• २७ कार्तिक २०८१, मङ्गलवार
  • २२ °C काठमाडौं
राजापुर ३ नम्बर वडाका गुरुवाहरुलाई वडाबाट सम्मान

पुरुषोत्तम खनाल, १० असोज, गेरुवा (बर्दिया) । बर्दियाको राजापुरमा गुरुवाहरुलाई सम्मान गरिएको छ । राजापुर नगरपालिका वडा नं. ३ को कार्यालयले आज वडामा रहेर सक्रियताका साथ प्राचीन उपचार विधिमा संलग्न गुरुवाहरुलाई सम्मान गरेको हो । 

वडाले आफ्नो स्वीकृत बजेटबाट छुट्याएको ३० हजार बराबरको १३।१३ थान छाता र टर्च वितरण गर्दै सम्मान गरेको हो । वडामा ४३ जना समाजसेवी गुरुवाहरुको नामावली प्राप्त भए पनि यस वर्ष छुट्याइएको बजेटबाट संयुक्त रुपमा गुरुवाहरुलाई वितरण गरेको छ । वडामा सक्रिय दुबै टोलीका अध्यक्षहरु कुलराम थारु र दुहना थारुले वडाबाट प्रदान गरेको सामान बुझ्दै आफुहरुलाई वडाले गरेको सहयोगले समाज सेवामा लाग्न थप बल पुगेको भन्दै धन्यवाद सहित सहयोग निरन्तर गर्न आग्रह गर्नु भएको थियो । 

जीवनउद्धार सर्पदंस तथा प्राचीन उपचार समितिका सचिव जगतराम थारुले समितिमा गुरुवाहरु मात्रै नरहेर ज्योतिष, पुरोहितहरु समेत रहेकाले आफुहरु धर्म, संस्कृति संरक्षणमा लागेकाले स्थानीय सरकारले सक्दो सहयोग गर्नु पर्ने धारणा राख्नु भएको थियो । गाउँघरमा प्राचीन उपचार विधिका माध्यमले धेरैको ज्यान जोगिएको भन्दै उच्च सम्मानका साथ गुरुवाहरुलाई सहयोग गर्न पाउँदा वडा कार्यालय परिवार खुशी भएको वडाध्यक्ष तथा गुरुवाहरुलाई सम्मान कार्यक्रमका सभाध्यक्ष प्रसादु थारुले बताउनु भयो । 

रात विहान नभनेर समाज सेवामा निस्वार्थ समर्पित ज्योतिष तथा गुरुवाहरुको प्राचीन उपचार विधिलाई संरक्षण गर्नुपर्ने र सेवालाई सहज बनाउन धेरै आवश्यकता रहे पनि उहाँहरुको माग अनुसार सेवालाई निरन्तरता दिने भन्दै कार्यक्रमको समापन गर्नु भएको थियो । वडा सदस्यहरुको उपस्थितिमा वडा नं. ३ को नवनिर्मित भवन प्रयागपुरमा गरिएको कार्यक्रमको सञ्चालन वडा सचिव सोनु सिजापतिले गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments