• २ फागुन २०८२, शनिवार
  • १० °C काठमाडौं
शहरिया ऊ

मुकुन्द अर्याल, २६ पुष, बर्दिया । उसको बुवा उमेर मै शहर पसे । उ उतै जन्म्यो । शहर मै जन्मेको, उतै हुर्केको र कुनै अभाब ब्यहोर्नु नपरेको । ऊ आफ्नो बुवाको गाउँ आयो । हुनपनि उसलाई अभाब के हो थाह भएन । जाडो र गर्मी देखेको होला तर त्यसका प्रभाब भोग्नु परेन । सार्बजनिक यातायात चढेन भन्दा पनि हुन्छ । खान चाहेको, लगाउन चाहेको, बोक्न चाहेको सबै प्राप्त गर्यो । 

सामुदायिक विद्यालय, अस्पताल, यातायात कस्ता हुन्छन उसले बुझ्ने मौकै पाएन । लुगा धोएन । कहिले भाँडा माझेन । सधै बातानुकुलित पानीमा मात्र नुहायो । बातानुकुलित कोठामा सुत्यो । बजारको कुन रेस्टुरेन्टको मेनु के छ उसलाई कन्ठस्थ छ । कुन ब्राण्डको कुन कुरा बजारमा लन्च भयो थाहा नहुने कुरै भएन । दुईचार हजार त के हिसाबमा आउथ्यो र ? दस कक्षाको अन्तिम परीक्षा पछि उ बाबुसङ्ग गाउँ आयो । गाउँका उसका आफन्तीका छोराछोरी सङ्ग अब उसको उठबस । केहिदिन गाउँ रहदा उसले समुहमा मुढा बालेर आगो ताप्यो । आगोमा दुध ततायो । 

तताउदा तताउदैको तातो दूध खायो । तल खोलामा गएर कन्चन पानीमा नुहायो । रुखको अम्बा आफै टिपेर खायो । आफै बल्छी लगाएर माछा मार्यो । आगोमा पकाएको आटो, दाल र भात खायो । आगो ताप्दै । दौतरीहरु सङ्ग बाख्रा चराउन बन गयो । बनमा बन सङ्गीत सुन्यो । बारीमा आलु खनेर त्यही पोलेर खायो । गाई÷भैसी दुहेको देख्यो । महि मथ्यो । लस्सी खायो । नौनी सङ्ग सुख्खा रोटी खायो । खसी काटे गाउमा । भुटुवा, सेकुवा र झोल मासु खायो । रेक्सा÷अटो÷साइकल चढ्यो । लढिया चढ्यो । गाउँमा भजन सुन्न गयो । नाच्यो । निकुन्ज घुम्न गयो । बाघ, हात्ती, गैडा, जरायो सबै देख्यो । 

गाउँको चौरमा फुटबल खेल्यो । नातेदार चिन्यो । अब फर्किने बेला आयो । फर्किदा उसले आफ्नो बाबू सङ्ग कुरा गर्दैछ । ड्याडी ! हामी पनि यतै एउटा घर बनाएर बसौ न । हाम्रो तेहा त जति खर्च गरेपनि यस्तो पाइन्न । अस्ति क्याम्प फायर गरेको मात्र पाँच हजार तिरेको हामीले । बाबुले सुनिरहेको छ । एता गाउँमा गाउँका केटाहरु कुरा गर्दैछन ! हेर त कति दामी छ उसको पाइन्ट । घडी । तेहि फोन हो रे अहिले दुई लाख पर्छ । तेस्तो जिन्दगी पो जिन्दगी यार । खत्तम हाम्रा बा हरु । पैसा कमाउनु पर्छ है केटाहो पैसा । अरु सब तेस्तै हो । म चाहिँ बुझ्नै सकिरकेको छैन । सहरबाट आएको केटो सहि भन्दैछ या गाउमै रहेका केटाहरु !

 

सम्बन्धित समाचार

Facebook Comments