• १७ जेठ २०८३, आइतवार
  • १८ °C काठमाडौं
मधुवनको ६ नम्बर वडा बाल विवाहमुक्त घोषणा

हरि गुरुङ, २७ बैशाख, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ६ लाई बाल विवाहमुक्त वडा घोषणा गरिएको छ । नगरपालिकाको बाल बिबाहमुक्त घोषणा रणनितिमा १५ प्रतिशत भन्दा तल बाल विवाह रहेमा बाल विवाहमुक्त घोषण गर्ने कार्ययोजना बमोजिम वडा नम्बर ६ मा १३ प्रतिशत मात्र बाल विवाह देखिएकोले बाल विवाहमुक्त वडा घोषण गरिएको हो ।

बाल बिबाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ कार्यान्वयनमा छ । यस रणनीतिको उदेश्यमा सन २०३० सम्ममा नेपालमा बाल बिबाह अन्त्य गर्ने उल्लेख छ, तर बाल बिबाह रोकिने छाँटकाँट छैन । लुम्बिनी प्रदेशका १२ जिल्लाहरुको तथ्यांक अनुसार बर्दिया जिल्ला ९ औं  (३३.० प्रतिशत) स्थानमा छ । सबैभन्दा बढी बाल बिबाह हुने जिल्ला प्युठान (३८.६) सबैभन्दा कम २९.५ प्रतिशत नवलपरासी पश्चिम रहेको छ ।

बाल विवाह कुनै पनि राष्ट्रको कानुनमा विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बुझाउँछ । सामान्यतया १८ वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । विभिन्न देशमा विवाह गर्न योग्य उमेर भनेर आआफ्नै कानुनी रूपमा निर्धारित उमेर तोकिएको छ । नेपालको कानुन अनुसार बालबालिका दुबैको लागि २० वर्ष पुगिसकेपछि विवाह गर्न उपयुक्त उमेर भनि तोकिएको छ ।

मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार बाल विवाह गर्दा विभिन्न कानुनी सजाय तोकिएको छ । उमेर २० वर्ष नपुगी कसैले विवाह गरे वा गराएमा विवाह स्वतः बदर हुने छ । साथै कसुर गर्ने जो कोही व्यक्तिलाई तीन वर्ष सम्म कैद र तीस हजार सम्म जरिवाना हुने कानूनी व्यवस्था गरिएको छ । विवाह गर्ने उमेर विवाह गर्ने व्यक्तिको (महिला र पुरुष दुवैको) बीस वर्ष हदम्याद हो भने बाल बिवाह भएको थाहा पाएको मितिले ३ महिना सम्म बाल विवाहको उजुर दिन सक्ने व्यवस्था रहेको छ ।

बालबालिका सम्वन्धि ऐन २०७५ को उपदफा ६६ (२) (ण) अनुसार बालबालिकासँग विवाह गर्नु गराउनु बालबालिका विरुद्धको कसुर मानेको छ । र दफा ६७ अनुसार त्यस्तो कसुर गरेको ठहरेका व्यक्तिहरुले दश (१०) बर्षसम्म बालबालिकासँग सम्बन्धित सार्वजनिक तथा निजि क्षेत्रमा काम गर्न, मनोनित वा निर्वाचित हुन नपाउने ब्यवस्था छ । 

सम्बन्धित समाचार

Facebook Comments