बारबर्दियामा यौन तथा प्रजनन स्वास्थ्य मेलासंगै लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण
मुरली गोडिया, ९ असोज, बर्दिया । बारबर्दिया नगरपालिका वडा नम्बर ६ शक्तिनगरस्थित नवज्योति आधारभूत विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी मेलासँगै लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण गरिएको छ । प्लान इन्टरनेशनल नेपाल र कोइकाको आर्थिक सहयोग तथा बारबर्दिया नगरपालिकाको समन्वयमा राधाकृष्ण थारु जनसेवा केन्द्र, गुलरियाद्वारा सञ्चालित किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार परियोजनाअन्तर्गत कार्यक्रम आयोजना गरिएको थियो ।
समुदायमा रहेका सामाजिक समस्या तथा हानिकारक अभ्यास न्यूनीकरण गर्दै बालबालिका, किशोरकिशोरी र अभिभावकमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मेला आयोजना गरिएको किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार परियोजना संयोजक सुरज अर्यालले जानकारी दिए । मेलामा विद्यार्थीहरूले कविता, गीत, नृत्य तथा नाटकमार्फत यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी सन्देश प्रस्तुत गरेका थिए ।
स्वास्थ्य सेवा, सरसफाइ तथा विभिन्न संस्थाका गतिविधिसम्बन्धी जानकारी दिने स्टलसमेत राखिएको थियो । कार्यक्रममा तीन कोठे लैंगिक तथा अपाङ्गमैत्री शौचालय विद्यालयलाई हस्तान्तरण गरिएको छ । शौचालय तथा सचेतनामूलक कार्यक्रमले विद्यार्थीमा सरसफाइ, स्वास्थ्य र सकारात्मक व्यवहार विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । विद्यालयकी प्रधानाध्यापक नमा कुमारी ज्ञवालीले विद्यालयका लागि आवश्यक सहयोग गरेको भन्दै आयोजक तथा सहयोगी संस्थालाई धन्यवाद दिइन् ।
१७ °C काठमाडौं
Facebook Comments