बर्दियाका सबै पालिका प्रमुख कोरिया स्थित कृषि क्रान्तिको अध्ययनमा
केशव कोईराला, २ वैशाक, बर्दिया । बर्दिया जिल्लाका आठवटै स्थानीय तहका प्रमुखहरू यतिबेला दक्षिण कोरियामा कृषि क्रान्तिको अवलोकन तथा तालिममा सहभागी भएका छन् । नेपाल सरकार र कोरियाली सरकारबीचको सहकार्यमा सञ्चालन भइरहेको समावेशी ग्रामीण विकास परियोजना अन्तर्गत उनीहरू कोरिया पुगेका हुन् ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोईका मार्फत कोरियाली सरकारले करिब ८० लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ । सन् २०२५ देखि २०२९ को डिसेम्बरसम्म सञ्चालन हुने उक्त परियोजना बर्दियाका सबै स्थानीय तहमा कार्यान्वयनमा आइसकेको छ ।
परियोजना अन्तर्गत गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसी, बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी, राजापुर नगरपालिकाका प्रमुख दिपेश थारु, बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल थारु, मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाट, गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादव, बाँसगढी नगरपालिकाका प्रमुख खडकबहादुर खडका र ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्साल १५ दिने कृषि उद्यमशीलता तालिमका लागि कोरिया पुगेका हुन् ।
५ अप्रिलदेखि १८ अप्रिलसम्म सञ्चालन भइरहेको तालिममा सहभागी पालिका प्रमुखहरूले कृषि उत्पादन वृद्धि, बजारीकरण र यान्त्रीकरणबारे प्रत्यक्ष अध्ययन गर्ने अवसर पाएका छन् । उनीहरूले स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै कोरियामा सफल भएको कृषि मोडेल बर्दियामा समेत लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समावेशी ग्रामीण विकास परियोजनाले कृषि उत्पादन वृद्धि, मूल्य शृङ्खला विकास, सडक तथा पूर्वाधार स्तरोन्नति, बजार पहुँच विस्तार, उद्यमशीलता विकास तथा रोजगारी सिर्जना मार्फत ग्रामीण समुदायको जीवनस्तर सुधार गर्ने लक्ष्य राखेको छ ।
२५ °C काठमाडौं
Facebook Comments