• २२ असोज २०८३, बिहिवार
  • १६ °C काठमाडौं
सम्बन्धको मौन सत्य !

मुकुन्द अर्यालय, २१ असोज, बर्दिया । मानिसको (पद, स्थिति, हैसियत) सदैब एउटै कहाँ रहन्छ र ? ऊ जन्मँदै कुनैन कुनै स्थिती लिएर जन्मिन्छ । जन्मदा ऊ आफूमात्र हुँदैन। जन्मसँगै ऊ कसैको सन्तान हुन्छ। कसैको भाइ हुन्छ। कसैको दाइ हुन्छ। पछि साथी बन्छ। कसैको जीवनसाथी बन्छ। कसैको सहकर्मी। कसैको भरोसा। यसरी एउटा मानिसको जीवन असंख्य मानिससँग जोडिँदै जान्छ। तीमध्ये केही सम्बन्ध जन्मले दिन्छ। केही समयले बनाउँछ। केही परिस्थिति आफैँले ल्याउँछ र  केही सम्बन्ध हामी आफैँ रोज्छौँ। सम्बन्ध यहि त हो  सामान्य बुझाईमा । 
‎
‎Status समाजमा व्यक्तिले पाउने सामाजिक स्थान वा हैसियत हो । यसका  मुख्यतः दुई रूप हुन्छन् -  प्रदत्त  (Ascribed Status) र अर्जित स्थिति (Achieved Status)। जन्म, जात, लिङ्ग, उमेर, परिवार तथा सामाजिक पृष्ठभूमिका आधारमा प्राप्त हुने स्थान प्रदत्त स्थिती  हो ।  शिक्षा, क्षमता, प्रयास, पेशा, उपलब्धि र व्यक्तिगत छनोटबाट प्राप्त हुने स्थिति आर्जित स्थिती हो। स्थिती  केवल व्यक्तिको परिचय मात्र होइन, मानिस–मानिसबीचको सम्बन्ध निर्माण र त्यसको स्वरूप निर्धारण गर्ने प्रारम्भिक आधार पनि हो। हामी कसलाई कसरी हेर्छौं, कति सम्मान गर्छौं, कति नजिक हुन्छौं वा कसैसँग कस्तो व्यवहार गर्छौं भन्ने कुरामा उसको सामाजिक स्थितिले  प्रभाव पार्छ। त्यसैले सम्बन्धको सुरुआत केवल भावना वा आत्मीयताबाट मात्र हुँदैन, धेरैपटक व्यक्तिले बोकेको सामाजिक स्थितिले सम्बन्ध निर्माणको पहिलो आधार तय गर्दछ ।
‎
‎तर के केवल नाता हुनु सम्बन्ध मात्र हो? के सँगै बस्नु मात्र सम्बन्ध हो? के नियमित भेटघाट हुनु मात्र सम्बन्ध हो?  कि सम्बन्ध भनेको  दुई मानिसबीच यस्तो अदृश्य भावनात्मक डोरी बन्नु हो जसले एकअर्काको सुखमा खुसी र दुःखमा पीडा साझा गर्दछ । सम्बन्धको वास्तविक अर्थ यही अन्तिम प्रश्नमा भेटिन्छ। सम्बन्ध बाहिर देखिने नाता मात्र होइन। यो त  मानिसको मनमा अर्को मानिसले बनाएको स्थान हो। त्यसैले एउटै घरमा बस्ने मानिसबीच पनि सम्बन्ध नहुन सक्छ।

अनि वर्षौँ भेट नभएका दुई मानिसबीच पनि गहिरो सम्बन्ध रहन सक्छ । कहिलेकाहीँ एउटा सामान्य भेटले सम्बन्धको सुरुवात गर्छ। एउटै विचारले मानिसलाई नजिक ल्याउँछ। एउटै दुःखले मन जोड्छ। एउटै उद्देश्यले सहयात्री बनाउँछ। कसैको व्यवहार मन पर्छ। कसैको विचारले प्रभावित गर्छ। कसैको कठिन समयमा दिएको साथ जीवनभरको सम्बन्ध बन्छ। कतिपय सम्बन्ध प्रेमले बनेका हुन्छन् । कतिपय विश्वासले । कतिपय आवश्यकताले। कतिपय स्वार्थले। कतिपय सम्मानले। कतिपय डरले। कतिपय शक्ति र पहुँचले। तेसैले पनि  मानिसको जीवनमा सम्बन्ध धेरै हुदैमा  ती सबैको गहिराइ एउटै हुन्छ भन्ने हुदैन ।
‎
‎अरस्तुले मित्रतालाई उपयोगिता, आनन्द र सद्गुणका आधारमा हेरेका छन्। उपयोगिताबाट बनेको सम्बन्धमा अर्को व्यक्तिबाट प्राप्त हुने लाभ महत्वपूर्ण हुन्छ। आनन्दमा आधारित सम्बन्धमा साथबाट प्राप्त हुने सुख महत्वपूर्ण हुन्छ। तर सद्गुणमा आधारित मित्रतामा अर्को व्यक्तिलाई उसको आफ्नै जस्तै  गुणका कारण नजिक बनाउछ । यही कुरा हाम्रो वरिपरि पनि देखिन्छ। पदमा हुँदा धेरै मानिस नजिक हुन्छन्। पद गएपछि त्यही घेरा सानो हुन्छ। पैसा हुँदा सम्बन्धको दायरा ठूलो देखिन्छ। आर्थिक अवस्था कमजोर भएपछि धेरै सम्बन्ध हराउँछन्। शक्ति हुँदा प्रशंसा गर्नेहरू शक्ति गुमेपछि अर्को शक्तिशाली मानिसतिर लाग्छन्। स्वार्थ पूरा भएपछि समाप्त हुने सम्बन्धका उदाहरण जीवनमा धेरै देखिन्छन । व्यापारमा साझेदारी लाभ रहुन्जेल टिक्न सक्छ। राजनीतिक सहकार्य सत्ता समीकरण रहुन्जेल टिक्न सक्छ। पद र पहुँचमा आधारित सम्बन्ध पदसँगै हराउन सक्छ। व्यक्तिगत जीवनमा पनि यस्तै हुन्छ ।

कसैबाट काम थियो, काम पूरा भयो, सम्बन्धको आवश्यकता पनि सकियो । यहाँनिर सम्बन्धको आधार मानिस होइन। उपयोगिता हो। तर उपयोगिता हुनु आफैँमा गलत होइन। मानिस सामाजिक प्राणी हो। उसलाई अरूको सहयोग चाहिन्छ। अरूलाई पनि उसको सहयोग चाहिन्छ। पारस्परिक आवश्यकता जीवनको स्वाभाविक पक्ष हो। समस्या त्यहाँ सुरु हुन्छ, जहाँ मानिसको मूल्य उसको उपयोगिताले मात्र निर्धारण गर्न थाल्छ। ‎यदि उपयोगितालेमात्र  सम्बन्धको आधार निर्धारण गर्छ भने सम्बन्ध टिक्दैन। किनकि आवश्यकता बदलिन्छ। लाभ बदलिन्छ। परिस्थिति बदलिन्छ।

मानिसको हैसियत बदलिन्छ। ‎सम्बन्धको कमजोरी यहिनेर छ। लाभ समाप्त भएपछि त्यस्तो मित्रताको कारण पनि समाप्त हुन्छ तर  यसको ठिक विपरीत सद्गुणमा आधारित सम्बन्ध त्यसरी समाप्त हुदैन । ‎कृष्ण र सुदामाको कथा यसै सन्दर्भमा सम्झन सकिन्छ। उनीहरू बाल्यकालका साथी थिए। समयले दुवैको जीवन फरक बनायो। कृष्ण शक्तिशाली शासक बने। सुदामा अभावमा बाँचे। तर भेट हुँदा कृष्णले सुदामाको आर्थिक अवस्था हेरेनन्। पुरानो मित्रता सम्झिए। सम्मान दिए। आत्मीयता देखाए। समयले मानिसको अवस्था बदल्यो। तर सम्बन्धको आधार बदलिएन। ‎सम्बन्धको अर्को सुन्दर रूप रामायणमा देखिन्छ ।

