• ५ असार २०८१, मङ्गलवार
  • २५ °C काठमाडौं
ठाकुरबाबा नगरको पूर्वाधार बिकासको बाधक वन तथा मध्यवर्तीक्षेत्र नियमावली :  नगरप्रमुख लम्साल

बर्दिया, १४ फागुन । चुरेकुञ्जले जनताको प्रश्न, जन प्रतिनिधिको जवाफ अभियान शुरु गरेको छ । संघीय, प्रदेश तथा स्थानिय सरकारमा जनताको मत जितेर गएका प्रतिनिधिहरुले निर्वाचनमा गरेका वाचा, अहिले सम्म गरेका गतिविधि विकासको चुनौती एवम् आगामी कार्ययोजना जनता सामु छर्लङग पार्ने संचारकर्मको दायित्व सुशासनको धर्म अनुरुप सबै जन प्रतिनिधिहरुलाई एकै प्रश्न मार्फत अभियानमा जोड्ने प्रयास गरेका छौं । प्रस्तुत छ ठाकुरबाबा नगरपालिका नगरप्रमुख तिलकराम लम्सालसँग पत्रकार यादव आचार्यले गरेको कुराकानीको प्रमुख अंश :

तपाईले भोट माग्दा जनतासँग गरेका बाचाहरु के–के हुन ?

स्थानिय तहको निर्वाचनको समयमा जनताको घरदैलोमा गएर मैले धेरै ठूला आस्वासनहरु बाँडिन । नगर पालिकाबाट पाउने तलब भत्ता लिने छैन त्यो तलब भत्ता मैले अति विपन्न परिवार, असहाय, गरीव परिवारको शिक्षा र स्वास्थ्यमा खर्च गर्नेछु भनेको थिए । मैले तपाई हाम्रो यो नगर पालिकालाई जनताको नगरपालिका बनाउने प्रण गर्दछु । यसका साथै बसौ बसौ लाग्ने गाउँ, आपत विपतमा सघाउने स्थानिय जनप्रतिनिधि सहित शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, खाने पानी, पर्यटन, बेरोजगार, वातावरणमैत्री नगरपालिका, जँगली जनावरको नियन्त्रण, धर्म सँस्कार सँस्कृति परम्परा कलाको संरक्षण र जगेर्ना, खेलकुद, युवा स्वरोजÞगार, प्रविधिमैत्री नगरपालिका तपाई हाम्रा विभिन्न समस्याहरु छन् । त्यो नै मेरो पहिलो प्राथमिकता हुन्छ भनेर भनेको थिए ।

निर्वाचन जितेर आएपछि के–के काम गर्नभयो ?

निर्वाचन पश्चात मैले माध्यामिक तहँ सम्म अनिवार्य निःशुल्क शिक्षा घोषणा गरी कार्यान्वयन गरे । जनताको आधारभुत आवस्यकता भित्र पर्ने स्वास्थ्य सेवालाई सुधारगर्दै बिशेषज्ञ सहितको नगर अस्पताल २४ सै घण्टा संचालन गरेका छौं । स्वास्थ्य विमा कार्यक्रमको सुरुवात आधारधुत नगर अस्पतालबाट नै गरे । त्यस्तै भेन्टिलेटर सहितको सर्प दंश उपचार केन्द्र सन्चालन, घर घरमा नै गएर जेष्ठ नागरीक तथा अशक्तको नियमित स्वास्थ्य परिक्षण गर्ने कार्यको सुरुवात गरे । कृषि तर्फ वन्यजन्तुबाट हुने क्षति तथा राहत सुविधाको विस्तार गर्न सबै कृषकले पालेका पशुहरुमा अनिवार्य विमा कार्यक्रम संचालन गरी कृषि तथा पशु विमा निर्देशिका २०८० बमोजिम किसानले तिर्नुपर्ने बिमा प्रिमियम रकममा नगरपालिकाबाट थप अनुदानको व्यवस्था गरी कार्यान्वयन गरेका छौं । समुदायमा यत्रतत्र रहेका गाईहरुको लागि गौशाला निर्माण गरी व्यवस्थापन गरेको छु । कुकुरले टोक्दा महङ्गोमा खरिद गरी खोप लगाउनुपर्ने बाध्यताको अन्त्य गरी नगर अस्पतालबाट नियमित रेबिज रोग विरुद्वको खोप लगाउने ब्यवस्था मिलाएका छौं । उसले गर्दा स्थानियहरुले सजता महशुस गर्नु भएको पनि छ । नगरपालिकामा कानुन अभावमा कार्यक्रम संचालन गर्न कठिनाई भई बेरुजुको मात्रा बढिरहेको हुँदा विभिन्न कानुन निर्माण गरेर कार्यान्वयन गरी बेरुजुको मात्रा घटाउन सफल भएका छौं । आफुले पाउने सबै सेवा सुविधाहरु मेयर तिलकराम लम्साल राहात कोष नामको खाता संचालन गरी उक्त खातामा जम्मा गरी सबै रकम बिपन्न परिवारका ५५ जनालाई औषधी उपचार खर्च तथा विपन्न परिवारका बालबालिकाहरुलाई अध्ययन गर्न खर्च गर्ने गरेको छु । हरेक वर्ष ५ जना विपन्न छात्र छात्रालाई उच्च शिक्षा अध्ययनमा सहयोग गरेका छौं । 

