बर्दियामा विश्वकै सबैभन्दा सानो जंगली बिरालो संरक्षण अभियान
चुरेकुञ्ज, १० साउन, बर्दिया । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–९, खुशालपुरमा एक घर, एक करेसाबारी शीर्षकको संरक्षण तथा जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । १४ जना स्थानीय सहभागी रहेको उक्त कार्यक्रमको संयोजन रामजन चौधरीले गर्नुभएको थियो ।
पशुसेवाका आशिष चौधरीले दिनु भएको तालिममा सानो जंगली विरालो संरक्षण फाउण्डेशन, एमबीजेडएससीएफ तथा रष्टी स्पोटेड क्याट कार्य समूह बर्दियाको सहयोग रहेको थियो । कार्यक्रमको मुख्य उद्देश्य स्थानीय समुदायलाई घरघरमा करेसाबारी स्थापना गर्न प्रोत्साहित गर्दै वनमाथिको निर्भरता घटाउनुका साथै विश्वकै सबैभन्दा सानो जंगली बिरालो रस्टी–स्पटेड क्याट -खिया थोप्ले बिरालो) को संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नु रहेको थियो ।
कार्यक्रमअन्तर्गत सहभागीहरूलाई एकदिने आधारभूत प्राङ्गारिक -अर्गानिक) कृषि तालिम प्रदान गरिएको थियो । तालिममा विषादीरहित तरकारी खेती, कम्पोस्ट मल निर्माण, माटो व्यवस्थापन तथा दिगो कृषि अभ्यासका बारेमा व्यावहारिक जानकारी दिइएको थियो। साथै, तालिमपछि सहभागीहरूलाई आफ्नै घरमा करेसाबारी स्थापना गर्न प्रोत्साहनस्वरूप कृषि औजार तथा मौसमी तरकारीका बीउबिजन समेत वितरण गरिएको थियो ।
विश्वमा बाघ र चितुवाजस्ता ठूला बिरालोबाहेक करिब ३६ प्रजातिका साना जंगली बिरालाहरू पाइन्छन् । तीमध्ये रस्टी–स्पटेड क्याट प्राकृतिक रूपमा नेपाल, भारत र श्रीलंकामा मात्र पाइने दुर्लभ प्रजाति हो । यसको शरीरको लम्बाइ ३५–४८ सेन्टिमिटर, तौल ०.९ देखि १.६ किलोग्राम हुन्छ । शरीरमा खिया रङका स–साना थोप्ला, सेतो पेटको भाग, ठूला गोलाकार आँखा तथा छोटो पुच्छर यसको प्रमुख विशेषता हुन् ।
यो बिरालो प्रायः राति सक्रिय हुने, अत्यन्त लजालु तथा एक्लै बस्ने स्वभावको हुन्छ । राम्रोसँग रूख चढ्न सक्ने भए पनि यसले अधिकांश समय जमिनमै शिकार गर्छ । मुसा, साना स्तनधारी जनावर, चराचुरुङ्गी, छेपारो, भ्यागुता तथा कीराफट्याङ्ग्राहरू यसको मुख्य आहारा हुन् । मुसाको संख्या नियन्त्रण गरी यसले प्राकृतिक वातावरणको सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ ।
कार्यक्रम संयोजक रामजान चौधरीका अनुसार वि.सं. २०६९ सालमा बर्दिया राष्ट्रिय निकुञ्जमा यस दुर्लभ बिरालोलाई पहिलो पटक फोटो सहित अभिलेखीकरण गरिएको थियो । तालिम सञ्चालन भएको खुशालपुर क्षेत्र सोही स्थान नजिक पर्ने भएकाले स्थानीय समुदाय यसको संरक्षणका लागि अत्यन्त महत्वपूर्ण साझेदार भएको उहाँले बताउनुभयो ।
तालिममा घरघरमा करेसाबारी विकास गरी वनजन्य स्रोतमा निर्भरता घटाउन सके वन क्षेत्रमा हुने मानव चाप कम हुने, वन्यजन्तुको बासस्थान सुरक्षित रहने, वन डढेलोको जोखिम घट्ने, अवैध सिकार नियन्त्रण हुने तथा रस्टी–स्पटेड क्याटको आहारा प्रजाति संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने विषयमा जानकारी दिइएको थियो ।
सहभागीहरूलाई वन डढेलो नियन्त्रण, अवैध सिकार रोकथाम, वन्यजन्तु सडक दुर्घटना न्यूनीकरण, प्राकृतिक बासस्थान संरक्षण तथा समुदायस्तरमा संरक्षण सचेतना फैलाउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको थियो ।
बर्दियामा विद्यालयस्तरीय संरक्षण सचेतना कार्यक्रम, वृक्षारोपण, बासस्थान व्यवस्थापन, सामुदायिक ट्री हाउस निर्माण, होमस्टे सुधार, दिगो कृषि तथा आयआर्जनमूलक तालिम, वन डढेलो नियन्त्रण अभियानलगायत विविध संरक्षण कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।
विश्वव्यापी रूपमा जैविक विविधता संरक्षण चुनौतीपूर्ण बन्दै गएको वर्तमान अवस्थामा यी संस्थाहरूले वन्यजन्तु र मानवबीचको सहअस्तित्वलाई प्रवद्र्धन गर्दै स्वच्छ, सुरक्षित र जैविक विविधतायुक्त पृथ्वी निर्माणमा आफ्नो प्रतिबद्धता दोहोर्याएका छन् । एमबीजेडएससीएफले विश्वका १७४ देशमा दुर्लभ तथा संकटापन्न प्रजातिको संरक्षणमा सहयोग गर्दै आएको छ र रस्टी–स्पटेड क्याटजस्ता ओझेलमा परेका वन्यजन्तुको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ ।
२१ °C काठमाडौं
Facebook Comments