• २२ वैशाख २०८३, मङ्गलवार
  • २२ °C काठमाडौं
बर्दियाको राजापुरमा कोल्डस्टोर निर्माणार्थ शिलान्यास

केशव कोईराला, २२ वैशाख, राजापुर (बर्दिया) । बर्दियाको राजापुरमा कृषि क्षेत्रको विकास र स्थानीय उत्पादनको संरक्षण गर्ने उद्देश्यसहित कोल्ड स्टोर -शीत भण्डारण) निर्माण कार्यको औपचारिक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । राजापुर नगरपालिका–५ मा निर्माण हुन लागेको उक्त कोल्ड स्टोरको राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख थारुले राजापुर क्षेत्र कृषि उत्पादनका हिसाबले सम्भावनायुक्त भए पनि उचित भण्डारणको अभावका कारण कृषकले समयमै उचित मूल्य नपाउने समस्या झेल्दै आएको उल्लेख गर्नुभयो । उहाँले कोल्ड स्टोर सञ्चालनमा आएपछि तरकारी, फलफूल लगायतका कृषिजन्य उत्पादनलाई लामो समयसम्म सुरक्षित राख्न सकिने र बजार व्यवस्थापनमा सहजता आउने बताउनुभयो । यसले कृषकको आम्दानी वृद्धिमा समेत टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपप्रमुख मनकला कुमारी चौधरीले नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै कोल्ड स्टोर निर्माणले स्थानीय किसानलाई प्रत्यक्ष लाभ पुग्ने धारणा राख्नुभयो । त्यस्तै वडा नं. ५ का अध्यक्ष रमेश दहितले आफ्नो वडामा यस्ता पूर्वाधार विकास हुनु गौरवको विषय भएको उल्लेख गर्दै समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । स्थानीय कृषक तथा सहभागीहरूले पनि कोल्ड स्टोर निर्माणप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् । 

उनीहरूले उत्पादन भएको तरकारी तथा फलफूल समयमै बिक्री हुन नसक्दा घाटा व्यहोर्नु परेको अनुभव सुनाउँदै अब भण्डारणको सुविधा उपलब्ध भएपछि उत्पादन बढाउन थप उत्साह मिल्ने बताएका छन् । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, कृषक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कोल्ड स्टोर निर्माण सम्पन्न भएपछि राजापुर क्षेत्रका कृषकहरूलाई कृषि उत्पादनको संरक्षण, मूल्य स्थिरता, बजार व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments