राजापुर प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण हस्तान्तरण
चुरेकुञ्ज, ६ असार, बर्दिया । राजापुर प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य परिक्षण सम्बन्धी उपकरण हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ बर्दियाको आयोजना, लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एन नेपालको सहकार्य तथा सहयोगी दाता सुलभ आचार्यको पहलमा राजापुर नगरपालिका–४ मा अवस्थित स्वास्थ्य केन्द्रलाई ४ ला ८० हजार रुपैया बराबरको फाईन केयर ३ एगिक स्वास्थ्य परीक्षण उपकरण हस्तान्तरण गरिएको छ ।
स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा उक्त उपकरण राजापुर नगरपालिकाका प्रमुख दीपेश थारुलाई हस्तान्तरण गरिएको हो । उपकरणले स्थानीय स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । उपकरण हस्तान्तरण कार्यक्रममा डिष्ट्रिक्ट गर्भनर ज्ञानेन्द्र कुमार श्रेष्ठ, वरिष्ठ लायन कृष्ण प्रसाद श्रेष्ठ, लायन माधव कुँवर, लायन सुधाकर मिश्र, लायन्स क्लब अफ बर्दियाका अध्यक्ष मधुसूदन रिमाल, राजापुर नगरपालिकाका कार्यकारी प्रमुख दशरथ बुढा, स्वास्थ्य शाखा प्रमुख गणेश प्रसाद अर्याल, सीमा सुरक्षा बल राजापुरका डीएसपी मोहन के.सी. तथा इन्स्पेक्टर ललित शाही लगायतको सहभागीता थियो ।
स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको उपकरणमार्फत मधुमेह रोगको दीर्घकालीन अवस्था परीक्षण, सीआरपी संक्रमण तथा शरीरमा हुने सूजनको परीक्षण, भीटामिन डी परीक्षण लगायत अन्य आवश्यक स्वास्थ्य परीक्षणहरू स्थानीय स्तरमै सञ्चालन गर्न सकिने जनाईएको छ । यसबाट स्थानीय नागरिकहरूले विभिन्न स्वास्थ्य परीक्षणका लागि टाढाका सहर तथा अस्पतालसम्म जानुपर्ने बाध्यता कम हुने लायन्स क्लव अफ बर्दियाका अध्यक्ष मधुसुदन रिमालले बताउनु भयो । उहाँले समुदायमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बढाउन क्लब निरन्तर सक्रिय रहेको बताउँदै उपकरणले राजापुर क्षेत्रका नागरिकलाई समयमै स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउन उपकरणले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
स्थानीय स्वास्थ्य संस्थामा आधुनिक परीक्षण उपकरण थपिएसँगै सेवाग्राहीले समय र खर्चको बचत गर्नुका साथै सहज, छिटो र प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ । लायन्स क्लब अफ बर्दियाले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा यस्ता जनहितकारी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । डिष्ट्रिक्ट गभर्नर ज्ञानेन्द्र श्रेष्ठले आगामी दिनमा पनि डिष्ट्रिक्ट ३२५ एनले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो तेसैगरी नगरप्रमुख दिपेश थारूले सहयोगको लागि धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
२२ °C काठमाडौं
Facebook Comments