बढैयातालमा आयोजित वडाध्यक्ष कप फूटवलको उपाधि आयोजकलाई
दलबहादुर सुनार, २८ पुष, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ९ मा सञ्चालन भएको प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि फराकिलो गोल अन्तरगर्दै आयोजक टिम विजेता बनेको छ । शनिबार सम्पन्न फाइनल खेलमा बढैयाताल गाउँपालिका वडा नं. ९ (ए) ले वडा नं. ४ लाई ५–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।
वडा नं. ९ (ए) ले पहिलो हाफमा २ गोल र दोस्रो हाफमा ३ गोल गर्दै शानदार जित हात पारेको थियो । उपविजेता बनेको वडा नं. ४ ले खेल अवधिभर कुनै पनि गोल गर्न सकेन । बिजेता टिमका जर्सी नं. ४ का खेलाडी अमृत थारुले पहिलो हाफमा पहिलो गोल गरे भने टिम क्याप्टेन जर्सी नं. ९ का सुशान्त थापा मगरले दोस्रो गोल गरेका थिए । दोस्रो हाफमा जर्सी नं. ८ का मनोज थारु, जर्सी नं. ४ का अमृत थारु र जर्सी नं. ११ का अर्जुन चलाउनेले एक–एक गोल गर्दै टिमको जित सुनिश्चित गरे ।
थारु समुदायको महान पर्व माघी तथा माघे संक्रान्तिको अवसरमा बढैयाताल गाउँपालिका वडा नं. ९ ले आयोजना गरेको उक्त प्रतियोगितामा गाउँपालिकाका वडा नं. १ देखि ९ सम्मका टिम र वडा नं. ९ को थप एक टिम गरी जम्मा १० टिमको सहभागिता रहेको थियो । प्रतियोगिताका विजेतालाई नगद १५ हजार रुपैयाँसहित शिल्ड र उपविजेतालाई १० हजार रुपैयाँसहित शिल्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।
“स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने मूल नाराका साथ २०८२ पौष २१ गतेदेखि २६ गतेसम्म मुनाल युवा स्पोट्र्स क्लबको खेलमैदान, मुनालवस्तीमा सञ्चालन भएको प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि बढैयाताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले शिल्ड, मेडल, पुरस्कार रकम तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
फाइनल खेलका मुख्य रेफ्री विवेश गुरुङ र सहायक रेफ्री श्रीकृष्ण थापा मगर तथा आशिष ओली थिए । प्रतियोगितामा बिजेता टिमबाट अर्जुन चलाउने उत्कृष्ट खेलाडी, विवेश बी.के. उत्कृष्ट डिफेन्स, दिपेश फुयाल उत्कृष्ट गोलरक्षक, सुशान्त थापा मगर उत्कृष्ट फरवार्ड र उपविजेता टिमका खेम थापा उत्कृष्ट मिडफिल्डर घोषित भएका छन् ।
बढैयाताल गाउँपालिका वडा नं. ९ का अध्यक्ष वीरबहादुर थारुको अध्यक्षतामा सम्पन्न समापन तथा पुरस्कार वितरण कार्यक्रममा वडा नं. ८ का अध्यक्ष तेजनाथ पौडेल, बासगढी नगरपालिकाका संस्थापक नगर प्रमुख शालिकराम अधिकारी, शिक्षा शाखा बढैयातालका प्रतिनिधि विमला गुरुङ, आयोजक वडाका सदस्य, स्थानीय वडघर, सामुदायिक वनका प्रतिनिधि, खेलप्रेमी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको प्रतियोगिता व्यवस्थापन समितिका सदस्य राधाकृष्ण रेग्मीले जानकारी दिए ।
११ °C काठमाडौं
Facebook Comments