कात्तिक शुक्ल पक्षको पूर्णिमा चन्द्रमा भन्दा परको पूर्णिमा
मुकुन्द अर्यालय, ८ मंसिर, बर्दिया । प्रकृति उही हो तर यसको सौन्दर्य हरेक पल नयाँ हुन्छ । चन्द्रमा हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ । तर पूर्णिमाको रातको आफ्नै विशेषता हुन्छ । आकाशमा पूर्ण आकारमा देखिने चन्द्रमालाई हेर्दा प्रकृतिको सुन्दरता मात्र अनुभूत हुँदैन मनमा अनेक बिचार पनि जन्मिन्छन् । आखिर पूर्णिमाको महत्व के हो ? किन संसारका विभिन्न धर्म, संस्कृति र आध्यात्मिक परम्पराले यस दिनलाई विशेष मानेका हुन ?
विक्रम सम्बत् २०८३ साल मङ्सिर ८ गते, मङ्गलबार Û कार्तिक शुक्ल पूर्णिमाको दिन । हाम्रो पूर्वीय सनातनी परम्परामा कार्तिक महिनाको अन्तिम पूर्णिमाको विशेष महत्व छ । यस दिनलाई त्रिपुरारी पूर्णिमा र देव दीपावलीका रूपमा चिनिन्छ । पौराणिक सार भगवान् शिवले त्रिपुरासुर नामक असुरका तीन नगर एउटै बाणबाट ध्वस्त पार्नुभएको थियो । त्यस विजयको खुसीमा देवताहरूले दीपावली मनाएको विश्वास छ । शिवपुराणको रुद्रसंहितामा यससम्बन्धी आख्यान पाइन्छ । यस दिन नदी तथा पवित्र जलाशयमा स्नान, दीपदान र शिव आराधना गर्ने परम्परा छ । -स्रोत ः शिवपुराण, रुद्रसंहिता, युद्धखण्ड) ।
कार्तिक पूर्णिमाको धार्मिक महत्व काशीमा मनाइने देव दीपावलीमा पनि देखिन्छ । गङ्गाका घाटहरू हजारौँ दीपले झिलिमिली हुन्छन् । गङ्गा आरती र दीपदानका दृश्यले काशीको धार्मिक तथा सांस्कृतिक पहिचानलाई अझ विशिष्ट बनाउँछन् । धार्मिक विश्वासअनुसार यस दिन देवताहरू स्वयं गङ्गामा स्नान गर्न आउने मान्यता छ । यस पूर्णिमाको महत्व हिन्दू परम्परामा मात्र सीमित छैन । सिख धर्मका संस्थापक गुरु नानक देवको प्रकाश पर्व अर्थात् जन्मजयन्ती पनि कार्तिक पूर्णिमामा मनाइन्छ । सन् १४६९ मा हाल पाकिस्तानमा पर्ने ननकाना साहिबमा जन्मनुभएका गुरु नानकले मानव समानता, श्रम, सत्य र सेवाको सन्देश दिनुभएको थियो ।
उहाँको जन्ममितिबारे ऐतिहासिक स्रोतहरूमा केही मतभेद पाइन्छ। कतिपय ऐतिहासिक विवरणले वैशाख महिनालाई जन्ममिति माने पनि सिख समुदायले कार्तिक पूर्णिमालाई प्रकाश पर्वका रूपमा मान्ने गरेको छ । यसले कुनै दिनको धार्मिक महत्व केवल ऐतिहासिक मितिले मात्र निर्धारण गर्दैन, त्यससँग जोडिएको आस्था र सांस्कृतिक निरन्तरताले पनि निर्धारण गर्छ । हाम्रो आफ्नै नेवार संस्कृतिमा पनि यस पूर्णिमाको विशिष्ट स्थान छ । सकिमना पुन्हि वा हलिमलि पुन्हिका रूपमा मनाइने यस पर्वमा पिँडालु, सखरखण्ड, मकै, भटमास, गहुँलगायतका अन्न तथा कन्दमूलको प्रयोग हुन्छ । खाद्य सामग्रीबाट देवीदेवता, मन्दिर र धार्मिक आकृति बनाउने कलात्मक परम्परा पनि छ ।
पशुपतिनाथ मन्दिरको ताम्रपत्रमा नेपाल संवत् ५६० को अभिलेखमा राजा यक्ष मल्ल र उनका भाइ जीव मल्लले आफ्नी दिवङ्गत आमाको सम्झनामा उल्लेख गरेका विभिन्न पूजापर्वमध्ये यस दिनलाई जुधान पुन्हिका रूपमा उल्लेख गरेको विवरण पाइन्छ । यसले यस पर्वको ऐतिहासिक निरन्तरता बुझ्न थप आधार दिन्छ । -स्रोत ः सत्यराम कासिछ्वा, नागरिक न्यूज, Úसकिमना पुन्हि ः प्रकृति र अन्नप्रतिको सम्मान गर्ने पर्वÚ, २०८२) ।
धार्मिक र सांस्कृतिक पक्षसँगै पूर्णिमाको अर्को रोचक सम्बन्ध योग र ध्यानसँग पनि छ । हाम्रो पूर्वीय सनातनी योग परम्परामा सूर्य र चन्द्रका चक्रलाई मानव शरीर, मन र साधनासँग जोडेर व्याख्या गरिएको पाइन्छ । हठयोग शब्दकै व्युत्पत्तिमा ÚहÚ लाई सूर्य र ÚठÚ लाई चन्द्रसँग जोडेर हेर्ने परम्परागत व्याख्या छ । यसको आशय शरीरभित्रका दुई विपरीत ऊर्जाबीच सन्तुलन स्थापित गर्नु हो । त्यसैले योग परम्परामा पूर्णिमा र औँसीलाई साधनाका दृष्टिले विशेष तिथि मान्ने गरिन्छ ।
यस विषयमा सद्गुरु जग्गी वासुदेवका अनुसार पूर्णिमाको समयमा मानिसभित्र पहिलेदेखि रहेका भाव र गुणहरू अझ प्रबल हुन सक्छन् । मानिस ध्यानमग्न छ भने ध्यानको अनुभूति गहिरिन सक्छ, प्रेम र आनन्दमा छ भने ती अनुभूति अझ प्रखर हुन सक्छन् भन्ने उनको योगिक व्याख्या छ । त्यसैले साधनाको मार्गमा रहेका मानिसका लागि पूर्णिमाको रात ध्यान गर्न अनुकूल अवसर हुन सक्ने उनको धारणा छ । ईशा योग केन्द्रमा पूर्णिमाका अवसरमा विशेष साधना र आध्यात्मिक कार्यक्रम आयोजना गरिनु पनि यही परम्परासँग जोडिएको छ ।
यहाँ एउटा कुरा भने स्पष्ट हुनु आवश्यक छ । चन्द्रमाको गुरुत्वाकर्षणले पृथ्वीका समुद्रमा ज्वारभाटा उत्पन्न गर्छ भन्ने वैज्ञानिक तथ्य हो । तर पूर्णिमाकै कारण मानिसको मस्तिष्कमा रक्तसञ्चार बढ्छ वा ध्यानको क्षमता अनिवार्य रूपमा वृद्धि हुन्छ भन्ने कुरा आधुनिक विज्ञानले प्रमाणित गरिसकेको छैन । सद्गुरुका यस्ता व्याख्यालाई वैज्ञानिक निष्कर्षभन्दा योगिक तथा आध्यात्मिक दृष्टिकोणका रूपमा बुझ्नु उपयुक्त हुन्छ । प्रकृतिको लयसँग आफूलाई जोडेर ध्यान, योग र आत्मचिन्तनका लागि समय छुट्याउनु आफैँमा अर्थपूर्ण अभ्यास हो ।
यी सबै प्रसङ्गलाई एकै ठाउँमा राखेर हेर्दा पूर्णिमा केवल एउटा धार्मिक तिथि मात्र होइन भन्ने लाग्छ । कसैले यसलाई शिवको विजयको स्मृतिका रूपमा मनाउँछन्, कसैले गुरु नानकको मानवतावादी दर्शन सम्झन्छन्, कसैले प्रकृतिले दिएको अन्न र उपजप्रति कृतज्ञता व्यक्त गर्छन् । योग र ध्यानका साधकहरू यसलाई आफूभित्र फर्किने अवसरका रूपमा लिन्छन् । आस्था र परम्परा फरक भए पनि मानिसको खोज भने कतै न कतै शान्ति, सन्तुलन र चेतनाको विस्तारसँग जोडिएको देखिन्छ ।
पूर्णताको अर्थबारे पनि पुर्णिमाले प्रतिकात्मक अर्थ दिइरहेको हुन्छ । चन्द्रमा पूर्ण भएको रातदेखि नै क्रमशः घट्न थाल्छ। प्रकृतिले पूर्णतालाई स्थायी बनाएको छैन। परिवर्तन नै यसको स्वभाव हो । मानिसको जीवन पनि त्यस्तै छ । हामी सधैँ केही प्राप्त गर्ने, केही बन्ने र केही पूरा गर्ने दौडमा छौँ । तर सबै कुरा प्राप्त गर्नु नै पूर्णता हो त ? अबस्य होइन । आफ्ना सीमाहरू स्वीकार गर्न सक्नु, अरूको अस्तित्व र विचारको सम्मान गर्न सक्नु, आफूभित्रको अहङ्कार घटाउँदै लैजानु र जीवनप्रति कृतज्ञ रहन सक्नु पनि पूर्णताका आफ्नै रूप हुन्। पुर्णिमा यसको प्रतीक हो । चन्द्रमा पूर्ण हुनु प्रकृतिको सुन्दरता हो, आफूभित्र पुर्ण उज्यालो खोज्नु मानिसको चेतनाको यात्रा । ॐ ।
१३ °C काठमाडौं
Facebook Comments