• २ फागुन २०८२, शनिवार
  • १० °C काठमाडौं
मानव–वन्यजन्तुबिच द्वन्द्व न्यूनीकरण गर्न सहकार्य गरिने

मुरली गोडिया, २५ जेठ, बर्दिया । स्थानिय स्तरमा मानव र वन्यजन्तु बीच हुने द्वन्द समाधानका निम्ति नेपाल र भारतका संरक्षणकर्मिहरुको समन्वय बैठक बर्दियामा बसेको छ । सिमावर्र्ती क्षेत्रमा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्न र समस्याको समाधानहरुको साटासाट गर्न द्विदेश बीचको बैठक बसेको हो । 

सीमावर्ती क्षेत्रका किसान तथा बासिन्दाहरूलाई वन्यजन्तुजन्य घटनाबाट सुरक्षित राख्दै दीगो उपायहरू अपनाउने र दुई देशबीच सहकार्यलाई अझ बलियो बनाउने बैठकको ध्येय थियो । बैठकका क्रममा स्थानियहरु वनजंगल जाने घाँसदाउरा, च्याउ, साग जस्ता खानेकुराका खोजीमा पस्ने र जंगली जनावरको सिकार बन्ने क्रम बढ्दो रहेकोले जनचेतनाका मार्फत समस्या समाधान गर्नुपर्ने संरक्षणकर्मी सरोकारवालाले धारणा राखेका थिए । बैठकमा जंगली जनावरले आक्रमण गरेपछि राज्यले गरेको राहत, क्षतिपुर्ति र विद्यमान कानुनको विषयमा समेत छलफल चलेको थियो । 

डब्लुडब्लुएफ भारतका प्रतिनिधि मन्सुर अलीले वनक्षेत्र नजिक रहेका स्थानीय कृषकहरूलाई घरमै बसेर आयआर्जन गर्ने, गार्डेन निर्माण गर्ने, जंगली जनावरले सहजै नोक्सान नगर्ने बाली लगाउन सुझाव दिने जस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । किसानहरूका लागि मोटर बोरिङको व्यवस्था, बेसार खेती मार्फत उत्पादनलाई प्राथमिकता र वन्यजन्तुको आक्रमणमा परेका घाइतेहरूलाई तत्काल  १० हजार रुपैयाको राहत दिने व्यवस्था गरिएको अलीले बताए ।

बैठकमा आफनो धारणा राख्दै खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङले नेपालतर्फ पनि विभिन्न संघसंस्थाहरू मार्फत मानव र वन्यजन्तु बीचको सहअस्तित्व कायम गर्न सहकार्य गर्दै आएको जानकारी दिए । जंगली जनावरले थुप्रै आक्रमणका घटना घटेको उल्लेख गर्दै संरक्षणमा स्थानिय स्वंयले अग्रसरता देखाउन जरुरी रहेको बताए । पछिल्लो समय वन्यजन्तु देखिएपछि समुदायलाई सचेत गराउने प्रणालीको विकास गरिएको भएपनि स्थानीय समुदायबाट पूर्ण रूपमा कार्यक्रमहरूको अपनत्व नलिइएको प्रति उनले चिन्ता व्यक्त गरे । 

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विगतमा समेत नेपाल–भारत दुवै पक्षबीच बैठकहरू हुँदै आएको बताउँदै मानव र वन्यजन्तु बीचको द्वन्द न्युनिकरण गर्न दुवै देशको सहकार्य आवश्यक रहेको बताए । कोरोनापछि केही गतिविधिमा कमी आए पनि हाल पुनः ती कार्यक्रमलाई निरन्तरता दिइएको र भारततर्फ बाघमित्र र गजमित्र संस्थासँग सम्पर्कमा रही काम भइरहेको अध्यक्ष गुरुङ्गले प्रष्ट पारे । बैठकमा तराई भू–परिधि कार्यक्रमका प्रतिनिधि प्रतिक शाहले वैकल्पिक आयआर्जनलाई बढावा दिन माछापालन, छात्रछात्राहरूका लागि यातायातको व्यवस्था, अक्षयकोष स्थापना लगायतका कार्यक्रमहरू सञ्चालन भइरहेको बताए । 

उनले विभिन्न रोजगार मुलक तालिम, जनचेतनामूलक कार्यक्रम र स्थानीय तहहरूसँग सहकार्य गर्दै वन्यजन्तुजन्य जोखिम न्यूनीकरणमा निरन्तर क्रियाशील रहेको बताए । भारततर्फ उत्तरप्रदेश राज्य अन्तर्गत बहराइच जिल्लाको आमा–बर्दिया गाउँ पञ्चायतका प्रधान मंगल थारुले नेपाल–भारतबीच रोटीबेटीको सम्बन्ध रहेको स्मरणगर्दै वन्यजन्तु समस्याको समाधानका लागि आपसी समन्वय आवश्यक रहेको सुझाव दिए । बाघ र हात्तिको आक्रमणले घटेको घटनाको विवरण सुनाउँदै उनले त्यसबाट उत्पन्न क्षति न्यूनीकरण गर्न किसान बीमाजस्ता उपायहरू अवलम्बन गरिरहेको जानकारी दिए ।

बैठकमा भारततर्फका विभिन्न प्रतिनिधि, समाजसेवी, पत्रकारहरुको उपस्थिती थियो भने नेपाल तर्फबाट संरक्षणकर्मी, सामुदायिक वनका प्रतिनिधी, स्थानिय बासिन्दा लगायत पत्रकारहरुको उपस्थिति थियो । तराई भू–परिधि कार्यक्रम (ताल) कोहलपुर बाँकेको सहयोग र खाता सामुदायिक वन समन्वय समितीको आयोजनामा बैठक बसेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments