राजापुरमा आरके थारू तथा सांघाती सांस्कृतिक महोत्सव गरिँदै
केशव कोईराला, २७ असोज, राजापुर (बर्दिया) । बर्दियाको राजापुरमा थारू कला, संस्कृति, भाषा, संगीत तथा स्थानीय प्रतिभाको प्रवद्र्धन गर्ने उद्देश्यले आरके थारू तथा सांघाती दशैँ सांस्कृतिक महोत्सव २०८३ आयोजना हुने भएको छ । मीटुअस घोंगी स्टेसन प्रालिको आयोजनामा आगामी कात्तिक २ गते राजापुरमा सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सवको तयारी, उद्देश्य, कलाकारहरूको सहभागिता तथा कार्यक्रमका विविध पक्षबारे जानकारी दिने उदेश्यले पत्रकार सम्मेलन आयोजना गरिएको छ । संस्कृतिको झन्कारसँगै मानव सेवा र परोपकार भन्ने मूल सन्देशका साथ आयोजना हुन लागेको महोत्सवमा लोकप्रिय थारू गायक तथा गीतकार आरके थारू र सांघाती ब्यान्डको विशेष सांगीतिक प्रस्तुति रहने आयोजक पक्षका टिकाराम चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रममा गायिका तथा मोडल अञ्जु कुर्मी (फुलकुमारी), मोडल मधु चौधरी तथा प्रस्तोता एवं गायक अनुप मगरलगायत कलाकारहरूको सहभागिता रहनेछ । थारू समुदायको मौलिक पहिचानको संरक्षण, स्थानीय कला, संस्कृति तथा परम्पराको प्रवद्र्धन र युवा पुस्तालाई आफ्नो भाषा तथा संस्कृतिसँग जोड्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको सल्लाहकार एवं बरघर रेस्टुरेन्ट काठमाण्डुका संचालक सिताराम थारुले बताउनुभयो ।
स्थानीय कलाकारलाई व्यावसायिक मञ्च प्रदान गर्नुका साथै मनोरञ्जन मार्फत सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिइने बताइएको छ । विशेषगरी रसुवा बाढीपहिरोबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले महोत्सवलाई मानवीय सेवा, सामाजिक एकता र परोपकारी भावनाको प्रवद्र्धनसँग जोडिएको आयोजकको भनाइ छ ।
आयोजकका अनुसार महोत्सवले थारू समुदायको मौलिक सांस्कृतिक पहिचानको संरक्षण, स्थानीय कलाकारको प्रतिभा उजागर तथा नयाँ पुस्तामा भाषा, संस्कृति र परम्पराप्रतिको आकर्षण बढाउन महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
१५ °C काठमाडौं
Facebook Comments