• २४ असोज २०८३, शनिवार
  • १४ °C काठमाडौं
एक कप चिया भित्रको मौनता 

मुकुन्द अर्याल, २३ असोज, बर्दिया । एक कप चिया नखाई जान कहाँ पाइन्छ? भनिरहदा उसले चियाकै लागि रोकेको कहाँ हो र  उ त केही बेर अझ सँगै बस्न खोजिरहेको हो । æधेरै भयो, एक कप चिया खान पनि नपाएको। आज खाऊँ न भन्दा पनि कुरा चियाको मात्र हुँदैन। धेरै दिनपछि भेटिएको मानिससँग केही कुरा गर्न मन लागेको पो हो । भेटलाई अलि लम्ब्याउन मन लागेको हो । छुट्टिन लागेको समयलाई केहीबेर रोक्न मन लागेको हो । चिया त  बहाना होÙअसली कुरा त आत्मियता हो , मानिस हो।
‎
‎हामीकहाँ आत्मीयता व्यक्त गर्ने आफ्नै भाषा छ चिया खाउ है  ?Æ एउटा सामान्य प्रश्नजस्तो लाग्छ तर यसभित्र एकछिन सङ्गै  बस्ने आग्रह हुन्छ। केहीबेर सँगै रहने इच्छा हुन्छ। कहिलेकाहीँ æतपाईंलाई सम्झिरहेको थिएँ भन्न सकिँदैन , तपाईंको याद  आयो भन्न पनि अप्ठ्यारो लाग्छ। त्यही कुरा æएक कप चिया खाऊँ न है ले भनिदिन्छ। चियाको कप सानो हुन्छ  तर कपको वरिपरि खुल्ने कुरा ठूलो हुन्छ । पुराना कुरा आउँछन्। स्मृती आउँछ। गुनासा खुल्छन्। आत्मियता खुल्छ । 
‎
‎साहित्यमा चिया यति गहिरोसँग पस्नुको कारण पनि यही मानवीय सम्बन्ध न हो । चिनियाँ कवि लु तोङको ीग त्यलन- सन् ७९०–८३५) प्रसिद्ध कबिता चियाका सात प्यालामा चिया केवल चियापत्ती, चिनी, दुध र पानीको मिश्रण मात्र भएर आउदैन । सात प्यालाको यात्रामा उनी शरीरको अनुभूतिबाट चेतनाको गहिराइसम्म पुग्छन्। चियाको पहिलो प्यालाले शरीरलाई छुन्छ। अर्कोले एकान्त तोड्छ। अनि क्रमशः चिया विचार र आत्मसंवादतिर पुग्छ। अन्तिम प्यालासम्म आइपुग्दा चिया एउटा पेयभन्दा धेरै माथि पुगिसकेको हुन्छ । चियामार्फत मानिसभित्रको अर्को संसार खुल्न सक्छ भन्ने अनुभूति त्यहाँ भेटिन्छ।
‎
‎बास्ताबमा चियासङ्ग त  कला, सौन्दर्य, सरलता, सद्भाव र आतिथ्यता जोडिएर आउँछ । चिया पिउने समय आफैँमा एउटा अनुभव बन्छ । पानी, आगो, भाँडा, फूल, मौनता र मानिसको आतिथ्य एउटै क्षणमा जोडिन्छन्। त्यसैले चिया त्यहाँ पिउने वस्तु मात्र होइन। सानो कुराभित्रबाट जीवनलाई हेर्ने एउटा तरिका पनि हो। हातमा  चिया आइपुग्दा अनमोल बनेर आउँछ । सम्पुर्ण जिवनको यथार्थ लिएर आउँछ ।  चिया कुनै ठूलो दर्शन बनेर आउँदैन। जीवनको सानो दृश्य बनेर आउँछ। वाली आसीको गजल–
‎
‎सिगरेटें चाय धुआँ रात गए तक बहसें
और कोई फूल सा आँचल कहीं नम होता है। 
‎
‎चिया केवल भेटघाट र आत्मीयताको प्रतीक मात्र होइन  कहिलेकाहीँ त  चियाको कपसँगै मानिसले आफ्ना दुःख लुकाइरहेको  हुन्छ। चिया आफैँमा कहाँ कथा हो र ?  कथा त ती मानिसहरू हुन्, जो चियाको वरिपरि बसेर समयलाई  लामो बनाइरहेका हुन्छन । उठ्नुपर्ने समय भइसकेको हुन्छ। तर कुरा सकिएको हुँदैन।  मानिसहरू भने केहीबेर अझै सँगै बस्न चाहिरहेका हुन्छन्।
‎
‎æचलो कुछ बात करते हैं, कहीं से चाय पीते हैंÆ भन्ने भाव पनि यही ठाउँमा अर्थपूर्ण हुन्छ। चिया पिउन जाने प्रस्ताव वास्तवमा कुरा गर्ने प्रस्ताव हो। दूरी केहीबेर घटाउने प्रस्ताव हो। भेटको अन्तर्य अर्कै हुन्छ चिया त मात्र बहाना न हो ।  चिया प्रेम, प्रतीक्षा, एकान्त र भेटसँग पनि जोडिन्छ। चिया शब्दभन्दा अगाडि आउँछ। चियाको कपले मौनतामै धेरै बताइरहेको हुन्छ । 
‎
‎चिया प्रेमको विषय मात्र होइन यो त  प्रेमको वातावण हो । चिया बिहानको सुरुवात बनेर आउँछ । जाडोमा हात तताउने न्यानोपन बनेर आउँछ। वर्षाको साँझमा साथ बनेर आउँछ । भेटको समय बनेर आउँछ ।  छुट्टिनुअघि केहीबेर अझै बस्ने बहाना बनेर आउँछ । चियाले  चियाको स्वादभन्दा त्यससँग जोडिएको क्षण समातेर आउँछ । अझ कविताले कपमा रहेको चियाभन्दा त्यसको वरिपरि बसेको मानिस देख्छ। गजलले चियाको तापभन्दा सम्बन्धको ताप खोज्छ। चिया चिनी,दूध,पत्ती र तापको मिश्रण मात्र कहाँ हो र ? 
‎
‎æचिया गफÆ हाम्रो समाजमा यति सहज गफ मात्र होइन । चिया आयो भने कुरा आउँछ। कुरा आयो भने मानिस खुल्छ। सामान्य चिया पसलमा बसेर सुरु भएको कुराकानी कहिलेकाहीँ जीवनका गहिरा प्रसङ्गसम्म पुग्छ। त्यहाँ राजनीति हुन्छ। समाज हुन्छ। व्यापार हुन्छ। गाउँ हुन्छ। विदेश हुन्छ। प्रेम हुन्छ। दुःख हुन्छ। हाँसो हुन्छ। कसैले आफ्नो अनुभव सुनाउँछ। अर्कोले सुन्छ। कसैले जीवनबाट एउटा उदाहरण निकाल्छ। चियाको कप सानो हुन्छ। त्यसको वरिपरि बसेको संसार ठूलो हुन्छ।
‎
‎चिया  घर , घरबाट चोक, चोकबाट बजार र बजारबाट अहिले  क्याफेसम्म आइपुगेको छ। कप फेरियो। ठाउँ फेरियो। चिया बनाउने तरिका फेरियो। जीवनशैली फेरियो। तर बसौँ न, चिया खाऊँ भन्ने भाव फेरिएन। ठाउँ फेरियो, समय फेरियो, मानिसको बोल्ने शैली फेरियो तर मानिसलाई मानिससँग केही समय बस्न मन लाग्ने कुरा उस्तै रह्यो।
‎
‎चिया परिबर्तन, क्रान्ती र असन्तोष प्रस्तुतीको ट्रीगर पोइन्ट पनि हो । सन् १७७३ को बोस्टन टी पार्टी राजनीतिक असन्तोषको प्रतीक मानिन्छ । चीनका चिया घरहरू  सामाजिक भेटघाट र विचार आदानप्रदानका केन्द्र थिए , क्रान्तिको समय । चियाको कपले आफैँ परिवर्तन ल्याउँदैन। यसले मानिसलाई एउटै ठाउँमा ल्याउँछ। चिया केन्द्रबाट  विचार जन्मिन्छ। विचारबाट बहस हुन्छ। कहिलेकाहीँ परिवर्तनको सुरुवात पनि त्यहीँबाट हुन्छ। æचियादानीæ पनि चियाघर मात्र कहाँ हुन र Û? 
‎  
‎चियाको गहिरो सम्बन्ध स्मृतिसँग छ। स्वादले कहिलेकाहीँ पुरानो समयलाई फर्काउँछ। घर सम्झाउँछ। हाम्रो जीवनमा पनि यस्ता आफ्नै स्वाद छन ।कहिलेकाही  चियाको बाफसँगै एउटा पुरानो बिहान फर्किन्छ । हजुरआमाको पुरानो कित्ली सम्झिइन्छ । हजुरबाको आवाज सुनिएजस्तो लाग्छ । वर्षौँअघि छुटेको साथ सम्झिइन्छ । कुनै यात्राको होटल सम्झिइन्छ । पैसा नहुदाको त्यो कलेज सम्झिइन्छ । 
‎
‎चियाको कप खाली भएपछि पनि सबै कुरा सकिँदैन। चिया सकिन्छ। समय सकिँदैन। सम्झना सकिँदैन। मानिसको उपस्थिति पनि त्यहीँ कतै बाँकी रहन्छ। कहिलेकाहीँ मानिस टाढा जान्छ। ठाउँ बदलिन्छ। भेट्ने बाटो बदलिन्छ। तर कुनै दिन उस्तै स्वादको चिया अगाडि आउँदा पुरानो मानिस मनमा फर्किन्छ। त्यस क्षण लाग्छ—त्यो दिन चिया मात्र पिइएको थिइएन । एउटा समय बाँडिएको थियो। एउटा सम्बन्धलाई केहीबेर ठाउँ दिइएको थियो।
‎
‎प्रेममा पनि चियाको भुमिका त्यस्तै हो । प्रेम सधैँ ठूला शब्दमा व्यक्त हुँदैन। कहिलेकाहीँ एक कप चिया खाऊँÆ मै त्यसको संकेत हुन्छ। भेट्ने इच्छा हुन्छ। केहीबेर सँगै बस्ने चाहना हुन्छ। छुट्टिनुअघि समयलाई अलि रोक्ने प्रयास हुन्छ। प्रेममा शब्दभन्दा पहिले उपस्थिति आउँछ। चिया त्यही उपस्थितिको सानो बहाना बन्छ । समयसँगै मानिस बदलिन्छ। ठाउँ बदलिन्छ। सम्बन्धका रूप बदलिन्छन्। हिजो सँगै चिया पिउने मानिस आज टाढा हुन सक्छ। हिजो लामो गफ गर्ने मानिससँग आज बोल्ने विषय नहुन सक्छ। तर त्यही पुरानो ठाउँमा पुग्दा वा उस्तै स्वादको चिया पिउँदा त्यो मानिस फेरि सम्झनामा आउन सक्छ। समयले मानिसलाई टाढा लैजान सक्छ तर उसँग बिताएको एउटा सामान्य क्षणलाई सधैँ टाढा लैजान सक्दैन। त्यही स्थानको त्यो चियाकपले स्मृतिलाई ताजा बनाउछ । अतितमा घुमाउछ । एउटा रमाइलो पल अनि चिया गिलास । 

‎यदि कसैले भन्छ, एक कप चिया खाऊँ न, बसेर  यसलाई चियाको निम्तो मात्र भनेर बुझ्न सकिँदैन। उसले केही समय मागेको हुन्छ । कुनै पुरानो कुरा पूरा गर्न खोजेको हुन सक्छ। मनको कुरा भन्न खोजेको हुन सक्छ  वा केही नभनी तपाईंसँगै बस्न मात्र खोजेको हुन सक्छ। हामीले धेरै सम्बन्ध ठूला अवसरमा होइन, यस्तै साना क्षणमा जोगाएका हुन्छौँ। तेसैले एककप चिया मात्र चिया कहाँ हो र त्यो एककप चियाभित्र ठूलो मौनता हुन्छ , त्यो मौनता भित्र ठूलो अर्थ हुन्छ । 
‎
‎चियाको कपमा चिया हुन्छ। तर त्यही कपमा कहिलेकाहीँ एउटा पुरानो सम्बन्ध पनि हुन्छ। कुनै अधुरो कुरा हुन्छ। कुनै प्रतीक्षा हुन्छ। कुनै प्रेम हुन्छ। कुनै स्मृति हुन्छ। परिबर्तनको झिल्का हुन्छ । सबैभन्दा ठूलो कुरा, मानिसले मानिसलाई दिएको केही समय हुन्छ। त्यसैले एक कप चिया खाऊँ न, बसेर चियाको कुरा मात्र होइन। यो भेटको भाषा हो। आत्मीयताको संकेत हो। प्रेमलाई बोल्नुअघि बसाल्ने एउटा सानो ठाउँ हो। बदलिँदो जीवनमा पनि नबदलिएको मानवीय सम्बन्धको एउटा पुरानो र प्रिय बहाना हो।

सम्बन्धित समाचार

Facebook Comments