• २७ मंसिर २०८१, बिहिवार
  • ५ °C काठमाडौं
सदरमुकामकै मुटुमा रहेको गुलरिया बजारक्षेत्र सफा राखौं : ६ नम्बर वडाध्यक्ष शुधांसु शर्मा

बर्दिया, ९ फागुन । चुरेकुञ्जले जनताको प्रश्न, जनप्रतिनिधिको जवाफ अभियान शुरु गरेको छ । संघीय, प्रदेश तथा स्थानिय सरकारमा जनताको मत जितेर गएका प्रतिनिधिहरुले निर्वाचनमा गरेका वाचा, अहिले सम्म गरेका गतिविधि विकासको चुनौती एवम् आगामी कार्ययोजना जनता सामु छर्लङग पार्ने संचारकर्मको दायित्व सुशासनको धर्म अनुरुप सबै जन प्रतिनिधिहरुलाई एकै प्रश्न मार्फत अभियानमा जोड्ने प्रयास गरेका छौं । प्रस्तुत छ चुरेकुञ्जकर्मी प्रमिला चौधरीको सहयोगमा तयार पारिएको गुलरिया नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शुधांसु प्रकाश शर्मासँग पत्रकार यादव आचार्यले गरेको कुराकानीको सार अंश :

भोट माग्न जाँदा तपाईले जनतासँग गरेका बाचा के थिए ?

डेढ बर्ष अगाडी चुनावको दौडानमा निश्चित रुपमा जनतासँग भोट माग्न जानुपर्ने थियो र गयौ पनि तर भोट माग्ने क्रममा जनतासँग ठूलो बाचा गरेनौं । तर जनतासँग मैले गरेको एउटा प्रमुख बाचा चाही स्थानियको निकायको वडा सम्बन्धी संरचनालाई ट्राक वाईज लिएर आउँछु एउटा गन्तब्यको बाटोमा हाल्छु त्यो तपाईहरुले देख्नु हुनेछ भन्ने बाचा गरेको हुँ । जस अनुरुप मैले आफ्नो वार्डमा टोल विकास संस्थाहरुलाई सवल बनाएर गठन गरे । 

निर्वाचन जितेर आएपछि केके काम गर्नुभयो त ?

निर्वाचन जितेर आईसकेपछि मैले जनतालाई गरेको बाचा अनुसार टोल विकास समितिको गठन गरेर टोल विकास समितिलाई सबल बनाएको छु । स्थानिय निकायको मूलभुत काम कर्तब्य भनेको जनतालाई प्राथमिक सेवा दिनु हो । जस अन्र्तगत मैले सडक बत्तीहरुलाई ब्यवस्थित बनाएको छु, खानेपानी नपुगेका ठाउँहरुमा खानेपानी पुर्याउने प्रयास गरेको छु । बार्षामा पानीको निकास रोकिएको बाटोघाटोका नालीहरु ब्यवस्थित गरेका छौं । आवस्यक र चलनचल्तीको ठाउँमा ब्यवस्थित सडक बनाईएका छन् । शिक्षाको निरन्तर अनुगमन गरी वडामा रहेको बगलामुखी स्कूलको शिक्षालाई गन्तब्यमा पुर्याउने कामहरु भएका छन् । जसअन्र्तगत कोचिङ क्लास लगायतका शिक्षण प्रयास भएका छन् । बालवालिकालाई मध्यनजर गरेर वगलामुखी स्कूलमा संचालित बालशिक्षालाई मन्टेशरीको लेवलमा लैजाने प्रयास स्वरुप बजेट हालेको छु । 

वडामा कामगर्दा मुख्य चुनौती के पाउनु भो ?

वडा नम्बर ६ बर्दियाको सदरमुकाम गुलरिया बजार भित्रको वार्ड हो । जसमा जन घनत्व धेरै छ । वडाको क्षेत्रफल सानो भएपनि मिश्रित जातजातीको समाज छ । मुस्लिम, गोडिया, लोेनिया, पहाडी समुदायका मानिसहरुको बसोवास हाम्रो वडामा छ । मैले भोगेको मुख्य समस्या भनेको एउटा सरसफाई सम्बन्धी समस्या प्रमुख हो । त्यसपछि बालवालिकालाई स्कूल नपठाउने पनि अर्को समस्या हो । पढ्दा पढ्दै विद्यालय छाड्ने अर्को समस्या हो । वडा वडावासीसँग अनुरोध पनि गर्छु कृपया सदरमुकामको मुटुमै रहेको वडा भएकाले आफ्नो घर। आँगन, सडक लगायत बजार क्षेत्र सफा राख्न सबैले सहयोग गर्दिनुस् । अनि आफ्ना बालवालिकालाई विद्यालय पठाउन सहयोग गर्दिनुस् ।

जनचाहाना अनुसार काम गरे जस्तो लाग्छ त ?

दुईटा कुरा हुन्छ । एउटा जनताको हक अधिकारको विषयमा जागरुक गराई उनीहरुले पाउने सेवा सुविधा उनीहरुले पाउनु पर्छ । अर्को काम गर्नको लागि प्रशस्त बजेट प्रमुख आवस्यकता हो । बजेट वडामा एकदमै न्यून छ । बजेटका कारण एकैपटक सबै काम गर्न नसकेतापनि राज्यले तोकेका मापदण्डहरुलाई पूर्णता दिनका निम्ति वडाले त्यही अनुरुपको बजेट विनियोजन पनि गरेको छ । जनताका अपेक्षा धेरै छन् । न्युन बजेटका कारण धेरै काम पूरा गर्न नसक्दा दुःखी छु । वार्डको विकाससँगै राज्यले तोकेको समग्र विकासलाई मध्यनजर गरी वार्डले काम गरीरहेको छ । 

तपाईका जनतासँग आगामी प्रतिवद्धता केके हुन् ?

कार्यकाल अझै बाँकी नै छ । स्थानिय निकायले जनतालाई दिनुपर्ने जुन मूलभुत सेवा सुविधा जस्तै सडक, पानी, विजुलीको सुनिश्चितता, विद्यालयको स्तरियता स्वास्थ्य सम्बन्धी सुविधाहरु जुन आधारभुत रुपमा वडा स्तरमा हुन्छन् तिनिहरुलाई सबल बनाउँदै लिएर जाने मेरो प्रतिवद्धता छ । समग्रमा भन्नुहुन्छ भने नेपाल सरकारले आफूलाई तोकेको जुन मापदण्ड छ त्यसलाई छुनेगरी त्यसैको गोरेटो बाटोमा हिड्ने आगामी यात्रा यो वार्डको लागि मेरो नेतृत्वबाट हुन्छ । धन्यवाद ।

सम्बन्धित समाचार

Facebook Comments