• २० असार २०८३, शनिवार
  • २१ °C काठमाडौं
पशुपालक किसानलाई निःशुल्क कृषि सामाग्री 

दलबहादुर सुनार, २० असार, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ कार्यालयले पशुपालन व्यवसायमा संलग्न किसानहरूलाई लक्षित गर्दै निःशुल्क कृषि सामग्री वितरण गरेको छ । वडाको लक्षित वर्ग कार्यक्रम अन्तर्गत वडाभित्र व्यावसायिक रूपमा पशुपालन गर्दै आएका किसानहरूलाई आवश्यक सामग्री वितरण गरेको हो । 

पशु स्वास्थ्य सहायक बिक्रम सुवेदीका अनुसार वडाले गरेको सर्वेक्षणका आधारमा ठूला, मध्यम र साना गरी तीन तहका कुल २ सय ४५ जना किसानलाई सामग्री प्रदान गरिएको हो । उहाँका अनुसार ९५ जना ठूला किसानलाई पशु बाँध्दा प्रयोग हुने उपकरण, औषधि तथा बुट वितरण गरिएको छ भने ५५ जना मध्यम किसानलाई फरुवा र बुट तथा ९५ जना साना किसानलाई फरुवा वितरण गरिएको छ ।

अगुवा किसान सिंहबहादुर के.सी.ले वडा कार्यालयले किसानलाई केन्द्रमा राखेर बजेट निर्माण तथा कार्यान्वयन गर्दै आएको उल्लेख गर्दै यस्ता कार्यक्रमले किसानलाई प्रोत्साहन मिल्ने बताउनु भयो । उहाँले भन्नुभयो, यस्ता कार्यक्रमले किसानमैत्री वडा निर्माणमा टेवा पुगेको छ । वडा नं ८ का अध्यक्ष तेजनाथ पौडेलले विगतदेखि नै किसान लक्षित प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइएको छ । 

उहाँले भन्नुभयो, किसानको सम्मान र आर्थिक सशक्तीकरण बिना समग्र विकास सम्भव नहुने धारणा राख्नु भयो । वडाको सीमित बजेटका बाबजुद पनि किसानलाई हौसला प्रदान गर्न सामग्री वितरण गरिएको जानकारी दिनु भयो । उहाँका अनुसार पशुपालनसँगै कृषि पेशामा आधारित किसानहरूका लागि डेलिभरी पाइप वितरण कार्यक्रम समेत सञ्चालन गर्ने योजना रहेको छ । 

साथै, लक्षित वर्गका कार्यक्रमहरू कुनै पनि नातागोता वा दलगत आधारमा नभई वास्तविक किसानको आवश्यकताका आधारमा कार्यान्वयन गरिएको  स्पष्ट पार्नु भयो । सामग्री वितरण कार्यक्रममा वडा सदस्य उद्धव न्यौपाने, महिला सदस्य ममता घर्ती, सदस्य कृष्णकला सुनार, किसानहरू तथा वडा कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव स्वस्तिका पौडेलले गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments