राजापुर प्रहरीद्वारा “मानव बेचबिखन तथा आत्महत्या न्युनिकरण” बारे सचेतना
केशव कोईराला, ३ वैशाख, राजापुर (बर्दिया) । इलाका प्रहरी कार्यालय राजापुरको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “मानव बेचबिखन तथा आत्महत्या न्युनिकरण” सम्बन्धी एकदिने सचेतनामुलक कार्यक्रम गरिएको छ । इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी सहायक निरीक्षक रमेश सिंह नगारीको कमाण्डमा खटिएको प्रहरी टोलीले राजापुर नगरपालिका–४ स्थित कार्यालयमा सेवा लिने स्थानीय नागरिकहरूलाई भेला गरी कार्यक्रम संचालन गरेको हो ।
कार्यक्रममा सहभागी स्थानीयलाई मानव बेचबिखनका कारण, जोखिम, बच्ने उपाय र आत्महत्या न्युनिकरणका उपायहरूबारे जानकारी दिइएको थियो । साथै, आपतकालीन अवस्थामा प्रहरीको भूमिकाबारे समेत छलफल गरिएको हो । प्रहरी सहायक निरीक्षक नगारीले अपराध न्युनिकरण र समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिनका लागि समुदाय र प्रहरीबीचको सहकार्य अत्यन्तै आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले समुदायमा चेतना फैलाउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन् । इलाका प्रहरी कार्यालय राजापुरले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने निरीक्षक नगारीले प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
Facebook Comments