• ५ साउन २०८१, शनिवार
  • २९ °C काठमाडौं
न्यूनतम पारिश्रमीक समेत नपाउँदा निःशुल्क सेवागर्दै पत्रकार

संजय आचार्य, १७ असार, बर्दिया । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र ऐन संशोधनका विषयमा बर्दियाको गुलरियामा पत्रकारहरुविच अन्तरक्रिया गरिएको छ । सोमवार न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ बर्दिया शाखाको समन्वयमा भएको कार्यक्रममा पत्रकारको पारिश्रमीक, पत्रकारिता क्षेत्रका समस्या र समाधानका विषयमा  छलफल गरिएको छ । 

नेपालमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र ऐन संशोधनका विषयमा प्रकाशपार्दै न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्य आस्था केसीले प्रविधि र आर्थिक संकटले सञ्चार क्षेत्रमा नकारात्मक असर परेको बताउनु भएको छ । ऐन कार्यान्वयनमा ठूलो चुनौती रहेको बताउँदै केसीले यसलाई लागु गर्न सबै मिडियाकर्मीको सहयोग आवश्यक रहेको उल्लेख गर्नु भएको थियो । 

कार्यक्रममा टिप्पणीगर्दै नेपाल पत्रकार महासंघ बर्दियाका निवर्तमान अध्यक्ष राजेन्द्रप्रसाद धितालले पत्रकारहरुले आचारसंहितालाई आत्मसातगर्दै ब्यवसायिक पत्रकारिता गर्नुपर्ने आवस्यकता औल्याउँदै बर्दियामा उठेका पारिश्रमीकका सवालहरु समितिले निर्माण गर्ने नितिहरुमा समावेश गराउन माग गर्नुभयो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेसका कोषाध्यक्ष यमनाथ घिमिरेले पत्रकारहरुको जीवन रक्षाको लागि स्थानिय सरकारले चिन्ता लिनुपर्ने औल्याउनु भयो ।

कार्यक्रमका सभाअध्यक्ष नेपाल पत्रकार महासंघ बर्दिया शाखाका अध्यक्ष यादवप्रसाद आचार्यले बर्तमान अवस्थामा मिडिया संचालन गर्न धेरै कठिनाईको सामाना गर्नु परेको बताउनु भएको छ । मिडिया टिकाउन सरकारले पहल गर्नुपर्ने र पत्रकारका समस्या समाधानमा सरकारले चाँसो दिनुपर्ने उल्लेखगर्दै अध्यक्ष आचार्यले न्यूनतम पारिश्रमिक निर्धारण समिति हाम्रो अभिभावकको रूपमा समेत रहेको प्रष्ट्याउनु भयो । कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष यज्ञप्रसाद सापकोटा, प्रेस सेन्टर नेपालका अध्यक्ष भिमउँचै ठकुरीले पत्रकारहरुको पारिश्रमीक दिलाउन समितिले पहलगर्नु पर्नेमा जोड दिनु भएको छ । 

त्यस्तै पत्रकार निर्मल घिमिरेले जिल्ला संवाददाताहरु फिल्डमा दिनहुँ काम गरेपनि हाजिरी राख्ने ब्यवस्था नहुँदा पारिश्रमीकको लागि कानूनी अड्चन हुने बताउनु भयो । पत्रकार टिकाराम चौधरी, होमेन्द्र थापा, केशव कोईराला, दुर्गा आचार्य लगायतले सुझाव राख्नु भएको थियो । नेपाल पत्रकार महासंघ बर्दियाका उपाध्यक्ष मेनका चौधरीले कार्यक्रममा स्वागत मन्तब्य राख्नु भएको थियो भने सहसचिव विष्णु अधिकारीले कार्यक्रम संचालन गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments