योजनादेखि प्रभाव सम्म (भाग–१)
मुकुन्द अर्याल, ७ असोज, बर्दिया । विकाससम्बन्धी सार्वजनिक संस्थाहरूले योजना बनाउनु भनेको भविष्यमा गरिने कामहरूको सूची तयार गर्नु मात्र होइन । यो समाजका आवश्यकता पहिचान गर्ने, उपलब्ध सम्भावना र स्रोतको आकलन गर्ने, प्राथमिकता निर्धारण गर्ने र चाहिएको परिवर्तनतर्फ व्यवस्थित रूपमा अघि बढ्ने प्रक्रिया हो । कुनै पनि विकासको काम एकैपटक परिणाममा पुग्दैन । एउटा आवश्यकता पहिचान हुन्छ, त्यसबाट योजना बन्छ, योजनाभित्र निश्चित परियोजना छनोट हुन्छ, परियोजनाले उद्देश्य निर्धारण गर्छ, उद्देश्य प्राप्तिका लागि स्रोत परिचालन हुन्छ, स्रोतबाट गतिविधि सञ्चालन हुन्छ, गतिविधि साना टास्क/एक्सनमा कार्यान्वयन हुन्छ र त्यसबाट आउटपुट, आउटकमहुँदै दीर्घकालीन ईम्प्याक्टतर्फ जाने अपेक्षा गरिन्छ । त्यसैले यी शब्दहरू अलग–अलग व्यवस्थापकीय शब्द मात्र होइनन्, विकासलाई सोचदेखि परिणामसम्म बुझ्ने एउटा आपसमा जोडिएको सिलसिला हुन् ।
योजना : विकासको दिशा निर्धारण गर्ने आधार
एबिल अर्थात् योजना विकासको पहिलो व्यवस्थित तह हो । योजनाले अहिलेको अवस्था कहाँ छ र भविष्यमा कहाँ पुग्ने भन्नेबीचको दूरी पहिचान गरी त्यसतर्फ जाने प्राथमिकता, रणनीति, स्रोत र कार्यदिशा तय गर्छ । नेपालको स्थानीय तहको सन्दर्भमा योजना बनाउने विषय केवल व्यवस्थापकीय अभ्यास होइन, कानुनी जिम्मेवारी समेत हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २४ ले गाउँपालिका तथा नगरपालिकाले आफ्नो अधिकारक्षेत्रभित्र स्थानीय विकासका लागि आवधिक, वार्षिक, रणनीतिक, विषयक्षेत्रगत, मध्यकालीन तथा दीर्घकालीन विकास योजना बनाई लागू गर्नुपर्ने व्यवस्था गरेको छ । योजनालाई नेपाल र प्रदेश सरकारका नीति, लक्ष्य, उद्देश्य तथा समयसीमासँग अनुकूल बनाउनुपर्ने तथा सुशासन, वातावरण, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरणजस्ता विषयलाई ध्यान दिनुपर्ने व्यवस्था पनि छ ।
नेपालको राष्ट्रिय विकास योजनाको तहमा अहिले सोह्रौँ योजना (२०८१/८२–२०८५/८६) कार्यान्वयनमा छ । राष्ट्रिय योजनाले देशको समग्र विकासको दिशा, प्राथमिकता, रणनीति र अपेक्षित परिणामलाई मार्गदर्शन गर्छ । त्यसैले स्थानीय तहले आफ्नो योजना बनाउँदा स्थानीय आवश्यकता मात्र हेरेर पुग्दैन राष्ट्रिय प्राथमिकता र अन्तरसरकारी सम्बन्धलाई पनि ध्यान दिनुपर्छ । यसरी हेर्दा राष्ट्रिय आवधिक योजना समग्र विकासको ठूलो दिशासँग र स्थानीय योजना त्यस दिशालाई स्थानीय आवश्यकता र सम्भावनासँग जोड्ने माध्यमसँग सम्बन्धित हुन्छ ।
योजनाको दिशा अझ व्यापक रूपमा हेर्दा नेपालले अन्तर्राष्ट्रिय रूपमा स्वीकार गरेको दिगो विकासका लक्ष्य (एसडीजीएस) पनि महत्वपूर्ण आधार हुन् । संयुक्त राष्ट्रसंघको २०३० एजेन्डाले १७ वटा दिगो विकास लक्ष्य र १६९ वटा लक्ष्य–उपलक्ष्यलाई एकीकृत तथा परस्पर सम्बन्धित विकास एजेन्डाका रूपमा अघि सारेको छ । गरिबी न्यूनीकरण, स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता, रोजगारी, पूर्वाधार, वातावरण, सुशासन र साझेदारीजस्ता विषय अलग–अलग मात्र होइन, दिगो विकासका परस्पर जोडिएका पक्ष हुन् । त्यसैले आजको विकास योजना स्थानीय आवश्यकताबाट सुरु भए पनि राष्ट्रिय र विश्वव्यापी विकास प्रतिबद्धतासँग जोडिन सक्छ ।
परियोजना : योजनालाई निश्चित हस्तक्षेपमा रूपान्तरण गर्ने माध्यम
परियोजना योजनाको व्यापक दिशाभित्र कुनै निश्चित समस्या, आवश्यकता वा उद्देश्यलाई सम्बोधन गर्न तयार गरिने सीमित र कार्यान्वयनयोग्य हस्तक्षेप हो। योजनाले कुन दिशामा जाने ? भन्ने प्रश्नको उत्तर दिन्छ भने परियोजनाले कुन निश्चित काममार्फत त्यस दिशामा जाने ? भन्ने प्रश्नलाई स्पष्ट गर्छ । परियोजनाको आफ्नो लक्षित क्षेत्र, लाभग्राही, समय, स्रोत, गतिविधि, अपेक्षित उपलब्धि र कार्यान्वयन व्यवस्था हुन्छ । त्यसैले योजना र परियोजना एउटै कुरा होइनन् । योजना तुलनात्मक रूपमा व्यापक हुन्छ भने परियोजना त्यस योजनाभित्र कार्यान्वयनका लागि निश्चित आकार र सीमामा बाँधिएको हस्तक्षेप हो । (वल्र्ड वैंक, प्रोजेक्ट साईकल टीवाईएफ प्रोजेक्ट मेनेजमेन्ट सम्बन्धी रिजल्ट फ्रेमवर्क)
उद्देश्य : परियोजनाले खोजेको परिवर्तन
परियोजना छनोट भएपछि अर्को महत्वपूर्ण प्रश्न हुन्छ, यसले वास्तवमा के परिवर्तन गर्न खोजेको हो ? यही प्रश्नको उत्तर अब्जेक्टिभ अर्थात् उद्देश्यले दिन्छ । उद्देश्यलाई गतिविधिको सूचीका रूपमा बुझ्नु हुँदैन । विद्यालय भवन निर्माण गर्ने काम हुन सक्छ तर विद्यार्थीका लागि सुरक्षित र उपयुक्त सिकाइ वातावरणमा पहुँच सुधार गर्ने त्यस परियोजनाको अपेक्षित उद्देश्य वा परिणामसँग जोडिन सक्छ । वल्र्ड बैंकको परियोजना व्यवस्थापनमा प्रोजेक्ट डेभलोपमेन्ट अवजेक्टिभलाई सकारात्मक परिणामका रूपमा अभिव्यक्त गर्ने अभ्यास छ । यसले परियोजनाको ध्यान केवल काम सम्पन्न गर्नुभन्दा त्यस कामबाट अपेक्षित परिवर्तनतर्फ लैजान्छ ।
इनपुट : उद्देश्य पूरा गर्न चाहिने आधार
उद्देश्य निर्धारण भएपछि त्यसलाई हासिल गर्न इनपुट आवश्यक हुन्छ । वित्तीय स्रोत, जनशक्ति, सामग्री, प्रविधि, सूचना, समय, संस्थागत क्षमता तथा अन्य आवश्यक साधन इनपुटका उदाहरण हुन् । इनपुट आफैं विकासको परिणाम होइनÙ परिणाम प्राप्त गर्न परिचालन गरिने आधार हो । उदाहरणका लागि स्वास्थ्य सेवा विस्तार गर्ने परियोजनामा बजेट, स्वास्थ्यकर्मी, औषधि, उपकरण, भवन र सूचना प्रणाली इनपुट हुन सक्छन् । तर पर्याप्त स्रोत हुनु मात्र पर्याप्त हुँदैन । ती स्रोत सही उद्देश्यका लागि, सही समयमा र सही ढंगले परिचालन भए मात्र अपेक्षित परिणामतर्फ अघि बढ्न सकिन्छ ।
