• २५ असार २०८३, बिहिवार
  • २२ °C काठमाडौं
बर्दिया पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

केशव कोइराला, २५ असार, बर्दिया । बर्दिया जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाको आयोजनामा आयोजित विशेष कार्यक्रममा जिल्लाभरका सबै लक्षित बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अनुसार सबै खोप प्राप्त गरेको सुनिश्चितता भएपछि जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्य बहादुर बिष्टले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभयो । घोषणा कार्यक्रममाबोल्दै समन्वय प्रमुख बिष्टले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुनु जिल्लाका लागि गौरवको विषय भएको बताउँदै यस उपलब्धिलाई दिगो बनाउन सबै स्थानीय तह, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा समुदायको निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने वातावरण निर्माण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोगान बहादुर हमालले खोप कार्यक्रम बालबालिकाको जीवन र स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण कार्यक्रम भएको बताउनुभयो । उहाँले पूर्ण खोप सुनिश्चित अवस्थालाई कायम राख्न नियमित अनुगमन, अभिलेखीकरण तथा जनचेतना अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख नारायण प्रसाद चौधरीले जिल्लाका सबै पालिकाको तथ्यांक, स्वास्थ्य संस्थाको प्रतिवेदन तथा स्थलगत प्रमाणीकरणका आधारमा बर्दियालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको जानकारी दिनुभयो । उहाँले नियमित खोप सेवामा अभिभावकको सहभागिता, स्वास्थ्यकर्मीको समर्पण र स्थानीय तहको सहयोगका कारण यो उपलब्धि हासिल भएको बताउँदै आगामी दिनमा पनि नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाइने प्रष्ट्याउनु भयो।

कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विकास साझेदार संस्था तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले पूर्ण खोप सुनिश्चित अवस्थालाई निरन्तर कायम राख्दै छुटेका बालबालिकाको खोजी, नियमित अनुगमन तथा समुदायमा स्वास्थ्य सचेतना विस्तार गर्न प्रतिबद्धता व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

Facebook Comments