• १७ वैशाख २०८१, सोमवार
  • २१ °C काठमाडौं
दुई साहित्यकारलाई शेरबहादुर रानाभाट स्मृति पुरस्कार

प्रभात सुवेदी, १८ चैत, बर्दिया । भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्ज बाँकेले दुई साहित्यकारलाई लक्षिमा शेर बहादुर रानाभाट स्मृति पुरस्कारसँगै सम्मान गरेको छ । प्राध्यापक डाक्टर गोपाल प्रसाद अधिकारी, प्राज्ञ डा. मधुसुदन गिरी द्वयलाई सम्मानसँगै पुरस्कार प्रदान गरिएको हो ।

समाजसेवी कृष्णप्रसाद श्रेष्ठ र हरित अभियन्ता हेमन्तराज काफ्लेलाई सम्मान गरिएको छ । कथाकार भरत बहादुर रानाभाटको कथा सङ्ग्रह ’नियति’ समीक्षा गरिएको छ । कार्यक्रममा नियति कथा संग्रहमाथि समालोचकद्वय मीना बराल र लेकप्रसाद प्याकुरेलले विभिन्न सैद्धान्तिक दृष्टिकोणबाट समीक्षा गर्नुभयो । 

भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष इन्द्र बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय अध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य प्राज्ञ डा. मधुसुदन गिरी, विशेष अतिथिका वरिष्ठ कथाकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी र पूर्व मन्त्री तथा उपन्यासकार गजेन्द्र हमाल रहनुभएको थियो । विशिष्ट अतिथिका रुपमा वरिष्ठ समालोचक तथा साहित्यकार प्रा.डा. गोपालप्रसाद अधिकारी र लुम्बिनी प्राविधिक विश्व विद्यालय सेवा आयोगका सदस्य प्रा.डा. कृष्ण प्रसाद घिमिरे रहनु भएको थियो । 

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यद्वय महानन्द ढकाल र शशिराम कार्की, पूर्व प्राज्ञ सभा सदस्य तथा भेरी साहित्य समाज केन्द्रिय समितिका सल्लाहकार हरिप्रसाद तिमिल्सिना, भेरी साहित्य समाज तथा अवधि सांस्कृतिक प्रतिष्ठानका सल्लाहकार विष्णुलाल कुमाल, सल्लाहकार एवम् वरिष्ठ पत्रकार पूर्णलाल चुके, खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्र बहादुर भण्डारी, नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य मणि अर्याल लगायत सहभागी हुनुहुन्थ्यो । लक्षिमा शेरबहादुर रानाभाट पुरस्कारको अक्षयकोषका तर्फबाट भरतबहादुर रानाभाटले अक्षयकोषको स्थापना तथा उद्देश्यका बारेमा धारणा प्रस्तुत गर्नुभएको कार्यक्रममा स्वागत मन्तब्य समाजको वरिष्ठ उपाध्यक्ष इश्वरी प्रसाद रिजाल ’उल्कापात’ ले गर्नुभएको थियो भने सहजीकरण महासचिव गीता अर्यालले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments