• १० साउन २०८३, आइतवार
  • २१ °C काठमाडौं
बढैयातालमा बरघर तथा धार्मिक अगुवालाई पोषण सम्बन्धी अभिमुखीकरण

दलबहादुर सुनार, ९ साउन, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ९ मा बरघर तथा धार्मिक अगुवाहरूलाई लक्षित गरी पोषणसम्बन्धी अभिमुखीकरण गरिएको छ । गर्भवती महिला, सुत्केरी आमा तथा गर्भावस्थादेखि पाँच वर्षमुनिका बालबालिकाको स्वास्थ्य संरक्षणका लागि पोषणको महत्व र आवश्यकताबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।

थारू महिला उत्थान केन्द्र, गुलरिया–बर्दियाको आयोजना तथा बढैयाताल गाउँपालिका–९ को समन्वयमा æस्वस्थ परिवार, कुपोषणमुक्त समाज निर्माणæ भन्ने नारासहित आयोजित कार्यक्रममा वडा नं. ९ स्वास्थ्य चौकीका प्रमुख अनुप सिंह थारूले पोषण र कुपोषण न्यूनीकरणका विविध पक्षबारे सहजीकरण गर्नुभएको थियो । उहाँले कुपोषण न्यूनीकरणका लागि दैनिक भोजनमा अन्न, दाल, दूध, अण्डा, मासु, माछा, हरियो सागसब्जी तथा फलफूलजस्ता सन्तुलित र पोषणयुक्त खाद्य पदार्थ समावेश गर्नुपर्नेमा जोड दिनुभयो । 

शिशुलाई जन्मेदेखि पहिलो छ महिनासम्म केवल आमाको दूध मात्र खुवाउने तथा त्यसपछि आमाको दूधसँगै पोषिलो पूरक आहार सुरु गर्नुपर्ने विषयमा उहाँले जानकारी गराउनुभयो । त्यसैगरी, गर्भवती तथा सुत्केरी महिलाको पोषणमा विशेष ध्यान दिनुपर्ने, आइरन, फोलिक एसिड लगायत आवश्यक पोषक तत्व नियमित सेवन गर्ने, भिटामिन …एÚ, जिंक तथा आयोडिनयुक्त नुनको प्रयोग बढाउने र सरकारले सञ्चालन गर्ने पोषण कार्यक्रमबाट लाभ लिनुपर्नेमा उहाँको जोड छ ।

साथै, सरसफाइ, सुरक्षित खानेपानीको प्रयोग, साबुनपानीले नियमित हात धुने, खुला दिसामुक्त वातावरण कायम गर्ने, बालबालिकाको नियमित स्वास्थ्य परीक्षण, खोप तथा तौल अनुगमन गर्ने र बिरामी परेमा समयमै उपचार गराउने विषयमा समेत सहभागीलाई जानकारी दिइएको थियो । पोषण बगैँचा स्थापना, पशुपालन प्रवद्र्धन तथा पोषणसम्बन्धी जनचेतना विस्तारका उपायबारे पनि छलफल गरिएको थियो । कार्यक्रम बढैयाताल गाउँपालिका–९ का वडा अध्यक्ष बिरबहादुर थारूको प्रमुख आतिथ्यता तथा थारू महिला उत्थान केन्द्रका कार्यकारी निर्देशक प्रिज्मा सिंह थारूको सभापतित्वमा सम्पन्न भएको हो ।

साउन ६ गते आयोजित कार्यक्रममा थारू महिला उत्थान केन्द्रका सुब्बा राम थारूले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने वडा नं. ९ का सचिव विजय थारूले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा थारू महिला उत्थान केन्द्रका सहजकर्ता विनोद श्रेष्ठ, पूर्व वडा अध्यक्ष कान्छु थारू, वडा नं. ९ का बड्घर, धर्मगुरु, गुरुवा, महिला सुँडेनी, सञ्चारकर्मी तथा अन्य सरोकारवालाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments