• १ असार २०८३, सोमवार
  • २० °C काठमाडौं
बढैयातालमा पशुपालन सम्बन्धी ५ दिने तालिम 

दलबहादुर सुनार, ३१ जेठ, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिकामा पशुपालन सम्बन्धी पाँच दिने तालिम सञ्चालन भएको छ । अपाङ्ग सशक्तिकरण तथा सञ्चार केन्द्र -डेक) नेपालको आयोजना तथा फूड एण्ड एग्रिकल्चर अर्गनाईजेशन -एफएओ) को आर्थिक सहयोगमा मैनापोखरमा शुक्रबारदेखि तालिम सुरु भएको हो ।

गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यमा आयोजित तालिमको उद्घाटन कार्यक्रममा डेक नेपालका समर्थ परियोजना संयोजक सत्यनारायण चौधरीले तालिमको उद्देश्यबारे प्रकाश पार्नुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूको सीप विकास र आत्मनिर्भरता अभिवृद्धि गर्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको बताउनुभयो । 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी र प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारुले तालिमले अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै, आगामी दिनमा गाउँपालिकाले साझेदारीमार्फत उनीहरूको आर्थिक तथा सामाजिक विकासका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो । 

बर्दिया अपाङ्ग पुनस्र्थापना केन्द्रका अध्यक्ष तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय सदस्य नेत्र प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकाबाट १०/१० जना गरी २० जनाको सहभागिता रहेको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको तालिम पाँच दिनसम्म चल्नेछ । तालिममा नेपाल केन्द्रीय कृषि सहकारी संघ लिमिटेड, परियोजना कार्यालय मैनापोखरका संयोजक जनक आचार्यले सहजीकरण गरिरहनुभएको छ । 

उहाँले बाख्राको स्थानीय जात, पालनमा ध्यान दिनुपर्ने पक्ष, खोर व्यवस्थापन, आहारा तथा दाना उत्पादन विधि, तथा बाख्राले मन पराउने घाँसका जातबारे अन्तरक्रिया र भिडियोमार्फत प्रशिक्षण दिइरहनुभएको छ । समर्थ परियोजना अनुसार जेठ ३१ गतेदेखि मैनापोखरमै अपाङ्गता भएका व्यक्तिहरूका लागि कृषि सम्बन्धी अर्को पाँच दिने तालिम सञ्चालन गरिनेछ ।

सम्बन्धित समाचार

Facebook Comments