क्रियाकलाप : स्रोतलाई काममा रूपान्तरण गर्ने प्रक्रिया
इनपुट उपलब्ध भएपछि क्रियाकलाप मार्फत वास्तविक कार्यान्वयन सुरु हुन्छ । क्रियाकलाप भनेको उपलब्ध स्रोत प्रयोग गरी अपेक्षित इगतउगत उत्पादन गर्न गरिने काम हो । उदाहरणका लागि सडक निर्माण, तालिम सञ्चालन, स्वास्थ्य शिविर आयोजना, तथ्याङ्क सङ्कलन, प्राविधिक डिजाइन तयार गर्नु वा किसानलाई प्राविधिक सेवा उपलब्ध गराउनु क्रियाकलाप हुन सक्छन् । तर क्रियाकलापलाई नै उपलब्धि वा परिणाम मान्नु हुँदैन । कुनै परियोजनाले २० वटा तालिम सञ्चालन गरेको छ भने त्यो काम भएको प्रमाण हो ती तालिमबाट सहभागीको ज्ञान, सीप वा व्यवहारमा के परिवर्तन आयो भन्ने कुरा परिणामको अर्को तहमा हेर्नुपर्छ ।
कार्य/कदम : कामलाई कार्यान्वयनयोग्य बनाउने तह
क्रियाकलाप सामान्यतः एउटा मात्र काममा सीमित हुँदैन । त्यसलाई अझ साना, स्पष्ट र जिम्मेवारी तोक्न सकिने काममा विभाजन गर्नुपर्ने हुन्छ । यही तहमा टास्कको महत्व देखिन्छ । एशोशिएसन फर प्रोजेक्ट मेनेजमेन्ट (एपीएम) ले टास्कलाई कुनै क्रियाकलापलाई विभाजन गर्दा निश्चित व्यक्ति वा संस्थाले बुझेर सम्पन्न गर्न सक्ने सबैभन्दा सानो अविभाज्य कामका रूपमा व्याख्या गर्छ । उदाहरणका लागि …तालिम सञ्चालन गर्नेÚ क्रियाकलाप हो भने सहभागीको सूची तयार गर्ने, प्रशिक्षकसँग समन्वय गर्ने, प्रशिक्षण सामग्री तयार गर्ने, स्थल व्यवस्थापन गर्ने र उपस्थितिको अभिलेख राख्ने अलग–अलग टास्क हुन सक्छन् । क्रियाकलापलाई पनि यही कार्यान्वयनको तहमा बुझ्न सकिन्छ । क्रियाकलाप भन्नाले उद्देश्यतर्फ अघि बढाउन चालिने ठोस कदम वा कार्यलाई जनाउँछ । तर कार्य/कदमको स्थानलाई सबै संस्थामा एउटै कठोर तहगत संरचना मान्न मिल्दैन । कतिपय व्यवस्थापन प्रणालीमा क्रियाकलाप व्यापक कार्यान्वयन कदम हुन सक्छ भने टास्क त्यसलाई अझ सानो जिम्मेवारीमा विभाजन गरिएको काम हुन सक्छ । त्यसैले विकास व्यवस्थापनमा महत्वपूर्ण कुरा शब्दको तह निर्धारण गर्नु मात्र होइन, कसले, के काम, कहिले, कुन स्रोतबाट र कुन अपेक्षित उपलब्धिका लागि गर्ने ? भन्ने कुरा स्पष्ट गर्नु हो ।
आउटपुट : कामबाट प्रत्यक्ष देखिने उपलब्धि
क्रियाकलाप, टास्क र एक्सन कार्यान्वयन भएपछि त्यसबाट प्रत्यक्ष रूपमा प्राप्त हुने वस्तु, सेवा वा उपलब्धिलाई आउटपुट भनिन्छ । विद्यालय भवन निर्माण हुनु, स्वास्थ्यकर्मीलाई तालिम दिइनु, खानेपानीको संरचना निर्माण हुनु वा निश्चित संख्याका लाभग्राहीलाई सेवा उपलब्ध हुनु आउटपुटका उदाहरण हुन् । आउटपुटको विशेषता के हो भने यो सामान्यतः परियोजनाको प्रत्यक्ष नियन्त्रण वा प्रभावको दायराभित्र हुन्छ । त्यसैले …हामीले के ग¥यौँ ? भन्ने प्रश्न क्रियाकलापले र हामीले त्यसबाट के उपलब्धि उत्पादन ग¥यौँ ? भन्ने प्रश्न आउटपुटले उत्तर दिन्छ ।
नतिजा : उपलब्धिबाट आएको वास्तविक परिवर्तन
विकासको सफलता आउटपुट उत्पादनमा मात्र समाप्त हुँदैन । आउटपुटको प्रयोग वा उपयोगपछि लाभग्राही, संस्था वा प्रणालीमा आएको परिवर्तनलाई नतिजा भनिन्छ । उदाहरणका लागि किसानलाई तालिम दिनु र तालिमका सामग्री उपलब्ध गराउनु आउटपुट हुन सक्छÙ किसानले सिकेको प्रविधि व्यवहारमा प्रयोग गर्न थाल्नु नतिजा हुन सक्छ । त्यसैले आउटपुट मुख्यतः …के उपलब्ध गराइयो ?Ú भन्ने प्रश्नसँग र नतिजा …त्यसको प्रयोगबाट के परिवर्तन भयो ? भन्ने प्रश्नसँग सम्बन्धित हुन्छ ।
प्रभाव : दीर्घकालीन र व्यापक प्रभाव
नतिजा भन्दा माथि प्रभावको तह आउँछ । प्रभाव भन्नाले कुनै हस्तक्षेपले योगदान पु¥याउन खोजेको दीर्घकालीन तथा व्यापक परिवर्तनलाई जनाउँछ । उदाहरणका लागि कृषि प्रविधि अपनाउनु नतिजा हुन सक्छ भने दीर्घकालमा कृषि उत्पादकत्व, किसानको आम्दानी र ग्रामीण जीवनस्तरमा सुधार आउनु प्रभाव सँग सम्बन्धित हुन सक्छ । तर एउटा परियोजनाले मात्र यस्ता व्यापक प्रभाव सिर्जना गरेको दाबी गर्न मिल्दैन । आर्थिक अवस्था, नीति, वातावरण, बजार, अन्य सरकारी कार्यक्रम र सामाजिक परिस्थिति जस्ता धेरै पक्षले पनि प्रभाव पार्न सक्छन् । त्यसैले प्रभावलाई परियोजनाको प्रत्यक्ष उपलब्धिभन्दा दीर्घकालीन विकासमा पु¥याएको योगदानका रूपमा बुझ्नु बढी उपयुक्त हुन्छ ।
माथिका अवधारणाहरूलाई अलग–अलग शब्दकोशीय परिभाषामा सीमित राख्दा विकास व्यवस्थापनको वास्तविक अर्थ छुट्न सक्छ । तिनलाई एउटा तार्किक सिलसिलामा राख्दा तस्वीर स्पष्ट हुन्छ । योजना → परियोजना → उद्देश्य → इनपुट→ क्रियाकलाप → कार्य/काम→ आउटपुट→ नतिजा→ प्रभाव । योजना विकासको दिशा र प्राथमिकता निर्धारण गर्छ। त्यसबाट निश्चित परियोजना छनोट हुन्छ । परियोजनाले उद्देश्य स्पष्ट गर्छ । उद्देश्य हासिल गर्न इनपुट परिचालन हुन्छ । इनपुटबाट क्रियाकलाप सञ्चालन हुन्छ । क्रियाकलापलाई कार्य र कदममा कार्यान्वयन गरिन्छ । त्यसबाट आउटपुट प्राप्त हुन्छ । आउटपुटको उपयोगबाट नतिजामा परिवर्तन आउँछ र दीर्घकालमा त्यसले प्रभावमा योगदान पु¥याउन सक्छ । क्रमश......
१९ °C काठमाडौं
Facebook Comments