• २८ असोज २०८३, बुधवार
  • १५ °C काठमाडौं
सामान्य जीवनको असाधारण सौन्दर्य 

मुकुन्द अर्याल, २७ असोज, बर्दिया । हुन त को कति खुसी छ अरुले भनिदिन वा भन्न सक्ने कुरा होइन । कोहि ईच्च दाच  देखाएर हासिदियो भन्दैमा ऊ खुसी छ भन्ने मापदण्ड पनि होइन । उ स्वयमले के अनुभुति गरेको छ भन्ने कुरा नै प्रमुख हो । अरु सबै अनुमानकै बिषय हुन । 

‎हो को कति धनी छ भन्नेकुरा चाहिँ सायद भन्न सकिन्छ । किनकी यसका मापन योग्य सुचकहरु छन । बिश्वमा को कति धनी छ भन्ने कुराको त सुचि नै जारी गरिन्छन । बिलिनियर , मिलिनियर , पहिलो , दोश्रो क्रमशः । सायद जीवन पद्धतिबाट अनुमान गर्न सकिन्छ/भन्न सकिन्छ । धनी हुनुले क्वालिटी अफ लाइफ निर्धारण गर्दछ भनिन्छ । तर क्वालिटी अफ लाईफ केलाई भन्ने हो ? स्पष्ट चाहिँ छैन । आ–आफ्नै मान्यताहरु छन । 

‎एउटा अन्तरबार्तामा बिनोद चौधरी भन्दै थिए, म बिलिनियर हुने रेसमा छैन ।  बिलिनियरका आफ्नै जेट हुन्छन , बिश्वका प्रसिद्द शहरमा बस्दछन । आफ्नै क्वालिटी अफ लाइफ हुन्छन । तर म त्यो लाइनमा छैन । म त पछाडि फर्के । गाउँ पसे । तेस्तो घरमा बसे जुन घरमा एट्याच्ड टोइलेट पनि छैन तर मलाई यसमा धेरै आनन्द र खुसी महसुस हुन्छ । म मानिसको बिचमा छु । मानिस आउछन , अन्तरकृया हुन्छन । आनन्द लाग्छ । म साथीहरुका प्राइभेट जेट पनि चढेको छु तर मलाई ती जेट चढ्नु भन्दा कम आनन्द बुद्ध एयर चढ्दा आउदैन । उनले आफैलाई ढाटेको भए त थाहा भएन यदि नढाटेको भए उनका यी भनाइले धेरै कुरा प्रस्तुत गर्दछन । उनी भन्छन पैसा साध्य हुन सक्दैन । हुनत फेरि कतिपयले भन्छन , यो भन्ने हुन पनि पैसा कमाउनु पर्दछ । तर उनको भनाइको सार मलाई के लाग्छ भने आनन्द र खुसी पैसाले दिन सक्दैन ।

‎भारतीय बिलिनियर रतन टाटा जसको मृत्यु  इअत ९ , २०२४ मा भयो उनको सम्पुर्ण जीवन पद्धतिले त्यही देखाउछ । उनी भन्थे सामाजिक काममा भन्दा बढी आनन्द उनलाई जिवनमा  अन्त कहि कतै लागेन। ‎शिवपुरी बाबा भन्नुहुन्थ्यो æकि बकिङ्गम रोयल प्यालेस र रानी भिक्टोरियाको मेजमानी  कि त बुढानिलकण्ठ मास्तिर शिबपुरिको घनघोर बिशाल अनकन्टार जङ्गल । यी बाहेक अन्त कतै बस्नु बेकार । दुःखद । उहाँ अन्त्यमा शिवपुरी मै बस्नु भयो । 

