राजापुर नगरपालिका १० नम्बर वडाद्वारा अनुदानमा कृषियन्त्र वितरण
केशव कोईराला, २३ असार, राजापुर (बर्दिया) । राजापुर नगरपालिका वडा नम्बर १० ले आर्थिक वर्ष ०८२/०८३ को स्वीकृत योजना अन्तर्गत मागमा आधारित कृषि प्रवद्र्धन कार्यक्रम मार्फत किसानहरूलाई ५० प्रतिशत अनुदानमा साना कृषियन्त्र वितरण गरेको छ । वडाका किसानलाई मिनि टिलर तथा विद्युतिय स्प्रे ट्याङ्की वितरण गरिएको हो ।
कार्यक्रम अन्तर्गत वडा नं. १० का किसान तथा कृषकहरूलाई ९ एच.पी. क्षमताका ७ वटा मिनी टिलर तथा १६ लिटर क्षमताका १५ वटा विद्युतीय स्प्रे ट्याङ्की वितरण गरिएको वडा कार्यालयले जनाएको छ । कृषि उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन तथा कृषकहरूको श्रम र लागत घटाउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको बताईएको छ । वितरण कार्यक्रममा वडा अध्यक्ष शिवलाल थारुले कृषिमा यान्त्रिकीकरणको विस्तारसँगै उत्पादन र उत्पादकत्व बढ्ने विश्वास गर्नुभयो ।
उहाँले उपलब्ध गराइएका कृषि सामग्रीको सदुपयोग गर्न किसानहरूलाई आग्रह गर्नुभयो । आगामी दिनमा पनि कृषकमुखी कार्यक्रमलाई निरन्तरता दिइने बताउनु भयो । कार्यक्रममा वडा सदस्यहरू, सब इन्जिनियर नगेन्द्र ढकाल तथा वडा सचिव जमुना शाहीको उपस्थिति रहेको थियो । सहभागी किसानहरूले अनुदानमा कृषि सामग्री प्राप्त भएपछि खेतीपातीलाई थप सहज, प्रभावकारी र व्यावसायिक बनाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
२१ °C काठमाडौं
Facebook Comments