• २७ मंसिर २०८१, बिहिवार
  • ५ °C काठमाडौं
नेपालमा राजनिति हावी हुँदा आर्थिक सिस्टम फेल : सीईयो, गणेशराज पोखरेल

पछिल्लो समय बैंकहरुले किन लगानी बढाउन सकेनन् ? 

 धन्यबाद यादव जी, अनि तपाईको लोकप्रिय मिडियालाई पनि । हामीले बैंकको १७ औं साधारण सभा सकेका छौं । बैंकले यसपटक लगानी कर्ताहरुलाई ५ दशमलव ७९ प्रतिशत प्रतिफल बाँडेको छ, त्यो अत्यन्त कम हो । नेपालमा अहिले मुद्धतीमा पैसा राख्दा बैंकहरुले ११ प्रतिशत ब्याज दिएको देखिन्छ । त्यस्तै संस्थागत निक्षेपहरुले पनि ८/९ प्रतिशत निक्षेपको प्रतिफल पाईरहेको स्थिती छ । त्यस्तै बचत खातामा पनि ६/७ प्रतिशतको रिटर्न लगानी छ । बैंकहरुको प्रतिफल घट्दै गएको हुनाले चारैतिरबाट आक्रमण भैरहेको छ । ब्यापारीहरुबाट पनि संगठित रुपमा बिद्रोहहरु भैरहेको छ । बैंकहरुले कमाए, लुटे भन्ने जस्ता भाषाहरु प्रयोग भैरहेका छन् । त्यस्तो मानिसहरुको बुझाईमा छ । यसले गर्दापनि वैंकहरुको आम्दानीहरु घट्दै गएको बुझिन्छ । यसको रेगुलेसनहरु, नियमनहरु एकदमै कडा छ । यसको आम्दानीहरुमा सीमाहरु लगाईएको हुनाले अरबौं रुपैयाको नाफाहरु देखिएतापनि प्रशस्त मुनाफा बाड्न सकिएको छैन । केही पूराना बैंकहरुले १०/१२ प्रतिशत मुनाफा बाँडेपनि अधिकांस बैंकहरुको नाफाको क्षमता घट्दै गएको छ । मान्छेहरुमा बैंकिङमा किन लगानी गर्ने भन्ने किसिमको सोच लगानीकर्ताहरुमा छ । अहिले आर्थिक मन्दिको अवस्था देखिएको छ । दशैंको बेलामा पनि बजारमा चहलपहल त्यती महशुस गर्न पाएनौं । मान्छेसँग पैसा नभएर हो वा १४ महिनामा २४ लाख भन्दा बढी मान्छेहरु विदेश गएर हो । कतिपय मानिसहरु कामगर्न, विद्यार्थीहरु पढ्नलाई पनि विदेश जाने परिपाटी बढेको छ । त्यस्तो प्रबृत्ति अत्यधिक बढेको हुनाले देशमा उद्योगधन्दाहरु खुल्न सकेका छैनन् । 


मान्छेहरुलाई सकारात्मक सोंचको बाटोमा लैजानु पर्ने आवस्यकता पनि छ । देशमा ठूलो राजनितिक परिवर्तन भयो । आर्थिक समृद्धिको कुरा धेरै गर्यौं तर समृद्धिको पाटोमा देश अगाडी बढेको देखिएन । हामीले अत्यन्त बढी स्वतन्त्रता पायौं । त्यो सबैले महशुस गरेकै छौं । नेपालमा चुनावहरु पनि नियमित रुपमा समयमै भएको छ । शासकिय पद्धतीको संरचना पनि छ । यसबाट मानिसलाई सकारात्मक उर्जा दिने स्वदेशमै केही गरौं भन्ने प्रबृत्ति भन्दापनि युरोप, अमेरिका जानेहरु उतै बसिदिने अनि खाडी राष्ट्र जानेले दुःख गरेर पैसा पठाउने त्यही पैसा पनि बचत नभएर बिलासिताका सामान खरिद गर्ने परिपाटी बढेको छ । राष्ट्रिय बचत घटेको छ । पैसाको भोल्युम बढेको देखिएपनि उत्साहको बाताबरण बन्न सकेको छैन । त्यसैले बैंकिङ क्षेत्रमा पनि लगानी बढाउन सकिएको छैन । त्यती धेरै कर्जाको माग र प्रवाह देखिदैन । भएका उद्योग धन्दाहरुलाई पनि संचालनमा धौधौ छ । सिमेन्ट कारखाना, गार्मेन्ट उद्योग, छड कारखाना कठिन स्थितीमा छन् । कलेजहरुमा पनि विद्यार्थीको प्रवाह कम छ । राज्यले स्थानिय स्तरमा अधिकार त धेरै दियो तर संरचना अनुसारको बिकास युवा पुस्तालाई आर्कषण गर्न सक्ने खाले कार्यक्रम ल्याउन सकेन । ईन्डिकेटरको आधारमा शहरीकरण भएको देखिन्छ, भौतिक पूर्वाधारहरु बिकास भएका छन् । तर यसले मानिसहरुलाई आफ्नै ठाउँमा बसेर काम गर्ने बाताबरण बनाउन सकेन । सबैले अवसरहरु विदेशमै देख्न थाले । नेपालमा राजनिति बढी हावी भयो सिस्टमले काम गरेन । 

बैंकहरुको अवस्था खस्किएकै होत ?

बैंक साधन हो साध्य होईन । यो प्रकृया हो लक्ष्य होईन । उद्योग धन्दाहरु खुल्यो ब्यापार ब्यवसायको विस्तार भएर माग श्रृजित भयो भने बैंकहरु सल्बलाउने हो । त्यहाँबाट माग नै भएन । गतबर्ष देशमा अत्यधिक कर्जाको बृद्धि भयो निक्षेप बृद्धि भएन । यसपाली निक्षेपको बृद्धि नेपालमा १३ प्रतिशतले भयो । कर्जाको बृद्धि ३ प्रतिशतले मात्र भयो । माग नै भएन भन्ने किसमको देखिन्छ । देशका विभिन्न बजारहरुमा धेरै शटरहरु खाली भएका छन् । ब्यापार ब्यवशायहरु चलेका छैनन् । मान्छेहरु पनि धेरै घट्दै गएका छन् । युवा पुस्ताहरुको लागि आर्कषणको केन्द्र स्वदेश भन्दा विदेश हाबी छ । अहिले देशमा एउटा जागरणको आवस्यकता छ । विदेशीने ब्यक्तीहरुलाई देशमै केही गर्न सकिन्छ भन्ने भावना बिकास गर्नु जरुरी छ ।

देशको भविष्य धेरै राम्रो छ । यहाँको मौसम राम्रो छ । हिमाल, पहाड, तराईको भौगोलिक विविधता हुँदाहुँदैपनि धेरै जग्गा जमिन बाँझो छ । भारतबाट चामल किनेर खाने आफ्ना खेतबारीमा काम नगर्ने प्रबृति बढेर गएको छ । उर्वर भूमि हुँदाहुँदैपनि धानको हिसावले राष्ट्रिय आवस्यकता पूरा गर्न सकेका छैनौ । पहिले पहिले नेपालबाटै भारत लगायतका देशहरुमा धान चामल निर्यात गरिन्थ्यो । अचेल भारत सरकारसँग चामल खरिदको माग गर्ने अवस्था निम्तिएको अवस्था छ । राज्यले सिस्टम बिकास गर्न सकेन भन्ने युवा पुस्ताहरुको सोंच छ । सरकारी कामकाज पनि अत्यन्तै झण्झटिलो यी सबै कारणले मानिसमा निराशा पलाएको छ । युवा पुस्ताहरुमा निराशाबादी शोचको बिकास भैरहेको छ । यति भएपनि सबैतिरबाट चौपट भएको भने होईन । केही केही कुराहरु देशमा राम्रो पनि भएका छन् । देशका हाईड्रो पावरहरुमा धेरै लगानी भएको छ । विजुली, सिमेन्ट भारतमा विक्री पनि भैरहेको छ । अधिकार प्रति नागरिक सचेत भैसकेका छन् । त्यसैले अवसरको खोजीमा मान्छेहरु बाहिर गएका हुन् । 

अब राज्यले कसरी आर्थिक उन्नती गर्न सक्छ ?

