• २० चैत २०८२, शुक्रवार
  • १७ °C काठमाडौं
सन्दर्भ सहिद दिवस : राम लक्ष्मणको घरबाट टिम्बुरबोटे काण्डको सम्झना

राजेन्द्र प्रसाद धिताल, १६ माघ, बर्दिया । विक्रम संवत २०५९ सालतिरको कुरा हो । लोकतन्त्रवादी पत्रकारहरुको प्रतिनिधि संस्था नेपाल प्रेस युनियनको केन्द्रीय अधिवेशन सिराहा जिल्लाको लाहानमा हुँदै थियो । आदरणीय मुरारी शर्मा त्यस अधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएको थियो । बर्दिया जिल्लाबाट अधिवेशनमा हामी सहभागी थियौं । म बर्दिया जिल्ला शाखाको अध्यक्ष थिए । 

केन्द्रीय प्रतिनिधिहरुमा आदरणीय गुरु भेषराज पौडेल, साथी यज्ञ नेपाल, कृष्ण भण्डारी, रुद्र सिग्देल लगायत हुनुहुन्थ्यो । देशभरिका पत्रकारहरुको स्वागतार्थ लाहान सहर सजाइएको थियो । जताततै महान सहिद राम लक्ष्मणको एतिहासिक शहरमा यहाँहरुलाई हार्दिक स्वागत छ भन्ने व्यहोराका व्यानर टाँगिएका थिए । सहिद राम लक्ष्मणको वलिदानी पूर्ण संघर्षका गाथाहरु लोकतान्त्रिक आन्दोलनको इतिहासमा स्वर्ण अक्षरमा लेखिएका छन् । इतिहासमा रुचि राख्ने विद्यार्थी र लोकतान्त्रिक आन्दोलनको निष्ठावान हिमायती भएको नाताले लाहान शहरमा म भावुक भैरहेको थिए । राम लक्ष्मणले पन्चायती क्रुर शासन विरुद्ध कसरी उत्सर्ग गरेका थिए । 

श्रद्धेय अमर सहिद राम लक्ष्मण र त्यस्तै अरु धेरै सहिदको  वलिदानी पूर्ण संघर्षका कारण आज हामीले मुक्त आकाश पाएका छौ । खुला धर्ती पाएका छौ । म राम लक्ष्मण सम्झीरहेको थिए । तिनको गृह शहरमा उभिन पाएकोमा हर्ष, गर्व र कृतज्ञताको भावले ओतप्रोत थिए । मैले आफ्ना भावनाहरु गुरु  भेषराज पौडेल समक्ष प्रस्तुत गरे । हामी बीच राम लक्ष्मणका घर जाने र उहाँहरुका परिजनसित भेट गर्ने सल्लाह भयो । बिहान ८ बजेतिर हामी त्यो तिर्थस्थल तुल्य घरमा गयौं । घर उजाड थियो । घरमा अभाव र वेदना प्रष्ट झल्कन्थ्यो । सहिद परिवार सत्ताबाट सर्वथा उपेक्षित थिए । नेपाली काङ्ग्रेसको आह्वानमा भएको सशस्त्र क्रान्तिमा उहाँहरुले वलिदान दिनुभयो । 

त्यो पार्टी नै सत्तामा थियो । सहिद परिवार पार्टी नेताको नजरमा बेखबर थिए । विधवा भाउजू हुनुहुन्थ्यो । बेरोजगार भतिजा थिए । दुबै जनाको मुहार मलिन थियो । बाटोको नाम एमाले सरकारले रामलक्ष्मण मार्ग राखिदिएको रहेछ । सहिदको नामले शहर सजिसजाउ थियो तर सहिदको घर उजाड थियोे, परिवारजन उदास थिए । उहाँहरुको अवस्था देखेपछि, वेदना सुनेपछि मेरो हृदय व्यथित भयो । नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा धेरै अमर सपूतहरुले बलिदान गरेका छन् । निरङ्कुश सत्ता र शासनका विरुद्ध सहादत प्राप्त गर्ने वीर सपूतहरुको सूचीमा राम लक्ष्मणको नाम स्वर्ण अक्षरमा लेखिएको छ । ओखलढुंगा जिल्लाको टिम्बुरबोटेमा धेरै सहयात्रीहरुका साथमा यी दुई जना योद्धाहरुले सहादत प्राप्त गरेका थिए । 

