधार प्रदान गर्न र यो भू–भागलाई नेपालले पुनः प्राप्त गरेको अवसर लाई गरिमा मण्डित गर्ने उद्देस्यले दुई देशमाझ यो सन्धि संम्पन्न गरिएको छ“ । उपर्युक्त सन्धि वमोजिम यी क्षेत्रहरु अब उप्रान्त नेपाल सरकारको मातहतमा रहने स्पष्ट रुपमा किटान गरिएको छ । यस सन्धिको धारा–२ वमोजिम “ व्रिटिश सरकार ई.सं. १८१५ पुर्व नेपालको अधिनमा रहेका र सोहि वर्षको डिसेम्बर २ तारिखका दिन सुगौलिमा सम्पन्न सन्धिको धारा ३ अन्तर्गत व्रिटिश सरकारको भू–भागमा गाभिएका महाकाली र राप्ती नदि विचको तराईको सम्पूर्ण भू–भाग तथा राप्ती र गोरखपुरको बिचमा पर्ने तराईको भू–भागमा नेपालका श्री ५ महाराजाधिराजको पूर्ण प्रभुसत्ता रहने गरि ति भू–भागहरु मौसूफमा टक्रयाउछ “।

यसका साथसाथै दुई देश बिचमा यी क्षेत्रहरु नेपाल सरकारको मातहतमा आएको सन्दर्भ र सिमाना कायम गरिएको तथ्यलाई यसरी प्रस्टसंग टुंग्याईएको  छ । सन्धिको धारा ३ ले यस विषयमा यसरि स्पष्ट रुपमा प्रष्टाएको छ । “महाकाली या शारदा नदि देखि पुर्वमा पर्ने बगौरा तालको उत्तरी पहाडको फेदीसम्म व्रिटिश आयुक्तहरुद्वारा निर्धारित सिमा रेखामा पर्ने सिमा स्तम्भहरु नै नेपाल र व्रिटिश अधिनमा रहेको अवधको सिमाना हुनेछ “। यो नयाँ मुलुक भित्रको विभिन्न क्षेत्रमा भ्रमण गर्ने क्रममा यी विभिन्न सोच हाम्रो दिमागमा प्रष्फुटन हुने गर्दछ । यदि श्री ३ जंग बहादुर राणाले अंग्रेज शासनलाई खुशी तुल्याउने कार्य नगरेका भए यो क्षेत्रका वासिन्दा अहिले सम्म पनि हालको भारतीय भू–भाग भित्रका जनता भएर बाच्न वाध्य हुन्थे र हामी भारतीय भू–भागमा भौतारी रहेका हुने थियौं ।

अर्को एउटा महत्वपूर्ण कुरा कञ्चनपुर जिल्लाको हालको दोधारा चाँदनी नगरपालिका जुन महाकाली नदी पारि पर्दछ र उक्त नयाँमुलुक भित्र नै पर्दछ । सो क्षेत्र अर्थात महाकाली नदी पारीको क्षेत्र पनि नेपालको सरहद भित्र नै पर्दछ भन्ने सत्य तथ्य कैयौ नेपालीलाई थाहा नहुन सक्दछ । किनकी हाम्रो हालको नेपालको सिमाना पूर्वमा मेची र पश्चिममा महाकाली नदी हो भन्ने आम बुझाई रहेको छ । यो कुरा हालको हाम्रो राष्ट्रिय गानमा समेत इंगित भएको छ जुन कुरा सर्वथा गलत छ । अर्थात यो भनाई र बुझाईले महाकाली पारीको दोधारा चाँदनी भू–भाग नेपालको सिमाना भित्र रहेको तथ्य लाई स्वीकार गर्दैन । तसर्थ हाम्रो राष्ट्रिय गान राष्ट्रियताको सोचाई विपरित भएको मान्नु पर्दछ र यसमा परिवर्तन नितान्त आवश्यक छ । 

(पाल्पा, रम्भा गाउँपालिका ५ तनहुँमा जन्मनु भएका बोधीग्राम सातदोबाटो ललितपुर निवासी शिव कुमार श्रेष्ठ कुलेरिया रानीजमरा सिँचाई आयोजनामा वरिष्ठ संस्थागत विकास विशेषज्ञ हुनुहुन्छ ।)

सम्बन्धित समाचार

Facebook Comments