• १३ माघ २०८१, आइतवार
  • १५ °C काठमाडौं
थारु समुदायमा गोडना गोडैना प्रचलन हराउँदै

अनोज थारु, बर्दिया । बाँसगढी–४ लक्ष्मणपुर गाँउकी सोमली थारु आफ्नै हात खुट्टामा कोरिएका चित्र (गोड्ना) र्हेर्दै घोरीन्छिन् । ७५ वर्षिया थारु ढोकामा बसेर हात खुट्टामा खोपिएका बुट्टा चित्र हेर्दै कहिले मुस्कुराउने त कहिले भावुक हुने गर्छिन् । एक छोरा, दुई बुहारी, एक नाती, एक नातिनीसँग बस्दै आएकी उनको श्रीमानको स्वर्गबास भएको पनि एक बर्ष बित्यो । 


श्रीमान साथमा नभएपनि श्रीमानको लागि खोपिएको टीका हेर्दै श्रीमानको यादमा डुब्छिन् । हात खुट्टामा चित्रीत फूल, मयूर, हरिन, चुलो, बटुला हेर्दै दिन काट्ने गरेको उनले सुनाइन् । म दुई सन्तानकी आमा भइसकेकी थिएँ । बाहिरबाट टीका खोप्ने टीकहरहरु घरमै आए । श्रीमानले टीका खोपाउन भनेपछि उहाँकै इच्छा पुरा गर्न खोपेही हुँ । थारु अग्रजको भनाई अनुसार, थारु समुदायमा टीका खोपाउनु भनेको बिवाहको प्रतिकको रुपमा लिने गरिन्छ । एउटा बिवाहित महिलाले मात्रै हात र खुट्टाभरी टीका खोपाउने गर्छन् । यसले थारु समुदायको जिवनशैली समेत झल्काउने गर्छ । खोपिएका टीकाहरुले मानिसको सौन्र्दय बढाउने विश्वास गरिन्छ ।


५३ वर्षिया कल्पना चौधरी पनि आफनो हातखुट्टाको टीका हेरेर प्रफुल्ल हुन्छिन् । बाँसगढी नगरपालिका ४ बठुवाताल गाँउकी कल्पना आगनको मचीया (खटुली) मा बसेर बिभिन्न टीकाहरु हेर्दै आफैभीत्र मुस्कुराइरहेकी हुन्छिन् । गोरो बर्णकी उनको जिउडाल पनि मिलेको छ । हातको कुइनो र खुट्टाको घँुडासम्म बिभिन्न आकारमा खोपाएको चित्रले उनको थप सुन्दरता बढाएको छ । गोड्ना देखाउदै उनले बिगत सम्झिन् । हातको कुइनो सम्म रातो ब्लाउज र खुट्टाको घँुडासम्म सेतो गुनियो, घाँटीभरी रातो, पहेलो पोते र शिरमा झोबन्ना लगाएर हिंड्दा धेरैले आफुलाई फर्की फर्की हेर्ने गरेको अनुभुती उनले सुनाईन ।


मुहारमा खुसी छर्दै उनले भनिन्, त्यही पहिरन अहिले पनि लगाएर हिंडे भने भर्खरै विवाह गरेकी महिला जस्तै देखीन्छौ भनेर अझै प्रशंसा गर्छन् । कल्पनाले आफ्नो हात र खुट्टाभरी दाउरा, आगो बाल्ने चुलो, खाना पकाउने बटुली, भान्टा, हँसिया, बस्नको लागि मचिया, खुट्टामा लगाउने पाउजु (पायल), पिठो चाल्ने चन्नी, सिट्ठा (जाँड बनाइ सकेपछि बाँकी रहेको सिटो), मयूर, घोडा र हरिन लगायत बिभिन्न खाले टीका खोपाएकी छिन् । उनको बुझाईमा टिका खोप्नु भनेको एउटा गहना पनि हो । ‘मानिस नाङगै जन्मिन्छ, नाङगै मरेर जान्छ । साथमा केही लगिदैन । जानेको भनेको यही टीका हो’ –त्यसैले पनि टीका खोपेको तर्क गर्छिन् । मृत्युपछि पनि टीका देखेर नै भगवानले स्वर्गमा लैजान्छन् भन्ने विश्वास छ । जसले टीका खोपेको हुँदैन, त्यसलाई भगवानले भालाले रोपेर स्वर्ग जानबाट रोक्ने गर्छन् भन्ने किंवदन्ती छ । 


कल्पनाले टाढाको नाता पर्ने दिदी सासुको आमाबाट टीका (गोडना गोडैना) खोपाएको स्मरण गरिन् । खोपाउँदा छाला नै सुन्नीने, दुख्ने गरेपनि विस्तारै कम हँुदै जाने गरेको उनको अनुभव छ । कल्पनाका अनुसार टीका खोपीसकेपछि रगतलाई सफा कपडाले पुछेर गाईको गोबरले त्यसैमा मिच्नु पर्छ । अनि मन तातो पानीले सफा गरेर सुकेको कपडाले पुछ्नु पर्छ । त्यसपछि हरियो दुबो ल्याएर फेरी तोरीको तेलमा चोपेर दुवोले खोपेको ठाँउमा तेल लगाई दिनु पर्छ । एक हप्तामा सबै सन्चो हुन्छ ।


टिका खोपाउदा तोरीको शुद्ध तेल, माटोको एउटा दियो, माथिबाट घोप्टाउने एउटा माटोको हाँडी र बत्तिको लागि कपास चाहिदो रहेछ । उनले थपिन्, कपासको बत्ती कातेर माटोको दियोमा तोरीको तेल हालेर बाल्ने, माथिबाट माटोको हाँडी घोप्टाएर बेलाबेला त्यसको कालो मोसो झार्नु पर्छ । ताकि त्यो कालोमोसो झरेर दियोमा नखसोस्, दियो निभ्न नपाओस् । यसरी बनेको कालो मोसोमा हुक्काको पानी हालेर फिट्ने र एउटा काठको लठ्ठीले केको चित्र बनाउने हो, त्यो चित्र शरीरको हातखुट्टमा कोर्ने, त्यसपछि त्यसैमा २÷३ वटा सियो एकैमा बाँधेर खोप्ने गरिन्छ ।


कल्पनाले बिगत कोट्याइन । टीका खोपाउदा एउटा खुट्टाको २० रुपैँया लिने गरिन्थ्यो । अनि जसले खोपाउने हो, उसैले सबै समाग्री लिएर जानु पर्ने हुन्थ्यो । त्यती बेला पढ्ने काम हुन्थेन् । साथीको लह लहैमा हिडीन्थ्यो । हातखुट्टा, घाँटी र अनुहारमा खोप्ने र खोपाउने गरिन्थ्यो । तर आजभोली टीका खोप्ने चलन हराउँदै गएकोमा उनलाई चिन्ता छ । परम्परागत चलन कम्तीमा नहराओस् भन्ने हो । आजभोली टीका खोपाउन मन लाग्यो भने मेसिनबाटै खोपाउने गरेका कारण पनि लोप हुन थालेको अनुमान उनले सुनाईन् । 


महिला मात्रै नभएर पुरुषहरु पनि टीका खोपाउने गर्दथे । महिलाहरु हातको कुहिनो र खुट्टाको घुँडासम्म टीका खोपाउने गर्दथे भने पुरुषहरु हातमा मात्रै आफ्नो नाम, फूला र चराको चित्र जस्ता टीका खोपाउने गर्थे । बाँसगढी नगरपालिका ५ लक्ष्मणपुर गाँउका मंगत राम थारुले आफनो अनुभव सुनाए, “गोडना गोडाई लो” भन्दै बाहिरबाट देशी महिला÷पुरुषहरु आउने गर्दथे । पछि गाउँमै धेरै जनाले टीका खोप्न सिकिसकेकोले उहाँहरुकै हातबाट आफ्नो नामको टीका खोपाए । टीका खोप्ने समाग्री सियो बाहेक अरु केही पनि नभएकोले असुरक्षाको महासुशगर्दै गाँउघरमा टीका खोपाउन छोडेको उनी दावी गर्छन् । 
थारु साहित्यमा बिद्यावारीधी (पिएचडी) गर्नु भएका डाक्टर कृष्णराज सर्वहारी खुला सीमा भएका कारण भारतबाट यो चलन आएको हुन सक्ने बताउँछन् । कसैले पनि आक्रमण गर्न आँउदा महिलाहरु अशुरक्षित हुने गरेका कारण हातखुट्टामा टीका खोपेपछि राम्रो देखिदैनन् र छोरी चेली सुरक्षित हुन्छन् भन्ने आशयले यो चलनले निरन्तरता पाएको डा. चौधरीको तर्क छ । चौधरीका अनुसार थारु समुदायमा सिन्दुर हाल्ने चलन थिएन, तर बिवाहित महिलाले अनिर्वाय रुपमा टीका छेडाउनु पथ्र्यो । बिवाहपछि श्रीमतिले टिका खोपाइन भने मृत्युपछि स्वर्गमा श्रीमानले श्रीमतीलाई खोज्न सजिलो हुन्छ भन्ने बिश्वासले टीका खोपाउने गरेको उहाँ प्रष्ट्याउनु हुन्छ ।


पहिला सबै बिवाहित महिलाहरु अनिवार्य टीका खोप्नु पर्छ भन्ने थियो । आजभोली टिका खोपाउने ऐच्छिक बिषय जस्तै भएकोले टीका खोपाउने चलन हराउदै गएको उहाँ बताउनु हुन्छ । त्रिभुवन विश्वविद्यालयका मानवशास्त्री सुरेश ढकालका अनुसार नेपालमा थारु समुदाय बाहेक राजवंशी, धिमाल लगायतका आदिबासीहरुमा पनि ट्याटु खोप्ने चलन रहेको छ । टीकनिया खोप्ने चलनसँग एउटा बिश्वास र मिठक गाँसीएको छ । टिकानिया खास सिम्बोलिक हुन्छ । त्यसले केही अर्थ दिइरहेको हुन्छ । प्रथाजनित संस्कार, संस्कृतिहरु परिवर्तन भइरहन्छन् तर त्यसलाई निरन्तरता दियो भने थप अध्ययनको पाटो बन्न सक्छ ।

 

सम्बन्धित समाचार

Facebook Comments