• ३ असार २०८३, बुधवार
  • २१ °C काठमाडौं
उखु किसान आन्दोलित, प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र

केशव कोइराला, ३ असार, बर्दिया । बर्दिया र कैलालीका उखु किसानहरूले सरकारले उपलब्ध गराउनुपर्ने अनुदान रकम भुक्तानी नगरेको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । उनीहरूले मंगलबार बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रमुख जिल्ला अधिकारी हमाललाई ज्ञापनपत्र बुझाउँदै किसान प्रतिनिधिहरूले निर्धारित ७ दिनभित्र अनुदान रकम भुक्तानी नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएका छन् । किसानहरूले समयमै समस्या समाधान नभए बर्दिया र कैलालीका हजारौं उखु उत्पादक प्रत्यक्ष प्रभावित हुने बताएका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी हमालले किसानहरूको माग सम्बन्धित निकायसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । राजापुर नगरपालिका–५ बदालपुरमा सञ्चालित राजापुर सुगर एण्ड केमिकल्स इण्डष्ट्रिज प्रालिमा उखु बिक्री गरेका ७ सय ८ जना किसानहरूको तर्फबाट बुझाइएको ज्ञापनपत्रमा ७ दिनभित्र अनुदान रकम भुक्तानीको सुनिश्चित व्यवस्था गर्न माग गरिएको छ ।

किसानहरूका अनुसार २०८२ साल पौष २२ गतेदेखि चैत्र १२ गतेसम्म उद्योगमा ४ लाख ८ हजार ४ सय ३८ दशमलव २८ क्विन्टल उखु बिक्री गरिएको थियो। उद्योगबाट प्रति क्विन्टल ६ सय २० रुपैयाँका दरले भुक्तानी प्राप्त भए पनि नेपाल सरकारले उपलब्ध गराउनुपर्ने प्रति क्विन्टल ७० रुपैयाँ अनुदान रकम भने हालसम्म प्राप्त हुन सकेको छैन ।
उखु किसान अनुदान सम्बन्धी कार्यविधि २०७५ को दोस्रो संशोधन २०७९ अनुसार प्राप्त हुनुपर्ने रकम कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समयमै निकासा नगर्दा किसानहरू आर्थिक समस्यामा परेको बताएका छन् ।

सम्बन्धित समाचार

Facebook Comments