मधुवनमा एचपिभी खोप अभियानको तयारी पूरा
हरि गुरुङ, २४ माघ, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप अभियानको तयारी पूरा भएको छ । माघ २५ र २६ गते दुई सम्म चल्ने अभियानमा १० देखि १४ बर्ष उमेर समुहका किशोरीलाई खोप लगाईने छ ।
हरेक वर्ष माघ २५ गते लगाईने खोप माघ २५ गते नै लगाउनु पर्ने भएको मधुवन नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिता घिमिरेले जानकारी दिनु भयो । लक्षित समूहमा हाल विद्यालय जाने कक्षा ६ का छात्रा र विद्यालय नजाने १० वर्षदेखि १४ वर्ष उमेरका किशोरीहरुलाई खोप दिइने उहाँको भनाई छ । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिहरूबाट भएको देखिन्छ । हरेक वर्ष १ हजार ३ सय १३ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर बाट मृत्यु हुन्छ ।
औसतमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु भैरहेको अनुमान गरिएको छ । पाठेघरको मुखको क्यान्सर मुख्य कारण ह्युमन प्यापिलोमा भाइरसबाट संक्रमण हुनु हो । यो भाइरसलाई एच.पी.भी. भाइरस भनिन्छ । भाईरस संक्रमण शुरुको अवस्थामा कुनै लक्षण चिन्ह देखिँदैन तर संक्रमणपछि यौन सम्पर्कपछि योनिबाट रगत आउने, तल्लो पेट दुख्ने हुन्छ ।
त्यस्तै योनीबाट गन्हाउने पानी बग्ने, रक्त अल्पता हुने वा कमजोर महशुस हुने जस्ता लक्षण देखिने घिमिरेले बताउनु भयो । खोप लगाएको ठाउँमा रातो हुने, दुख्ने सामान्य लक्षण देखिएता पनि आफै निको हुन्छ । यो खोप ९८ प्रतिशत देखि १ सय प्रतिशतसम्म प्रभावकारी देखिएकोले १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई १ मात्रा दिदा अर्को मात्रा लगाउन जरुरी नहुने उहाँ बताउनु हुन्छ ।
खोप लगाउनुको औचित्य
नेपालमा पाठेघरको मुखको क्यान्सरका विरामी र मृत्यु हुने संख्या हरेक वर्ष उच्च रहेको छ । विश्व स्वास्थ्य संगठन डब्लु एचओ ले पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रुपमा नरहने अवस्थामा पुर्याई यसको निवारण गर्न १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई एच.पी.भी. खोप दिएर सन् २०३० सम्ममा खोपको कभरेज ९० प्रतीशत पुर्याउने रणनीति निर्धारण गरेको छ । उक्त कार्यक्रममा मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरीले सम्पूर्ण अभिभावक, शिक्षक, राजनैतिक दल, समाजसेवी, संचारकर्मीहरुलाई यस अभियानलाई आआफ्नो क्षेत्रबाट सफल बनाउन अपिल गर्नुभएको छ ।
मधुवन नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयमा अध्यनरत ४ सय ९० जना कक्षा ६ का किशोरीहरुलाई र विद्यालय नजाने १० वर्ष उमेरका ७ जना किशोरी गरी जम्मा ५ सय ७ जना किशोरीलाई नियमित एच.पी.भी. खोप लगाउने मधुवन नगरपालिका स्वास्थ्य शाखाका मणिराम आचार्यले जानकारी दिनु भएको छ । २१ वटा विद्यालय र खोप लगाउन छुटेकाहरुलाई ९ वटा स्वास्थ्य चौकीहरुमा खोप लगाउने आचार्यले जानकारी दिनुभयो ।
१७ °C काठमाडौं
Facebook Comments