‎सन्सारकै धनी ब्यक्ति एलन मस्ककि श्रीमती जस्टिन वील्सनले सन २००८ मा मस्कसङ्ग सम्बन्धविच्छेद गरेकी थिइन् । उनकी ट्रान्सजेन्डर छोरी जेभियर अलेक्जेन्डर मस्कले आफ्नो नाम फेर्न अदालतमा निवेदन समेत दिइन । जसमा उनले आफू पितासँग बस्न नचाहेको उल्लेख गरेकी छन् । साथै, कुनै पनि तरिकाले अब एलनसँग सम्बन्धित हुन नचाहने उल्लेख गरेकी छन् अर्थात बाबुसङ्ग उनी कुनै पनि बहानामा जोडिन चाहिनन। ‎एउटा सन्सारकै धनी मानिससङ्ग उसकी छोरी बस्न चाहान्न यतिसम्म कि नाम समेत जोड्न चाहान्न । पिडा त पक्कै होला एलन मस्क साहेबलाई । खुसी दिने पैसोले होइन रहेछ ।
‎
‎हामीले कहिलेकाहीँ खुसीलाई भविष्यको कुनै निश्चित उपलब्धिसँग बाधेर हेर्छौ । अझ केही पैसा कमाउन सकियो भने , अझ राम्रो पद पाउन सकियो भने , छोराछोरी स्थापित गर्न सकियो भने  र  समाजमा आफ्नो नाम चलाउन सकियो भने जीवन सफल र खुसी  हुनेछ। यी लक्ष्यहरू महत्त्वपूर्ण हुन सक्छन् तर जीवनको सम्पूर्ण अर्थलाई भविष्यको प्रतीक्षामा राखिरहदा  वर्तमान त केवल तयारीमा बित्न सक्छ। एउटा लक्ष्य पूरा भएपछि अर्को लक्ष्य आउँछ। कहिलै सकिँदैन त्यो यात्रा ।  जीवनलाई अर्थपूर्ण बनाउन सबै लक्ष्य पूरा हुनैपर्छ भन्ने मान्यताले जीवन न सफल हुन्छ । न आनन्द मिल्छ । न त खुसी नै । 
‎
‎यसको मतलब जे जस्तो भएपनि सन्तोष गर्नु पर्छ र सबै कुरालाई नियती सम्झेर स्वीकार्नु पर्छ भन्न खोजिएको अबस्यै होइन । सन्तोष भनेको अन्याय सहनु, अभावलाई  नियति मान्नु वा आफ्नो अवस्था सुधार गर्ने प्रयास छोड्नु भनेको चाहिँ होइन ।  मानिसले राम्रो शिक्षा, स्वास्थ्य, सम्मान, आर्थिक सुरक्षा र अवसर पक्कै पनि खोज्नु पर्छ । आफ्नो अवस्था सुधार्ने चाहना राख्नु र आफूलाई सदैब अपूरो ठान्नुबीच फरक छ। पहिलो बिचार या सोचले  मानिसलाई अघि बढ्न प्रेरित सक्छ तर दोस्रोले उपलब्धि हासिल गरेपछि पनि उसलाई सदैब असन्तुष्ट राख्छ । एक मृगतृष्णा जस्तै ।

सायद असल जीवनको अर्थ आफूले चाहेको सबै कुरा प्राप्त गर्नुमा मात्र रहेनछ । आफूले प्राप्त गरेको कुराको मूल्य बुझ्न सक्नुमा पनि रहेछ। अरूभन्दा ठूलो बन्ने दौडमा आफूलाई हराउनुको सट्टा आफ्नो जीवनलाई आफ्नै आवश्यकताअनुसार व्यवस्थित गर्न सक्नुमा रहेछ । मानिसले प्रगति गर्नुपर्छ, तर प्रगतिको नाममा जीवन बाँच्नै बिर्सेर कहाँ हुन्छ र ?  सम्पत्ति बढाउनु राम्रो हो, तर त्यससँगै चाहना मात्र बढ्दै गए भने सम्पन्नताको अनुभूति कहिल्यै नआउन सक्छ । आफ्नो जीवन बाँच्नुभन्दा छिमेकीकोभन्दा ठूलो घर  र उसको भन्दा राम्रो-?

