• १० साउन २०८३, आइतवार
  • २१ °C काठमाडौं
गायत्रीका अभियन्ता गुप्ताको महाप्रस्थान

संजय आचार्य, १० साउन, बर्दिया । बर्दिया जिल्लाका अग्रणी समाजसेवी, खाद्यान्न व्यवसायी, उद्योग वाणिज्य संघ गुलरियाका दर्तावाल सदस्य तथा गायत्री शक्तिपीठ बर्दियाका संस्थापक अध्यक्ष राधेश्याम गुप्ता (पोरवाल) को ६९ वर्षको उमेरमा निधन भएको छ । शनिवार बर्दियाको सरजु -भादा घाटमा अन्त्येष्टि गरिएको छ । 

गुलरिया नगरपालिका–८ का स्थायी बासिन्दा गुप्ताका श्रीमती, चार छोरा र दुई छोरी छन् । गुप्ताले किशोरावस्थादेखि नै गायत्री परिवारको अभियानमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । गायत्री शक्तिपीठका पुजारी पण्डित लालजी शुक्लाका अनुसार उहाँ १८ वर्षको उमेरदेखि नै गायत्री परिवारसँग आबद्ध भई तन, मन र धन समर्पण गर्दै जीवनको अन्तिम क्षणसम्म धर्म, संस्कार र आध्यात्मिक चेतनाको प्रवद्र्धनमा निरन्तर सक्रिय रहनुभयो । 

शुक्लाले गुप्तालाई गायत्री परिवारका लागि पिता समान व्यक्तित्वको रूपमा स्मरण गर्दै नेपालमा गायत्री परिवारको जग बसाल्न र विस्तार गर्न उहाँको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँका अनुसार गुप्ताले गाउँ–गाउँ गोरुगाडा र लडियामार्फत पुगेर धार्मिक जागरण र नैतिक मूल्यको सन्देश फैलाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । वि.सं. २०६३ सालमा बर्दियामा गायत्री शक्तिपीठ स्थापना भएपछि त्यसको विकास, विस्तार र संस्थागत सुदृढीकरणमा पनि गुप्ताको नेतृत्वदायी भूमिका रहेको पुजारी शुक्लाले बताउनुभयो । 

शक्तिपीठका हरेक धार्मिक तथा सामाजिक गतिविधिमा उहाँ अग्रसर हुने र परम पूज्य गुरुदेवसँग सम्बन्धित कुनै पनि सेवामूलक कार्यमा पहिलो पङ्क्तिमा रहेर योगदान गर्ने उहाँको विशेषता रहेको शुक्लाको भनाइ छ । गुलरिया नगरपालिका–८ का वडा अध्यक्ष धर्मेन्द्र बानियाँले गुप्ताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालमा गायत्री परिवारको स्थापना, प्रचार–प्रसार तथा धर्ममार्गको विस्तारमा उहाँले ऐतिहासिक योगदान दिएको उल्लेख गर्नुभयो । उहाँले भारतको शान्तिकुञ्जसँग लामो समयदेखि आबद्ध रहँदै आफ्नै घरबाट पहिलो गायत्री मन्दिर स्थापना गरी अभियान सुरु गरेको स्मरण गर्नुभयो ।

गुप्ताले स्थापना गर्नुभएको ट्रष्ट तथा धार्मिक संस्थालाई उहाँकै आदर्श र मार्गदर्शन अनुसार निरन्तर अघि बढाउन सबै भक्तजन र समुदायलाई आग्रह गर्दै बानियाँले दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो । गुलरिया नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शुधांसु प्रकाश शर्माले गुप्ताको निधनले समाजलाई अपुरणीय क्षती भएको बताउनु भएको छ । 

उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष इन्द्रकुमार श्रेष्ठले पनि गुप्ताको निधनले समाज, धार्मिक क्षेत्र तथा व्यवसायिक समुदायले एक प्रेरणादायी व्यक्तित्व गुमाएको बताउनुभयो । उहाँले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारलाई यो पीडा सहने शक्ति प्राप्त होस् भन्ने प्रार्थनासहित उद्योग वाणिज्य संघ परिवारको तर्फबाट समवेदना समेत  व्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार

Facebook Comments