बिद्यालयको भौतिक संरचनागत विकास गर्न बहुतले भवन निर्माण गरी ७२ काक्षाकोठा थप गरेर टिनको छाना विस्थापन गरीसकेको छु । हरेक विद्यालयमा स्मार्ट बोर्डको व्यवस्थापन तथा हरेक शिक्षकलाई निःशुल्क कम्प्यूटर तालिम प्रदान गरी क्षमता विकास गरिएको छ । असहाय विधार्थीहरुका लागी आवासिय विद्यालय स्थापना अन्तिम चरणमा पुगेको छ । स्थानीय समुदायले तिर्ने मालपोत समायोजन गरी सिफारिस दस्तुर आधा गरेर कार्यान्वयन गरे । नगरपालिकामा हेल्प डेक्सको व्यवस्था गरी फोन गर्दा पैसा नलाग्ने टोल फ्री नं. को व्यवस्थापन गरेर कार्यान्वयनमा ल्याएका छौं । नगरपालिकाले गरेका कामहरुको नियमित जनताहरुलाई जानकारी गराउने उद्देश्यका साथ सार्वजनिक सुनुवाई सामाजिक परिक्षण लगाएतका कामहरु समयमा नै गरी सुशासनको सुरुवात गर्ने अभ्यास गरेका छौं । विशेषज्ञ सहितको नियमित स्वास्थ्य जाँच शिविर संचालन गरेका छौ । पुर्वाधार तर्फ करिव ९ कि.मी सडक कालोपत्रे सम्पन्न भएको छ । हरेक वडाका मुख्य सडक कालोपत्रे गर्ने योजना अनुरुप काम भैरहेको छ । त्यस्तै पालिकाका विभिन्न स्थानमा पक्की पुल, ट्रस्ट पुल, झुलुङ्गे पुल लगाएतका काम अगाडी बढेका छन । फोहोर व्यवस्थापनको काम सुरु गरीएको छ । स्थानिय कला र संकृतिको संरक्षण र सम्र्वद्धनमा पालिका स्तरमा ठाकुरबाबा प्रज्ञा प्रतिष्ठान गठन गरी परापुर्व काल देखी चली आएको बरघर प्रथालाई व्यवस्थित गर्न बरघर ऐन तथा यस क्षेत्रको प्राकृतिक जलाधार संरक्षण गर्न जल उपयोग गुरुयोजना निर्माण गरेका छौ । मध्यकालिन खर्च संरचना, आवधिक योजना तथा नगर प्रोफाईल तयार गरेका छौ ।     थालेसेमिया रोगका विरामीलाई मासिक ३००० सामाजिक सुरक्षा भत्ताको व्यवस्था पालिकाको श्रोतबाट गरेका छौ । भुमिहिन सुकुम्वासी तथा अब्यवस्थित बसोबासीको व्यवास्थपनको लागि जग्गाको नाप जाँच सुरु गरेका छौ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बराहताल गाउँपालिका सँग सडक सञ्जाल जोड्न भुरिगाउँ तेलपानी सडकमा बनपथ निर्माण सुचारु गरेका छौ ।

तपाईको क्षेत्रको बिकासमा मुख्य चुनौती के हो ? 

मेरो नगरपालिकामा विकासको मुख्य चुनौति भनेको वन तथा मध्यवर्ती क्षेत्र हो । औद्योगिक विकास गर्न मध्यवर्ती क्षेत्र संचालन नियमावली तथा वन ऐनले कठिनाई भैरहेको छ । कृषि क्षेत्रको विकासमा ठुलो बजार र बन्यजन्तुको समस्या पनी नगरपालिकाको चुनौतिको रुपमा रहेको छ । बर्षाको समयमा हुने डुवान तथा मानव बन्यजन्तु द्वन्दको समस्या पनी यस क्षेत्रको प्रमुख चुनौती हुन । संघिय सरकार र प्रदेश सरकारले समयमा नै कानुन निर्माण नगर्दा मुख्य चुनौती थपिएको छ ।

जनताले चाहेजति काम गरे जस्तो लाग्छ ?

हाम्रो चाहाँना असिमित हुन्छन । जनताको दैनिक जिवनस्तर सुधार तथा शिक्षा स्वास्थको क्षेत्रमा चाहेभन्दा बढी नै काम गरेको महसुस हामिले गरेका छौ । भौतिक विकासको क्षेत्रमा बजेटको सिमा तथा आफ्नो नगरपालिकाको कमजोर आन्तरीक आयका कारण सोचेजती प्रगति गर्न सकेका छैनौ । संघ तथा प्रदेशको सहकार्यमा सघन सहरी विकास कार्यक्रम प्रदेश स्तरको वस्ती विकास कार्यक्रम नदी कटान नियन्त्रणमा हामिले उल्लेखनीय कामहरु गरेका छौ । अझै कार्यकाल बाँकी रहेकाले जनताको मनजित्ने गरी काम गर्ने चाहाना छ ।

तपाईका आगामी बाचा, प्रतिबद्धता के हुन ?

नगरपालिकालाई आगामी दिनमा थप आफ्नो आन्तरीक आय वृद्वि हुने कामहरु हामिले अगाडी बढाएका छौ । बैकल्पीक विद्युत बिकास, कृतिम जलाशय निर्माण, ठाकुरद्वारामा धार्मिक पर्यटन विकास लगायतका ठुला योजना हामीले सुचारु गर्ने र सुशासनमा नमुना नगरपालिका बन्ने प्रतिवद्वता तथा जनताको आवश्यक्तालाई मध्यनजर गर्दै काम गर्ने बाचा हाम्रा रहेका छन । सम्पुर्ण कामहरु सम्पन्न गरी समुन्नत ठाकुरबाबा निर्माण गर्ने मेरो प्रतिवद्वता रहेका छन । किसानले उत्पादन गरेका कृषि उत्पादनको बजारीकरण गर्ने लक्ष समेत हामिले लिएका छौ । जनचाहाना अनुरुप काम गर्ने नगरवासीमा प्रतिवद्धता गर्छु । धन्यवाद ।

सम्बन्धित समाचार

Facebook Comments