हे पृथ्वीनारायण ! तिम्रा पौरखका कारण पूर्वको मेची मेरै हो, भन्न पाएको छु
राजेन्द्र प्रसाद धिताल, २७ पुष, बर्दिया ।
हे पृथ्वीनारायण ! तिम्रा पौरखका कारण
पूर्वको मेची मेरै हो, भन्न पाएको छु
पश्चिम महाकाली मेरै हो, भन्न पाएको छु
हिमालको चुचुरोमा उभिएर होस् या तराईको फाटमा पल्टेर
म नेपाली हु, भन्न पाएको छु, नेपाल मेरै हो भन्न पाएको छु ।
हे वडामहाराज ! उतिबेला जब तिमी
खुडा बोकेर, ज्यान हत्केलामा राखेर
युद्धको मैदानमा निस्कियौ
तिमीसगै निस्केका थिए, धेरै गोर्खालीहरु
के तिनलाई सम्झेको छ इतिहासले ?
कति युद्धको मैदानमा ढले, कति बाटो, चौबाटोमा गले
कठै यो निर्दयी इतिहासले, अरुलाई बिर्सिसक्यो
तिमीलाई मात्र उच्च आसनमा, विराजमान गरिरहेको छ
तिम्रो प्रशस्ती गाइरहेको छ ।
हे राजा ! तिमीले नेपाल आज्र्यौ
तिम्रा सन्तान दर सन्तानले, सत्ता शक्ति भोगे
राजपाठ भोगे, सुख ऐश्वर्य भोगे
तिमीबाट जो जो पराजित भए
ती आज पनि रगतका आँसु रोइरहेछ्न
विरह वेदना भोगिरहेछ्न
उतिबेला तिनका पितापुर्खा हारे
आज सन्ततिहरु, पलपल हारिरहेछन्
आँसु झारिरहेछ्न ।
हे अधिनायक ! हे पृथ्वीनारायण !
तिम्रो सम्झनामा उभिएर
तिम्रा शालिक सामु, तिमीलाई शब्द पुष्प चढाउदै गर्दा
म इतिहासले बिर्सेका ती, ज्ञात अज्ञात
विजयी योद्धा सम्झिरहेछु, पराजित प्रजा सम्झिरहेछु
र तिनलाई पनि, श्रद्धाका पुष्प अर्पण गरिरहेछु ।
(बबई बहुमुखी क्याम्पस बर्दियाका उपप्राध्यापक रहनु भएका धिताल बर्दियाली साहित्य समाजका संस्थापक अध्यक्ष हुनुहुन्छ ।)
११ °C काठमाडौं
Facebook Comments