• २२ साउन २०८३, शुक्रवार
  • २० °C काठमाडौं
राजापुरमा मानव बेचबिखन नियन्त्रण समितिको बैठक

मुरली गोडिया, २१ साउन, बर्दिया । राजापुर नगरपालिकामा स्थानीय मानव बेचबिखन नियन्त्रण समितिको बैठकको सप्पन्न भएको छ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपाल सँगको साझेदारी तथा सुरक्षा परियोजना अन्तर्गत समितिको बैठक बोलाएको हो ।

बैठकमा मानव बेचबिखन रोकथाम, बालबालिका, महिला तथा अन्य जोखिममा रहेका समुदायहरूको संरक्षणका लागि भइरहेका गतिविधिको समीक्षा गर्दै बहुपक्षीय समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो । बैठकले स्थानीय सरकार, सरोकारवाला निकाय तथा विकास साझेदारबीच नियमित समन्वय र सहकार्यले मानव बेचबिखनविरुद्धका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका खेल्ने राजापुर नगरपालिकाकी उपप्रमुख एवं वैठककी अध्यक्ष मनकला कुमारी चौधरीले बताउनु भएको छ । 

बैठकलाई सम्बोधन गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत टीकानाथ गोसाईले मानव बेचबिखन नियन्त्रण तथा महिला र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न स्थानीय सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले नगरपालिका, नागरिक समाज, सुरक्षा निकाय तथा समुदायबीचको निरन्तर सहकार्यबाट मात्र सुरक्षित, सम्मानजनक र समावेशी समाज निर्माण सम्भव हुने धारणा व्यक्त गर्नुभयो । बाँके युनेस्को क्लबका परियोजना संयोजक श्री ईश्वर बी.के.ले सुरक्षा परियोजना अन्तर्गत हालसम्म भएका प्रमुख उपलब्धि, सञ्चालनमा रहेका गतिविधि तथा आगामी कार्ययोजनाबारे प्रस्तुति दिनुभयो । 

उहाँले समुदायस्तरीय सचेतनामूलक अभियान, क्षमता अभिवृद्धि, सरोकारवालासँगको सहकार्य तथा स्थानीय सरकारसँगको साझेदारीमार्फत मानव बेचबिखन रोकथामका दिगो संयन्त्र सुदृढ बनाउने प्रयासहरूबारे जानकारी गराउनुभयो । कार्यक्रमको अन्त्यमा सहभागी सबै सरोकारवालाहरूले महिला तथा बालबालिकाको अधिकार संरक्षण, सुरक्षित वैदेशिक रोजगारी तथा सुरक्षित बसाइँसराइको प्रवद्र्धन, मानव बेचबिखन रोकथाम तथा सुदृढ स्थानीय सुशासनमार्फत सुरक्षित, समावेशी र उत्थानशील समुदाय निर्माणगर्ने बताएका छन् । 

आपसी सहकार्य, साझा जिम्मेवारी र निरन्तर प्रतिबद्धतासहित अघि बढ्ने सहभागीहरुले सामूहिक प्रतिबद्धता व्यक्त गरे । समितिका सदस्यहरूको सहभागिता रहेको कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख श्रीमती अनिता चौधरीले गर्नुभएको थियो । बैठकमा  समितिले सम्पन्न गरेका गतिविधिहरूको समीक्षा गर्नुका साथै आगामी दिनमा समन्वयलाई अझ प्रभावकारी बनाउने, समुदायस्तरमा सचेतना विस्तार गर्ने तथा स्थानीय प्रतिकार्य प्रणालीलाई सुदृढ बनाउने व्यावहारिक रणनीतिहरूमाथि छलफल गरी आवश्यक निर्णयहरू गरिएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments