• २० चैत २०८२, शुक्रवार
  • १७ °C काठमाडौं
बर्दियामा माघ २५ गतेदेखि पाठेघरको मुखको क्यान्सर विरुद्ध २ दिने एचपीभी खोप अभियान 

दलबहादुर सुनार, २३ माघ, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयातालमा एचपीभी खोप सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण गरिएको छ । माघ २५ र २६ गते पाठेघरको मुखको क्यान्सर बिरुद्ध सञ्चालन हुने एचपिभी खोपलाई प्रभावकारी बनाउन स्थानीय सरोकारवालासँग अन्तरक्रिया तथा अभिमुखीकरण गरिएको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ स्थित स्वास्थ्य चौकी कालिकामा स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष, किशोरी सन्जालकी संयोजक स्वस्तिका खड्का लगाएको उपस्थितिमा कार्यक्रम गरिएको कालिका  स्वास्थ्य चौकीका इन्चार्ज राजु थापाले जानकारी दिनुभयो । अभिमुखीकरण कार्यक्रमका अध्यक्ष एवं बढैयाताल गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष तेजनाथ पौडेलले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु उत्तम उपाय  भएको बताउनुभयो । 

उहाँले  यो राष्ट्रिय अभियानको खोप कार्यक्रम भएकोले यसलाई सफल बनाउन आफूले बुझेको कुरा अरुलाइ  बुझाउनुपर्नेमा जोड  दिनुभयो । अभिमुखीकरण कार्यक्रमका सहजकर्ता एवं स्वास्थ्य शाखा बढैयातालका सहायक प्रमुख रमेश पौडेलले सहजीकरण गर्दै खोप अभियानको तयारी बढैयातालमा पुरा भएको बताउनु भयो । कक्षा ६ मा अध्ययनरत किशोरीहरूलाई लक्षित गरेर आयोजना  गरिएको खोप कार्यक्रममा बढैयातालमा ५ सय ४९ जनालाई खोप लगाइने पौडेलले बताउनुभयो ।

स्वास्थ्य सहायक प्रमुख पौडेलका अनुसार बढैयातालको वडा नम्बर १ मा ४५ जना वडा नम्बर २ मा ९५ जना, वडा नम्बर ३ मा ४६ जना वडा नम्बर ४ मा ५५ जना वार्ड नम्बर ५ मा ४२ जना वडा नं ६ मा ६१ जना वडा नं ७ मा ३९ जना, वडा नम्बर ८ मा ११६ र वडा नम्बर ९ मा ५० जना गरी ५४९ जनालाई खोप लगाइने जनाइएको छ । 

छनोट गरेको विद्यालयमा खोप लगाइने र त्यो दिनमा छुटेकाहरूलाई सम्बन्धित नजिकका वडास्थित स्वास्थ्य केन्द्रमा खोप लगाइने उहाँले बताउनुभयो । अभियान चलाएर कम खर्चमा जीवन रक्षा गर्न, स्वयं ब्याक्ती र राज्यको आर्थिक भार घटाउन मद्दत पुग्ने भएकोले अभियानलाई सफल बनाउन सबै तह र तप्काबाट लाग्नुपर्नेमा पौडेलको जोड छ ।

सम्बन्धित समाचार

Facebook Comments