प्राईभेट पब्लिक पार्टनरशीप अन्र्तगत राज्यले गरेर मात्र हुँदैन । पहिला एउटा जमाना थियो । राज्यकै लगानीमा जनकपुर चुरोट कारखाना, कागज उद्योग, जुत्ता, कपडा कारखाना आदी उद्योगधन्दा खुल्यो । कपास विकास समिति, जडीवुटी संस्थान, शाही औषधी लिमिटेड जस्ता संघसंस्था, समिति खोलिए । अहिले त्यस्ता संस्था छैनन् । आरएनएसी, खाद्य कम्पनी आदीको हालत हेर्नुभयो भने अत्यन्तै कमजोर भएर गएको छ । यहिका धान, कपास खरिदगर्दै बिक्री वितरण हुन्थ्यो । मानिसहरुले सहजता खोज्न थाल्यो । छोराछोरीलाई स्वदेशमा रोक्न सकेनौं । कृषिमा मेहनत गर्दापनि राज्यबाट जुन लेवलको फाईदा सहयोग पाउनुपथ्र्यो त्यो पाउन सकेनन् । जसले गर्दा विदेश जाने परिपाटी बढ्यो । दुःख गर्न छोडे । फराकिलो कृषि प्रणाली, जमिन लिजमा लिने ब्यवस्था तत्काल राज्यले शुरु गर्नुपर्छ । ढिलो गर्नु हुँदैन । सहकारी मोडलमा जग्गा भाडामा दिने ब्यवस्था गर्नुपर्छ । त्यसबाट हुने उत्पादन छिमेकी भारतीय बजारहरुमा पुर्याउन सक्नुपर्छ । ठूलो क्षेत्रफलका जग्गा प्राप्त गर्न उद्यमीहरुले नसकेको अवस्था छ । नयाँ र उन्नत तरिकाबाट खेती गर्ने प्रणालीको बिकास गर्नु जरुरी छ । जसबाट खाडीमा गएर बाख्रा, भेडा चराएर जिविकोपार्जन गर्ने नेपालीलाई स्वदेशमै रोजगारी दिन सकियोस् । त्यसको लागि बैज्ञानिक कृषि प्रणालीसँगै सोंचमा परिवर्तन चाहिन्छ । आधुनिकताको प्रवेश कृषिमा भयो भने किसानहरुले उत्पादकत्व बढाउन सक्छन् अनिमात्र प्रतिफल राम्रो आउँछ । यसले कृषकलाई कृषिकर्म प्रति आर्कषण बढाउछ र स्वदेशमा केही गर्ने प्रेरणा मिल्न सक्छ । 

सरकारले स्वदेशमै रोजगारी श्रृजना गर्न कुन मोडल अपनाउनु पर्ला ?

धेरै चिज हामीले मात्र गरेर हुँदैन । राज्यले निति नियम राम्रो बनाईदिनु पर्छ । प्रविधिहरु भित्र्याईदिनु पर्छ । सरकारले सबै चिज आफै गर्नु हुँदैन । नयाँ नयाँ चिजहरु नागरिकले गर्ने बाताबरण बनाउनु पर्छ । जनतामा नविनतम ज्ञानबृद्धि भैसकेको अवस्था छ । उनीहरुलाई अवसर मिलाई दिन सक्नुपर्छ । झण्झटिलो प्रशासनिक प्रबृत्ति, दुःख दिने खालका काम राज्यबाट हुनुहुँदैन । प्रशासनिक कर्मचारीहरु आफूलाई ठूलो ठान्ने प्राईभेट सेक्टरलाई निकृष्ट शैली हेर्ने ब्यवहार अझै छ । करदातालाई राज्यले महान मान्छे भनेर सम्मान गर्नु पर्यो । मैले यसपाली ब्यक्तीगत ८२ लाख रुपैया कर तिरे ब्यक्तिगत रुपमा । मैले कमाएको सरकारले कर खान्छ । मैले एरपोर्टमा गएर भिआईपी कक्षमा बस्न पाउँदैन । मैले राज्यलाई कर तिरेर के पाएँ ? अरु देशमा कर तिर्ने ब्यक्तीहरुले धेरै सुविधा पाउँछन् । मानिस प्रशंसा, ईज्जतको भोको हुन्छ । त्यो ईज्जत राज्यले पनि दिनुपर्छ ।

गुण र दोष छुट्याउने प्रबृत्ति राज्यले गर्नुपर्छ । यस्तो गर्दा करदाता राज्यप्रति बफादार भई कर छल्ने तर्फ लाग्दैनन् । यस्तो आजसम्म मैले देखेको छैन । ग्रासरुट सम्म त्यस्तो ख्याल गर्नुपर्छ । बढी कर तिर्ने नागरिकलाई सार्वजनिकगर्दै सम्मान गर्न सक्नुपर्छ । राज्यले प्राईभेट क्षेत्रबाट धेरै उपलब्धी गरेपनि त्यो सेक्टरलाई संरक्षण गर्न सकेको छैन । राज्यले पैसा नपर्ने मिठो बोली बचन गर्न समेत सकेको छैन । त्यसैले राज्यले राम्रो निति बनाईदिने, प्रशासनिक झण्झट कम गर्ने, गरीब किसानहरुले गरेका काम कुराहरुमा सहुलियत मुलक कर्जाहरु दिने, ब्याजहरुमा न्यूनिकरण गर्ने, गाउँघरमा कुटिर उद्योग गर्ने बाताबरण मिलाई दिनुपर्छ । नागरिकमा सकारात्मक भुमिकाको बिकास गर्नुपर्छ । निर्यात बढाएर आयात घटाउनु पर्छ । उर्जा उत्पादन गरी पेट्रोलियम पदार्थको आयात घटाउनु पर्छ । यसले देशको अर्थतन्त्र मजबुत बनाउन मद्दत पुग्छ । तर समस्या उमेर बढेको मानिस देशमा बस्ने युवा शक्ति विदेश पलायन हुने प्रबृत्तिले देशलाई राम्रो गर्दैन । धन्यबाद ।

 

सम्बन्धित समाचार

Facebook Comments