• ३ असार २०८३, बुधवार
  • २१ °C काठमाडौं
तालिमबाट ५० जना  अपांगता भएका ब्यक्ति लाभान्वित 

दल बहादुर सुनार, ३ असार, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयातालमा सञ्चालित कृषि तथा पशुपालन तालिम वाट ५० जना अपांगता भएका ब्यक्ति लाभान्वित भएका छन् । बढैयातालमा अपांगता भएका व्यक्तिहरूको आर्थिक सशक्तिकरणका लागि कृषि र पशु स्वास्थ्य सम्बन्धी सञ्चालित  पाँच/पाँच दिने तालिमवाट दुवै पालिकाका ५० जना अपांगता भएका ब्यक्ति लाभान्वित भएका हुन् । 

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि कार्यक्रमको आर्थिक सहयोगमा अपांगता सशक्तिकरण तथा सञ्चार केन्द्र -डेक) नेपालको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको थियो । डेक नेपालका कार्यक्रम संयोजक सत्यनारायण चौधरीका अनुसार पहिलो चरणमा पशुपालन तथा कृषि सम्बन्धी तालिम सञ्चालन भइरहेको छ । पशुपालन तालिम जेठ २९ गतेदेखि असार २ गतेसम्म सञ्चालन गरिएको थियो । 

कृषि तालिम जेठ ३१ गतेदेखि असार ४ गतेसम्म सञ्चालन हुने जनाएको छ । पशुपालन तालिममा बढैयाताल गाउँपालिका वाट १० जना र बाँसगढी नगरपालिकाबाट १० जना गरी २२ जनाको सहभागिता रहेको थियो । तालिममा नेपाल केन्द्रीय कृषि सहकारी संस्था लि. सम्पर्क कार्यालय बढैयातालका संयोजक जनक आचार्य, पशु सेवा शाखा बढैयातालका प्रेम बहादुर डाँगी तथा पशु प्राविधिक विक्रम सुवेदीले सहजीकरण गर्नुभएको थियो ।

तालिममा गाई, बाख्रा, बंगुर र कुखुराका जात, दाना बनाउने विधि, खोर व्यवस्थापन, रोगका लक्षण तथा पहिचान, घाँसका प्रकार, बीउ छनोट तथा पशुखाद्य व्यवस्थापनका विषयमा प्रशिक्षण दिइएको थियो । सहभागीहरूले यस तालिमबाट परम्परागत पशुपालनमा सुधार गर्दै प्राविधिक ज्ञान हासिल गरेको बताएका छन् । कृषि तालिममा मौसमी तथा बेमौसमी तरकारी बाली, धान, मकै, तोरी लगायतका अन्नबालीका उन्नत बीउ, रोग तथा किराको पहिचान, प्राङ्गारिक खेती, मल व्यवस्थापन तथा रासायनिक मलको सुरक्षित प्रयोगबारे प्रशिक्षण प्रदान गरिएको छ ।

कृषि तालिमको पहिलो दिन नेपाल केन्द्रीय साना किसान कृषि सहकारी संस्था लि. परियोजना कार्यालय बढैयातालका कृषि प्राविधिक दिपेश चौधरी, दोस्रो दिन अनिल सुनार, तेस्रो दिन कृषि शाखा बढैयातालका प्रमुख दिपेन्द्र श्रीवास्तव तथा शरण चौधरी, र चौथो दिन प्रमुख श्रीवास्तव तथा प्रमोद चौधरीले  जैविक बिषादी , जैविक मल बनाउने तरिका र प्रयोग गर्ने बिधिका बारेमा सहजीकरण गर्नुभएको थियो ।

कृषि तालिममा १३ जना पुरुष र १४ जना महिला गरी २७ जनाको सहभागिता रहेको डेक नेपालले जनाएको छ। समग्रमा दुवै चरणका तालिमबाट ५० जना लाभान्वित भएका छन् । कार्यक्रमले अपांगता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने तथा आयआर्जनका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको तालिम बर्दियाको मैनापोखरमा सञ्चालन भएको जनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments