महाकवि देवकोटा विद्यालयमा लैंगिक हिंसाविरुद्ध सचेतना
मुरली गोडिया, १० मंसिर, बर्दिया । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत बर्दियाको गुलरियामा विद्यालयस्तरीय सचेतना कार्यक्रम आयोजना गरिएको छ । माइती नेपाल बर्दियाको आयोजना तथा गुलरिया नगरपालिकाको समन्वयमा गुलरिया नगरपालिका–स्थित श्री महाकवि देवकोटा माध्यमिक विद्यालयमा बिहीबार कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत किशोरकिशोरीहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट समेत विभिन्न प्रकारका हिंसा तथा मानव बेचबिखनका घटना हुन सक्ने भएकाले विद्यार्थीहरू सचेत र सजग रहनुपर्ने बताउनुभयो ।
स्थानीयस्तरमा घटेका विभिन्न घटनाका उदाहरण प्रस्तुत गर्दै गौतमले पछिल्लो समय पुरुषसमेत लैंगिक हिंसाको सिकार भइरहेको उल्लेख गर्नुभयो । त्यस्तै, माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले लैंगिक हिंसाविरुद्ध समाजमा सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । मानव तस्करहरूले विभिन्न प्रलोभन देखाउँदै रोजगारीको अवसर मिलाइदिने बहानामा नेपाली चेलीहरूलाई जोखिमपूर्ण अवस्थामा पु¥याउने गरेकाले विशेष सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो ।
गाउँसमाजमा कुनै पनि प्रकारको हिंसा भएको वा हुन सक्ने सम्भावना देखिएमा सम्बन्धित निकायमा तत्काल जानकारी गराउनसमेत रिमालले आग्रह गर्नुभयो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत कार्यक्रम आयोजना गरिएको हो ।
यस वर्षको अभियानको मूल सन्देश लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता रहेको छ । महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने, पीडितको संरक्षण गर्ने, न्याय सुनिश्चित गर्ने र दण्डहीनताको अन्त्यका लागि समाजका सबै पक्षलाई जिम्मेवार बनाउने अभियानको मुख्य उद्देश्य रहेको छ ।
१२ °C काठमाडौं
Facebook Comments