बर्दियामा जलवायु परिवर्तनका असरबारे अभियान शुरु
मुरली गोडिया, २४ जेठ, गुलरिया (बर्दिया) । बर्दियाका ८ ओटै पालिकाका किशोरहरुको सहभागितामा जलवायु परिवर्तन र असरहरु बारेको एक अभियान शुभारम्भ गरिएको छ । विश्व वातावरण दिवसको अवसर पारेर मधुवन नगरपालिकाबाट लचिलो पनको लागि एकजुट नामक अभियानको औपचारिक शुभारम्भ गरिएको हो ।
युवाहरूको नेतृत्वमा सुरु गरिएको यो अभियान जलवायु परिवर्तनसँग जुध्न र समुदायमा सचेतना फैलाउने लक्ष्य राखिएको छ । युव संस्थाकी उपाध्यक्ष दर्शना रिजालले जलवायु परिवर्तन विरुद्ध युवाहरूको सशक्त सहभागिता अपरिहार्य रहेको बताउनु भयो । संस्था सुरुवाती चरणमा भए पनि संगीत, चित्रकला तथा खुला गोष्ठीमार्फत जलवायु सम्बन्धी जनचेतना फैलाउँदै आएको रिजालले प्रष्ट पार्नुभयो । बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्द लामिछानेले अभियानले विशेषगरी किशोरीहरूको क्षमता अभिवृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गर्दै सम्भावित जोखिम न्यूनीकरणमा बर्दिया बाट शुरुवात भएको यो अभियान सवैका निम्ती प्रभावकारी एवं फलदायी हुने बताउनु भयो ।
अभियानको शुभारम्भमा सहभागी हुन पुगेकी गेरुवा गाउँपालिका–५ की मोनिका थारुले आफूले अभियान मार्फत जलवायु परिवर्तनका असरबारे गहिरो जानकारी पाएको अनुभव सुनाउनु भयो । युवाहरूसक्रिय भएर काम गर्नुपर्ने आवश्यकता औंल्याउदै विभिन्न विपदबाट नागरिकलाई पर्न सक्ने समास्याहरु बारेमा समेत जानकारी पाएको उहाँको भनाई छ । किशोरीहरूले जलवायु परिवर्तनसँग सम्बन्धित कथा, कविता तथा चित्रकला मार्फत आफ्ना अनुभव र चिन्ताहरू प्रस्तुत गरेका थिए ।
गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले युवाहरूको सक्रियता देख्दा आफू उत्साहित भएको बताउनु भयो । जलवायु संकटको सामना गर्न सबै तहबाट पहल हुनुपर्ने भन्दै युवाहरूले यस्तो अभियानबाट नेतृत्व गर्न थालेको देख्दा गर्व लागेको उपप्रमुख गौतको भनाई छ । मधुवन नगरपालिकाकी उपप्रमुख अनीता कुमारी थारूले पनि आफ्नो पालिकामा आगामी दिनमा यस्ता विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रमको सहजीकरण युवा संस्थाकी निर्जला रिजालले गर्नुभएको थियो भने संयोजन सुरुचि शाहीले गर्नु भएको हो । बाँके युनेस्को क्लब, बी ग्रुप, राधाकृष्णथारु जनसेवा केन्द्रको सहजीकरणमा शुभारम्भ अभियान कार्यक्रममा बर्दिया जिल्लाका विभिन्न स्थानीय तहबाट आएका जनप्रतिनिधिहरू, सामाजिक अगुवाहरू र युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा बर्दिया र कालीकोट जिल्लाका किशोरीहरुको सहभागीता थियो ।
२५ °C काठमाडौं
Facebook Comments