• २ फागुन २०८२, शनिवार
  • ११ °C काठमाडौं
हेर्दाहेर्दै ... 

मुकुुन्द अर्याल, १ माघ, बर्दिया । गतसाल हो म युके पुगेको यस्तै दश दिन जति भएको थियो होला । दाईको ड्राइभिङ्ग लाइसेन्सको समय सकिन पन्ध्र दिन बाँकी रहेछ । दाईले सम्बन्धित निकायलाई इमेल लेख्नुभयो । अटोरिप्लाई हो या के हो मलाई थाहा भएन तर आधा घण्टा भित्र जवाफ आयो । “तपाइको लाइसेन्स को कपी, रिसेन्ट फोटो र डिजिटल हस्ताक्षर पठाउनुहोस अनि तोकिएको खातामा राजस्व दाखिला गर्नुहोस“ । तुरुन्तै उहाले सबै काम गर्नु भयो । तिन दिन भित्र हुलाक मार्फत लाइसेन्स घरमा आयो । तेसैदिन अर्को इमेल आयो, लेखिएको थियो “तपाइलाई अफ्ठारो हुदैन भने पुरानो लाइसेन्स पठाइदिनुहोला“ उहाँले हुलाक मार्फत नै पुरानो लाइसेन्स पठाउनु भयो । काम तमाम ।

एक दिन घरमा हामी बुढा–बुढी मात्र थियौ । घरका सबै आ–आफ्नो डिउटीमा जानु भएको थियो । डोरबेल बज्यो । ढोका खोले । चिट्ठी थियो । हेरे । ह्यारो काउन्सिलको रहेछ । दिदीको नाममा थियो । सायद घर उहाकै नाममा रहेछ । चिट्ठी ल्याएर टीभी कोठामा टेबल माथि राखे । हाम्रा तिरका हुलाक लगभग शून्य जस्तै छन तर त्यहाँ जवान नै रहेछन । अर्काको नामको पत्र, प्राइभेट कुराभो । खोल्न पनि भएन । तर खै खुल्दुली लाग्यो । चिट्ठी भन्दा पनि हुलाकको काम हेर्न पो मन लाग्यो । चिट्ठी काउन्सिलबाट आएको । एकदमै ब्यक्तिगत होला जस्तो लागेन । खोले । चिठीमा काउन्सिलबाट पारित गरिएको कार्यबिधी पो रहेछ । 

काउन्सिलले ह्यारो क्षेत्रमा रहेका घरहरुका तोकिएका पार्टहरु पुनःनिर्माण÷थप गर्न सक्ने सम्बन्धि रहेछ । कुरा के रहेछ भने पारित गरिएका सबै ऐन,नियम तथा कार्यबिधीहरु प्रत्येकको घरमा हुलाक मार्फत हार्डकपी नै पठाउदो रहेछ । फेरि एक दिन तेस्तै चिट्ठी आयो । चिट्ठीमा जानकारी थियो । काउन्सिलले त्यो क्षेत्रमा एउटा टावर बनाउने प्रस्ताब गरेको रहेछ । परियोजनाबारे बिस्तृत जानकारी दिदै हुन्छ या हुन्न को जवाफ कारण सहित पो मागेको रहेछ । पब्लिकको सुझाव बिना उनीहरुको प्रतिकुल हुनेगरी सायद ठुला निर्माणकार्य गरिंदा रहेनछन । एकदिन फेरि एउटा पत्र खोले । पत्रमा लेखिएको थियो, तपाइको “स्ट्रीट पार्किङ्ग क्षेत्रमा“ नियमित सडक स्तरोन्नति को कार्य हुदैछ । 

तसर्थ तोकिएको मितिमा पार्किङ्गको ब्यबस्था अन्यत्र गर्नुहोला । असजिलोको लागि क्षमा । लन्दनमा सबै घरहरुमा पार्किङ्गको ब्यबस्था सम्भब छैन । तसर्थ तोकिएको राजस्व तिरी तोकिएको समयमा स्ट्रीट पार्किङ्गको ब्यबस्था मिलाइएको हुँदो रहेछ । अचम्म्को कुरा त के भने तोकिएको मितिको अर्को दिन बिहान हेर्दा सडक पुरै मर्मत÷स्तरोन्नति भैसकेको थियो । हेर्दा र सुन्दा अत्यन्तै सामान्य लाग्ने तर सर्भिस डेलिभरीमा अत्यन्तै महत्व राख्ने यी कुराले मन चाहिँ छोयो । हेर्दा हेर्दै लाग्यो, सायद यस्तै कुराहरु पर्दछन, सु–शासन भित्र ।

सम्बन्धित समाचार

Facebook Comments