‎त्यहाँ राज्य एउटा पक्षमा थियो। भ्रातृत्व अर्को पक्षमा। परिस्थितिले भरतलाई सिंहासनको नजिक पुर्‍याएको थियो तर भरतले राज्यलाई आफ्नो उपलब्धि मानेनन्। उनले रामलाई नै त्यसको स्वाभाविक अधिकारी माने। रामले पनि भरतको मनमा राज्यको लोभ देखेनन्। उनीहरूबीचको सम्बन्ध अधिकारभन्दा माथि थियो। राज्यभन्दा माथि थियो। 
‎राम/लक्ष्मणको सम्बन्ध अझ फरक छ। लक्ष्मणले सुख/सुविधा छोडेर रामसँग वन जाने निर्णय गर्छन्। सम्बन्ध यहाँ केवल भावना होइन। सहयात्रा हो। दुःखमा साथ दिने निर्णय हो। सुखमा साथ दिन सजिलो हुन्छ। दुःखमा साथ दिन सम्बन्धको गहिराइ देखिन्छ।

‎राम र हनुमानको सम्बन्धमा सेवा र समर्पणको पक्ष देखिन्छ। हनुमानले रामप्रतिको आफ्नो निष्ठालाई कर्ममा देखाए। सीताको खोजीदेखि लङ्कासम्मको यात्रामा उनले सम्बन्धलाई व्यवहारमा उतारे। रामले पनि हनुमानलाई केवल काम गर्ने व्यक्तिका रूपमा होइन, आत्मीय र सम्मानयोग्य व्यक्तिका रूपमा स्वीकार गरे। 

‎तर राम/सुग्रीवको सम्बन्धले सम्बन्धको अर्को यथार्थ देखाउँछ। दुवैलाई एकअर्काको आवश्यकता थियो। रामलाई सीताको खोजीका लागि सहयोग चाहिएको थियो। सुग्रीवलाई आफ्नो राज्य फिर्ता लिन रामको सहयोग चाहिएको थियो। यही आवश्यकताबाट मित्रता सुरु भयो। तर त्यो केवल लेनदेनमा सीमित रहेन। अग्निलाई साक्षी राखेर मित्रताको प्रतिज्ञा भयो। आवश्यकता सम्बन्धको सुरुवात हुन सक्छ। तर त्यसमा विश्वास र निष्ठा थपिएपछि त्यो सम्बन्धको रूप बदलिन्छ। 