विक्रम सम्वत २०१७ सालमा राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सरकार अपदस्त गरेर लोकतान्त्रिक प्रणाली समाप्त गरे र मुलुकमा निरङ्कुश पन्चायती व्यवस्था प्रारम्भ गरे । राजाको यस कदमका विरुद्ध देशव्यापी रूपमा प्रतिरोध भयो । कतै निशस्त्र त कतै सशस्त्र क्रान्ति संचालित हुन थाले । लोकतान्त्रिक व्यवस्थाको पुनर्वहाली र जन अधिकारको खोजी गर्दै २०३१ सालमा नेपाली काङ्ग्रेसले तेस्रोपटक सशस्त्र संघर्ष गरेको थियो । यो संघर्षको फौजी नेतृत्व क्याप्टेन यज्ञ बहादुर थापाले गर्नु भएको थियो । उक्त फौजी विद्रोह असफल भएपछि क्याप्टेन थापालाई गिरफ्तार गरियो र २०३५ साल माघ २६ गते जेल सार्ने वहानामा कमला नदीको किनारमा उहाँको हत्या गरियो । टिम्बुरबोटे काण्डका नामले सुपरिचित यस काण्डमा ४५ जना योद्धाहरुले ज्यानको आहुती दिएका छन् । 

सो संघर्षका दौरान जीवन अर्पण गर्ने राम प्रसाद उपाध्याय पौडेल र लक्ष्मण उपाध्याय पौडेल जुम्ल्याहा दाजुभाइ हुनुहुन्थ्यो । विक्रम सम्वत २००४ पौष ५ गते उदयपुर जिल्लाको उदयपुर गडीमा उहाँहरुको जन्म भएको थियो । पछि उहाँहरुको परिवार सिराहामा बसाइ सरेको थियो । २०३१ साल पौष १ गते  फौजी कार्वाहीमा उहाँहरुको हत्या गरिएको थियो । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा  पर्दछ ऐतिहासिक टिम्बुरबोटे स्थल । यो ठाउँले ओखलढुंगा र सोलुखुम्बु दुई जिल्लालाई जिड्दछ । समुन्द्री सतहबाट लगभग ८००० फिटको उचाइमा रहेको यो ठाउँ घना जङ्गलको बीचमा अवस्थित छ । यहाँ अवस्थित ओडार जहाँ लोकतान्त्रिक आन्दोलनका सशस्त्र योद्धाहरुले आश्रय लिएका थिए ।

सूचना चुहावट हुँदा तत्कालीन शाही नेपाली सेना र प्रहरीको घेरामा कहालीलाग्दो आक्रमणमा परी यी योद्धाहरुको ज्यान गएको थियो । २०३१ पौष १ गतेपछि यो ठाउँ नेपाली लोकतान्त्रिक आन्दोलनका  विद्यार्थीहरुका लागि पवित्र तीर्थ स्थल बन्न पुगेको थियो । निरङ्कुश पन्चायतको अन्त्य गर्न २०१८ सालदेखि नै विभिन्न संघर्षहरु जारी थिए ।तर परिस्थिति बिलकुल प्रतिकुल थियो । नेपालमा कम्युनिस्ट र लोकतान्त्रिक शक्तिहरू विभाजित थिए । विश्व दुई ध्रुवमा विभाजित थियो । अमेरिका र सोभियत संघ बीच शीतयुद्धको अवस्था थियो । बर्मा र पाकिस्तानमा सैनिक शासन थियो । भारत एकातिर आन्तरिक समस्यमा थियो भने अर्कोतिर आफ्नो राष्ट्रिय स्वार्थका कारण राजालाई समर्थन गरिरहेको थियो ।

यी विभिन्न कारणले नेपाली लोकतान्त्रिक आन्दोलन कमजोर हुदै थियोे भने राजाको निरङकुशता झमझन कठोर हुदै थियो । त्यस्तो प्रतिकुल अवस्थामा पनि क्रान्तिकारीहरुले हिक्मत हारेका थिएनन् । यस बीचमा २०१८ मा सशस्त्र आन्दोलन, २०२६ तिर झापा आन्दोलन २०२९ देखि ०३१ का बीचमा भएका सशस्त्र आन्दोलन त्यो समयका चर्चित आन्दोलन थिए । २०३१ सालको सशस्त्र आन्दोलनको तयारीका लागि जननायक विश्वेश्वरप्रसाद कोइरालाको निर्देशनमा प्लेन अपहरण गरी भारु ३० लाख रुपैया जम्मा गरिएको थियो । फौज र हतियारको बन्दोबस्त गरेर सशस्त्र क्रान्तिको पृष्ठभुमि तयार गरिएको थियो । टिम्बुरबोटे काण्डले नेपाली लोकतान्त्रिक आन्दोलनमा ठूलो प्रभाव छोडेको छ । 

यस घटनामा होनहार क्रान्तिकारीहरुको बलिदान गरे।तत्कालीन नेपाली काङ्ग्रेसले क्रान्तिका लागि धेरै ठूलो क्षति बेहोर्नु पर्यो । यस घटनाले वीपी कोइरालालाई गहिरो चोट पर्यो । राम लक्ष्मणजस्ता होनहार युवक गुमाउनु पर्दा वीपी मर्माहत भए र नेपाली काङ्ग्रेसले सदाका लागि सशस्त्र क्रान्तिको बाटो छोड्न पुग्यो । रगतले लेखिएको टिम्बुरबोटे काण्ड स्वयं जननायक वीपी कोइरालाको निर्देशन, गिरिजाप्रसाद कोइरालाको राजनैतिक नेतृत्व र क्याप्टेन यज्ञ बहादुर थापाको फौजी नेतृत्वमा भएको थियो । यो असफल फौजी क्रान्तिले क्रान्तिलारीहरुलाई ठूलो नोक्सानी भयो तर यसले आफूलाई निर्विकल्प र शक्तिशाली ठान्ने राजा र पन्चायतको भने मुटु हल्लाएको थियो । 

यसैको जगमा पछिल्ला चरणमा नेपालमा विभिन्न राजनैतिक आन्दोलनहरु भएका थिए । टिम्बुरबोटे काण्ड नेपाली क्रान्तिकारीहरुका लागि एक गहिरो प्रेरणा र गतिलो शिक्षा थियो । २०३३ सालमा सशस्त्र क्रान्तिको नीति त्यागेर राष्ट्रिय मेलमिलापको नीति सहित भारत निर्वासनबाट वीपी कोइराला आफ्ना सहकर्मीहरु सहित स्वदेश फर्किनु भयो । अब देशभित्र शान्ति पूर्ण आन्दोलन हुन थाले । २०३६ सालमा ठूलो विद्यार्थी आन्दोलन भयो । त्यसको परिणाम २०३७ सालमा जनमत संग्रह भयो । यसपटक लोकतान्त्रिक वयवस्था स्थापना हुन नसके पनि लोकतान्त्रिक व्यवस्थाका पक्षमा ठूलो जनमत निर्माण भयो । त्यसकै जगमा उभिएर मुलुकमा २०४६ सालको ऐतिहासिक जन आन्दोलन सम्भव भयो र मुलुकमा लोकतान्त्रिक व्यवस्थाको पुनः स्थापना हुनसक्यो ।

सहिद राम लक्ष्मणका घरमा मेरा मनस्पटलमा इतिहासका यी अविस्मरणीय परिघटनाहरु चलचित्रको रिल घुमेझै घुमिरहेका छन् । म विचित्रको परिवेश अनुभूत गरिरहेको छु । क्रान्तिको एउटा गन्तव्य पूरा भएको छ । क्रान्तिको नेतृत्व गर्ने पार्टी र तिनको मुख्य नेतृत्व सत्तामा छ । तर त्यो क्रान्तिको लागि जीवन उत्सर्ग गर्ने सहिदको घर सुनसान छ, उजाड छ, उदास छ । परिवारका सदस्यहरुमा चरम निराशा छ । म सोच्दै छु यो कस्तो बैगुनी व्यवस्था हो जसले आफ्ना लागि जीवन दिनेहरुलाई समेत सम्झदैन । मलाई गहिरो पीडाको अनुभूति हुन थाल्यो । 

आफू सत्ताको उच्च आसनमा बसेको बेला आफ्नै प्रत्यक्ष नेतृत्वमा सम्पन्न संघर्षमा प्राण उत्सर्ग गर्ने योद्धाका परिवार जनप्रति प्रेम र करुणा नदेखाउने नेतृत्वप्रति उदेक लागेर आयो।मलाई यस्तो लाग्न थाल्यो यो व्यवस्था जस्ले सहिदका परिवारलाई हसाउन सक्दैन यसले देशको मुहार कसरी बदल्न सक्ला । नभन्दै त्यो व्यवस्थाको जरो हल्लिदै गयो आज पनि जब सहिद दिवस आउछ ,सहिद दिवसका दिनमा त्यो परिदृष्य मेरो मानस्पटलमा टड्कारो भएर बिउझिन्छ । अमर सहिद राम लक्ष्मण लगायत ज्ञात अज्ञात वीर सहिदहरुप्रति म भावपूर्ण शब्द श्रद्धा प्रकट गर्दछु र सहादतको महान वलिदानको मर्म बोध गर्न सता, शक्ति, नेतृत्व र आम नागरिकहरुलाई सादर अनुरोध गर्दछु ।

(धिताल बबई बहुमुखी क्याम्पस बर्दियाका उपप्राध्यापक तथा नेपाल पत्रकार महासंघ बर्दियाका पूर्व अध्यक्ष हुनुहुन्छ ।)

सम्बन्धित समाचार

Facebook Comments