• २६ जेठ २०८३, मङ्गलवार
  • २१ °C काठमाडौं
स्थानीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक कार्यशाला 

मुरली गोडिया, २५ जेठ, गुलरिया -बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मा स्थानीय स्तरमा विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन क्षमतालाई थप प्रभावकारी बनाउने उद्देश्यले दुईदिने स्थानीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक कार्यशाला गरिएको छ । विपद् उत्थानशीलता अभिवृद्धिका लागि पूर्वानुमानमा आधारित पूर्वकार्य सवलीकरण परियोजना -प्रयास २) अन्तर्गत आयोजित उक्त कार्यशाला जेठ २२ र २३ गते सञ्चालन गरिएको हो । 

कार्यशालाको समन्वय बढैयाताल गाउँपालिकाले गरेको थियो भने बी–ग्रुपको सहकार्य तथा प्लान इन्टरनेशनलको सहयोग रहेको थियो । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूह, महिला तथा युवा समूह, स्वास्थ्यकर्मी, शिक्षक, स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारी लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले गाउँपालिकामा हुन सक्ने बाढी, डुबान, आगलागी, हावाहुरी, चट्याङ, महामारी लगायतका सम्भावित विपद्हरूको पहिचान गर्दै जोखिम न्यूनीकरणका उपायहरूबारे विस्तृत छलफल गरेका थिए। साथै विपद् आउनुअघि अपनाउनुपर्ने तयारी, विपद्का बेला गरिने प्रतिकार्य तथा विपद्पछिको पुनःस्थापना सम्बन्धी योजनालाई अद्यावधिक गर्ने कार्य गरिएको थियो ।

कार्यशालामा स्थानीय तहको विपद् व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउन समुदायस्तरको सहभागिता, स्रोत–साधनको व्यवस्थापन, पूर्वसूचना प्रणालीको प्रभावकारी उपयोग तथा विभिन्न निकायबीचको समन्वयलाई प्राथमिकता दिनुपर्ने विषयमा जोड दिइएको थियो । सहभागीहरूले स्थानीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको पुनरावलोकन गरी हालको अवस्था, चुनौती तथा आवश्यक सुधारका पक्षहरू समेटेर योजना अद्यावधिक गरेका थिए ।

यसबाट विपद्को समयमा हुने सम्भावित मानवीय तथा भौतिक क्षतिलाई न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रमका आयोजकहरूले अद्यावधिक गरिएको योजना कार्यान्वयनमा ल्याई समुदायलाई विपद्प्रति अझ सचेत, सक्षम र उत्थानशील बनाउन निरन्तर प्रयास गरिने बताएका छन् । कार्यशालाबाट प्राप्त सुझाव तथा निष्कर्षहरूलाई समेटेर गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाइने जनाइएको छ ।

सम्बन्धित समाचार

Facebook Comments