जीवन बाँच्न खोज्ने लालसाले नै  मानिस पैसालाई मृगतृष्णा रुपी बाटोमा दौडाउने न हो । त्यो कहिले भेटिने छैन जसलाई हामी खोजिरहेका छौ । पैसा मानिसको आवश्यकता पूरा गर्ने माध्यम न हो आफैँमा जीवनको अन्तिम लक्ष्य हुदै होइन। पैसाले खाना, घर, गाडी र सुविधाहरू किन्न सकिएला  तर जब मानिसले पैसालाई  साधनबाट उद्देश्य बनाउन थल्छ अनि जिवनको वास्तविक सौन्दर्य हराउन थाल्छ ।
‎
‎आज हामी जसलाई करोडपति,अर्बपति वा अत्यन्त धनी मानिस भन्छौँ उनीहरूमध्ये कसैको मानसिक अवस्था  अभावमा बाँचेको मानिसको जस्तै हुन सक्छ। सद्गुरुले त  अर्बपतिहरूलाई  मानसिकताका हिसाबले भिखारी भन्न मिल्ने तीखो व्यङ्ग्य गर्छन। यद्यपि उनीहरू आर्थिक रूपमा गरिब छन् भन्ने होइन। बरु जति सम्पत्ति भए पनि अझै कति कमाउने, कहाँबाट अझ पैसा जुटाउने र आफूभन्दा धनी मानिसलाई कसरी उछिन्ने भन्ने अतृप्त चाहनामा बाँचेको मनलाई सद्गुरुले भिखारीको मानसिकतासँग तुलना गरेका हुन्। खल्तीमा करोडौँ हुनु र मनमा पर्याप्तताको अनुभूति हुनु एउटै कुरा होइन। 
‎
‎जीवनको वास्तविक सौन्दर्य त आफूलाई अरूभन्दा विशेष बनाउनुमा  नभई अझ स्वाभाविक र सहज बनाउनुमा छ । मानिसले आफूलाई विशेष देखाउने प्रयासमा जिवनमा  अनावश्यक जटिलता सिर्जना गरिरहेको छ । सामान्य हुनुको अर्थ क्षमता नभएको मानिस हुनु होइन। आफ्नो सम्भावना प्रयोग नगर्नु पनि होइन। यसको अर्थ त बरु आफ्नालागि अरूको प्रशंसा प्राप्त गर्नकै लागि आफ्नो जीवन बन्धक नराख्नु हो । सामान्य जीवन असाधारण हुन सक्छ। परिवारसँग बिताएको समय, आफ्नो कामप्रतिको इमानदारी, साथीभाइसँगको आत्मीयता, आफूले पाएको जिम्मेवारी पूरा गर्दाको सन्तोष र अन्त्यमा मन शान्त राख्न सक्ने अवस्था बाहिरबाट हेर्दा  ठूला उपलब्धिजस्ता नदेखिन सक्छन् तर  जीवनमा ती सबैको मूल्य कम हुँदैन। ठूलो र महँगो घर नभएकै कारणले आत्मीय परिवारको महत्त्व कहाँ घट्छ र ?  धेरै मानिसले नचिनेकै  कारण कसैको जीवन अर्थहीन कहाँ हुन्छ र ? 
‎
‎असल जीवनको अर्थ आफूले चाहेको सबै कुरा प्राप्त गर्नुमा मात्र छैन। आफूले प्राप्त गरेको कुराको मूल्य बुझ्न सक्नुमा पनि छ। अरूभन्दा ठूलो बन्ने दौडमा आफूलाई हराउनुको सट्टा आफ्नो जीवनलाई आफ्नै आवश्यकताअनुसार व्यवस्थित गर्न सक्नुमा छ। मानिसले प्रगति गर्नुपर्छ, तर प्रगतिको नाममा जीवन बाँच्न बिर्सनु हुँदैन। सम्पत्ति बढाउनु राम्रो हो तर त्यससँगै चाहना मात्र बढ्दै गए भने त्यसले सम्पन्नताको अनुभूति कहिल्यै दिन सक्दैन । असल जीवनको अर्थ आफूले चाहेका  सबै कुरा प्राप्त गर्नुमा मात्र छैन। आफूले प्राप्त गरेको कुराको मूल्य बुझ्न सक्नुमा पनि छ।

अरूभन्दा ठूलो बन्ने दौडमा आफूलाई हराउनुको सट्टा आफ्नो जीवनलाई व्यवस्थित गर्न सक्नुमा छ। मानिसले प्रगति गर्नुपर्छ तर प्रगतिको नाममा जीवन बाँच्नै बिर्सेर कहाँ हुन्छ र ? जीवनलाई असल बनाउन सधैँ असाधारण बन्नुपर्दैन। कहिलेकाहीँ आफूलाई विशेष प्रमाणित गरिरहनुपर्ने बाध्यताबाट मुक्त भएर सामान्य जीवनलाई पूर्ण रूपमा बाँच्नु नै असाधारण उपलब्धि हुन सक्छ। सामान्य जिवनको असाधारण सौन्दर्य बोध जिवन जिउने कला हो ।

सम्बन्धित समाचार

Facebook Comments