‎यसबाट एउटा कुरा बुझिन्छ- आवश्यकताबाट सुरु भएको सम्बन्ध पनि आत्मीय हुन सक्छ। संयोगबाट बनेको सम्बन्ध पनि जीवनभर टिक्न सक्छ  तर  प्रेमबाट सुरु भएको सम्बन्ध जब  स्वार्थ र अहंकारमा प्रवेश गर्छ, सन्बन्ध टुट्छ । ‎मानिस बदलिन्छ। परिस्थिति बदलिन्छ। प्राथमिकता बदलिन्छ। अपेक्षा बदलिन्छ। कहिलेकाहीँ शक्ति सन्तुलन बदलिन्छ। एउटाको उन्नति अर्कोको असुरक्षाको कारण बन्न सक्छ। एउटाको सफलता अर्कोको अहंकारमा चोट बन्न सक्छ। तुलना सुरु भएपछि आत्मीयतामा प्रतिस्पर्धा आउँछ। प्रतिस्पर्धा आएपछि सम्बन्धको स्वरूप बदलिन्छ ।
‎
‎प्रेममा पनि यस्तै हो । प्रेमले मानिसलाई नजिक ल्याउँछ। मोहले मानिसलाई बाँध्न खोज्छ। प्रेमले अर्कोको सुख चाहन्छ। मोहले अर्कोले आफूलाई सुख दिओस् भन्ने चाहन्छ। प्रेममा अर्को मानिसको स्वतन्त्रता स्वीकार हुन्छ। मोहमा उसको स्वतन्त्रता पनि आफ्नो इच्छाअनुसार हुनुपर्छ भन्ने आग्रह आउँछ।
‎
‎“कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
‎मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि॥”
‎
‎सम्बन्धमा यसको गहिरो अर्थ लाग्छ। प्रेम गर। साथ देऊ। आफ्नो कर्तव्य पूरा गर। तर त्यसको बदलामा आफूले चाहेको व्यवहार नै पाउनुपर्छ भन्ने हिसाब नराख। मैले माया गरेँ, उसले पनि गर्नुपर्छ। मैले सहयोग गरेँ, उसले पनि गर्नुपर्छ। मैले सम्मान गरेँ, उसले पनि सम्मान गर्नैपर्छ। यस्तो हिसाब बढ्दै गएपछि सम्बन्ध बिस्तारै प्रेमबाट लेनदेनमा बदलिन्छ। ‎त्यसैले साँचो सम्बन्धमा कर्तव्य हुन्छ। कारोबार हुँदैन।
‎
‎कृष्ण र अर्जुनको सम्बन्धले पनि सम्बन्धको वबास्तबिक रूप कस्तो हुनुपर्छ भन्ने देखाउँछ। उनीहरू साथी थिए। तर कुरुक्षेत्रमा कृष्ण गुरु बने। अर्जुनले कृष्णको विराट स्वरूप देखेपछि पहिले साथीका रूपमा गरेका अनौपचारिक व्यवहार सम्झिएर क्षमा मागे। सम्बन्धको रूप बदलियो। तर उनिहरुको आत्मीयता हराएन। 
‎
‎यसले एउटा महत्वपूर्ण कुरा देखाउँछ। सम्बन्धमा भूमिका बदलिन सक्छ। परिस्थिति बदलिन सक्छ। दूरी आउन सक्छ। तर आत्मीयता साँचो छ भने त्यसको आधार केवल परिस्थितिमा निर्भर  हुँदैन। सम्बन्धको मूल्य त्यसले हामीलाई कति प्राप्ति गरायो भन्नेमा मात्र हुँदैन, त्यसले हामीलाई कति मानवीय बनायो भन्नेमा हुन्छ।
‎साँचो सम्बन्धले मानिसलाई बाँध्दैन। अझ स्वतन्त्र बनाउँछ। त्यसमा प्रेम हुन्छ। स्वामित्व हुँदैन। आत्मीयता हुन्छ। हिसाब हुँदैन। साथ हुन्छ। परनिर्भरता हुँदैन। सम्मान हुन्छ।  नियन्त्रण हुँदैन। मानिससँग जोडिनु आवश्यक छ। मानिसमा हराउनु आवश्यक छैन। प्रेम आवश्यक छ। प्रेमको नाममा स्वामित्व आवश्यक छैन। साथ आवश्यक छ। आफ्नो अस्तित्व अरूको उपस्थितिमा मात्र अड्याउनु आवश्यक छैन।
‎
‎सम्बन्ध टिकाउने कुरा अरूलाई आफूअनुकूल बनाउनु होइन बरु आफूले सम्बन्धलाई कसरी हेरिन्छ भन्ने हो। पद, पैसा र शक्तिले मानिसको हैसियत बदल्न सक्छ  तर जब यहिकुरा सम्बन्धको मापदण्ड बन्न थाल्छ दूरी बढ्दै जान्छ । आशक्ति पनि त्यस्तै हो। कसैलाई आफ्नो इच्छा, सुविधा वा अपेक्षाअनुसार बाँध्न खोज्दा सम्बन्धमा सहजता हराउँछ। आध्यात्मिक दृष्टिले सम्बन्धमा सबैभन्दा ठूलो कुरा स्वामित्व होइन, सम्मान हो। अपेक्षा घटाउन सकियो भने गुनासो घट्छ। अहंकारलाई अलि पर राख्न सकियो भने दूरी घट्छ। फरकपनलाई स्वीकार गर्दै एकअर्काको अस्तित्व र स्वतन्त्रताको सम्मान गर्न सकियो भने सम्बन्ध सहज बन्छ । दिगो सम्बन्धको सरल सत्य भनेको सम्बन्ध जोगाउन सधैँ अर्को मानिस बदलिनु पर्छ भन्ने होइन ; आफुसङ्ग रहेको अहंकार र आशक्ति घटाउनुपर्छ।

सम्बन्धित समाचार

Facebook Comments