• २४ वैशाख २०८३, बिहिवार
  • १९ °C काठमाडौं
राजापुरमा बालविवाह तथा लागुऔषध विरुद्ध सचेतना

केशव कोईराला, २३ वैशाख, राजापुर (बर्दिया) । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ९ मा बालविवाह तथा लागुऔषध दुव्र्यसन विरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले एक दिने कार्यक्रम सम्पन्न भएको छ । वडा नं. ९ का अध्यक्ष विष्णु प्रसाद थारुको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा भिम्मापुर स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र शाह, इलाका प्रहरी कार्यालय गोडियानाका प्रमुख जयलाल ऐर, वडा सचिव रमेश कुमार चौधरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष थारुले बालविवाह जस्तो कुरीति समाजको विकासमा बाधक रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि सबैको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो । 

उहाँले बालबालिकाको भविष्य सुरक्षित गर्न अभिभावक सचेत हुनु जरुरी छ, बालविवाहलाई कुनै पनि हालतमा प्रश्रय दिनु हुँदैन भन्ने धारणा व्यक्त गर्नुभयो । भिम्मापुर स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र शाहले कम उमेरमा विवाह गर्दा स्वास्थ्यमा गम्भीर असर पर्ने उल्लेख गर्दै किशोर–किशोरीलाई स्वास्थ्य सचेतना आवश्यक रहेको बताउनुभयो । उहाँले बालविवाहले मातृ तथा शिशु मृत्यु दर बढाउने जोखिम हुन्छ, त्यसैले यसलाई रोक्न स्वास्थ्य क्षेत्र पनि सक्रिय हुनुपर्छ भन्नुभयो । 
त्यसैगरी, इलाका प्रहरी कार्यालय गोडियानाका प्रमुख जयलाल ऐरले बालविवाह तथा लागुऔषध दुवै कानुनी अपराध भएको स्पष्ट पार्दै æयस्ता कार्यमा संलग्न हुने जो कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याइन्छ बताए। उनले समुदायलाई सचेत रहन र यस्ता गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन आग्रह गर्नुभयो । 

वडा सचिव रमेश कुमार चौधरीले समाजमा सचेतना फैलाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । वक्ताहरूले बालविवाह अन्त्य गर्न अभिभावक, शिक्षक, विद्यार्थी तथा सरोकारवाला निकाय सबैको साझा प्रयास आवश्यक रहेको बताए। साथै, लागुऔषध दुव्र्यसन न्यूनीकरणका लागि सचेतना, निगरानी र सामुदायिक सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा वडा स्तरिय बाल क्लबका छात्र–छात्रा तथा विभिन्न विद्यालयबाट आएका विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले बालविवाहका नकारात्मक प्रभाव, कानुनी व्यवस्था तथा लागुऔषध दुव्र्यसनले समाजमा पार्ने असरका बारेमा जानकारी हासिल गरेका थिए । कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको र यस्ता कार्यक्रमले बालबालिका तथा युवालाई सही मार्गमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments